कास्कीको मादीमा स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ता, करार कर्मचारीको १० लाखको बीमा

मादी । कास्कीको मादी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिनका लागि सञ्चालन भएका कार्यक्रममा खटिने स्वास्थ्यकर्मीलाई अतिरिक्त प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाको मङ्गलबार बसेको बैठकले ‘लकडाउन’ तथा कोरोना सङ्क्रमण त्रासको विषम परिस्थितिमा समेत २४सै घण्टा जनताको सेवामा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन प्रतिदिन रु ५ सयका दरले प्रोत्साहन थप भत्ता उपलव्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले बताए ।

त्यसैगरी गाउँपालिकाले सरकारबाट बीमा नभएका करारका स्वास्थ्यकर्मीलाई समेत रु १० लाखको बीमा गर्ने निर्णय गरेको छ । स्थायी कर्मचारीको सरकारबाट नै बीमा भए पनि करार सेवाका स्वास्थ्यकर्मी वञ्चित हुने भएकाले अहिलेको अवस्थामा जनताको जीउ ज्यानको सुरक्षामा खटिने स्वास्थ्यकर्मीको बीमा गर्न लागिएको गाउँपालिकाले जनाएको छ । “कोरोनाका कारणबाट विश्वनै प्रभावित भएको अवस्थामा जनताको स्वास्थ्यलाई ध्यानमा राखेर खटिएका स्वास्थ्यकर्मीको मनोवल बढाउन प्रोत्साहन भत्ता र बीमा नभएकालाई बीमा गर्ने निर्णय पालिकाबाट गरेका छौँ”, अध्यक्ष गुरुङले भने  ।

गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा रु १० लाख थप गर्ने भएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण कार्यक्रम चालू वर्षको बजेट कार्यक्रममा विपद् व्यवस्थापन शीर्षकमा विनियोजित रु १५ लाखबाट खर्च गरिएकामा अहिले कोषमा रकम थप गर्न लागिएको बताइन्छ ।

जारी लकडाउन प्रभावकारी कार्यान्वयनका लागि १२ वटै वडामा एउटा वडाबाट अर्कोमा कोही कसैलाई पनि प्रवेश गर्न नदिइने वडा नं ७ का अध्यक्ष एवं प्रवक्ता लालबहादुर गुरुङले बताए । त्यसैगरी राजनीतिक दल, जनप्रतिनिधिलगायतको वडास्तरीय संयन्त्रबाट आपूर्ति सहज गर्ने, बजार अनुगमन तथा अत्यन्त विपन्न परिवारको लगत सङ्कलन गरी राहत प्रदान गर्ने भएको छ ।

लकडाउनको मौका पारी कालो बजारी गर्ने, वन्यजन्तुको चोरी शिकारी गर्ने, जुवातास खेल्नेलाई नियन्त्रणमा लिई कानुनी कारवाहीका लागि सुरक्षाकर्मी तथा जनप्रतिनिधिले विशेष निगरानी गर्ने भएको छ । गाउँपालिकाले हालै विदेशबाट फर्किएका २३ मध्ये दुई जनालाई क्वारेन्टाइनमा राखिएको र बाँकी होम क्वारेन्टाइनमा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइन्छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button