बालबालिकाको शिक्षामा चिन्ता व्यक्त गर्दै एनसिई पर्वतले गर्‍यो अपिल

पोखरा । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) पर्वतले पर्वतका सम्पुर्ण स्थानिय निकायहरु संग एक अपिल जारी गर्दै कोरोना (कोभिड १९) कोरोना महामारीको सन्दर्भमा जिल्लाका सातवटै स्थानीय सरकारहरुसमक्ष शैक्षिक सरोकारका विषय समावेश गरेर एक अपील जारी गरेको छ ।

कोरोनाका कारण सरकारले लकडाउनको समय थप गर्दै गएपछि एनसिई पर्वतले बालबालिका प्रति चासो देखाउँदै स्थानिय निकायहरुलाई अपिल जारी गर्दै चासो व्यक्त गरेको हो ।

पर्वतका दुई नगर पालिका र पाँच गाउँपालिकाहरुलाई सम्वोधन गर्दै जारी गरिएको अपिलमा भनिएको छः– ‘महामारीका कारणले अहिले मुलुक लकडाउनमा छ । विद्यालयहरु बन्द भएका छन् । अब कहिले खुल्ने भन्ने कुराको अन्यौल नै छ । यसका कारणले घरमा बसेका बालबालिकाहरुको नियमित पठनपाठन अबरुद्ध भएको छ । यस अवस्थामा अभिभावकहरुले बालबालिकाहरुलाई घरमा नै केही सिक्ने वातावरण बनाउन सक्दछन् ।’

अपिलमा भनिएको छः–‘स्थानीय सरकारमार्फत जनप्रतिनिधिहरुले अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुको सकारात्मक ढंगले ख्यालविचार गर्न र उनीहरुलाई मायाममताको वातावरण उपलब्ध गराउनका लागि ध्यानाकर्षण गर्न र यसका लागि स्थानीय सरकार अन्तरगतको शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, अन्य सम्बन्धित शाखा र विद्यालयहरुमार्फत बालबालिका केन्द्रीत कार्य अघि बढाउन आग्रह गर्दछौं ।’

अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई टेलिभिजन, मोबाइल, इन्टरनेट आदिबाट राम्रा र उपयोगी कुराहरु पढ्ने र सिक्ने वातावरण निर्माणमा सहयोग गर्न तथा सिमान्तकृत तथा जोखिममा रहेका बालबालिकालाई समेत सम्बोधन हुनेगरी स्थानीय एफएम रेडियो प्रयोग गरी घरमा बसेर पढ्ने वा केही न केही सिक्ने वातावरण दिन सकिने कुरा अपिलमा गरिएको छ ।

स्थानीय एफएम रेडियोहरुबाट विषयगत शिक्षकमार्फत दिनमा एक घण्टा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अस्थायी व्यवस्था गर्न, पायक पर्ने वा पालिकाभित्र सुनिने रेडियोसँग सहकार्य गरी बिहान, बेलुका वा साँझको उपयुक्त समयमा दैनिक रुपमा बालकार्यक्रम सञ्चालन गर्ने प्रबन्ध गर्न तथा सो कार्यक्रममा बालबालिका, अभिभावक तथा विषय शिक्षकहरुसँग अन्तरक्रिया गर्ने व्यवस्था मिलाउन पालिकाहरु संग आग्रह गरिएको छ ।

लामो लकडाउनको समयमा घरमा भएका, क्वारेन्टीनमा भएका वा अन्यत्र जहाँ रहेका भएपनि बालबालिकाहरुको पोषण (सन्तुलित खाना) को प्रत्याभूति गरिनुपर्ने विषयलाई पनि हामीले सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्दै परिवारका सदस्यहरुलाई सघाउने नाममा बालबालिकाहरुको श्रम शोषण–बालश्रम हुने सम्भावना धेरै छ, तसर्थ यो विषयलाई पनि हामीले उठान गरेर बालश्रम नहुने कुराका लागि ध्यानाकर्षण गरिनुपर्दछ भन्ने माग समेत गरिएको छ ।

अल्पसंख्यक, दलित, दलित महिला, बालबालिका, एकल महिला, अपाङगता भएका व्यक्तिहरु, जेष्ठ नागरिक, दीर्घरोगी, गर्भवती, सुत्केरी, सडक नागरिक तथा अन्य अप्ठ्यारोमा परेका व्यक्तिहरुको आधारभूत उपचार तथा दैनिक आपुर्तिका बस्तुहरु जस्तैः खाद्यन्न, सेनिटाइजर, माक्स तथा आवस्यक औषधीहरुको सहज आपुर्ति र सकेसम्म निःशुल्क राहतका लागि प्रभावकारी ब्यवस्थापन गर्न एनसिई पर्वतले अपिल गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button