बागलुङमा बालबालिकाले खोप पाउन थाले

बागलुङ। बन्दाबन्दी (लकडाउन)का कारण प्रभावित खोप सेवा पुनः सञ्चालन भएको छ । महिना दिनदेखि खोप पाउनबाट बञ्चित गर्भवती र बालबालिकाले खोप पाउन थालेका हुन् । धवलागिरि अञ्चल अस्पतालमा सोमबार २५ बालबालिकाले नियमित खोप लगाएका छन् । अस्पतालमा हरेक सोमबार र बिहीबार बालबालिका र आइतबार र बुधबार गर्भवती महिलालाई खोप दिने गरिन्छ ।

कोरोनाको जोखिमले रोकिएको खोप सेवा सञ्चालनमा आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए। स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा अपनाएर खोप दिने गरेका छन् । खोप सेवा सञ्चालन गर्दा भौतिक दुरी कायम गर्नेलगायत विशेष सावधानी अपनाउने गरिएको छ ।

सोमबार धवलागिरि अञ्चल अस्पतालसँगै ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले पनि खोप सेवा प्रदान गरेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा तीन चरणमा नियमित खोप कार्यक्रम सञ्चालन गरिन्छ । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा हरेक महिनामा १ देखि ७ गतेसम्म खोप सेवा चल्छ । दोस्रो चरणअन्तर्गत हरेक महिनाको ७ देखि ११ गतेसम्म गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको दुई वडामा सञ्चालन गरिन्छ ।

यस्तै, तेस्रो चरणमा १७ देखि २२ गतेसम्म ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका बाँकी वडामा खोप सेवा सञ्चालन हुँदै आएको छ । “लकडाउनले प्रभावित बनेको खोप सेवा गत बुधबारदेखि शुरु भएको छ”, कार्यालयका चेन कोल्ड असिस्टेन्ट वीरेन्द्रकुमार चौधरीले भने, “पुरानै समय तालिकाअनुसार सम्बन्धित पालिकामा खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।” जिल्लामा मासिक करिब ५ सय ५० नवजात शिशु एवं बालबालिकाले खोप सेवा लिने गर्छन् । जन्मेदेखि १५ महिनाको अवधिमा सात पटकसम्म विभिन्न रोगका विरुद्ध बालबालिकामा खोप लगाउने गरिन्छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button