लकडाउनमा थप मजबुर हुनै पर्ने हो देश/विदेशका मजदूर ?

यसै पनि हर समय हर कोहिका लागि कठिननै हुने गर्दछ । अझ अहिलेको लकडाउनमा आफ्नो घर, गाउँ अनि देश बाहिर बसेर मजदुरी गर्नेको पिडा बेग्लै छ । प्रवासी मजदूरहरुको लागि त यो समय अझबढी नै पिडादायक छ ।

नेपाल मात्र नभई संसार कै कैयौं ठूला भनाउँदा सहर जहाँ तिनै मजदूरका पसिनाले महल बने , तिनै मजदूरको हातका ठेलाले फ्याक्ट्रि चले , तिनै मजदूरका छाला काढीएका गोडाका सहाराबाट दुनियाँको अरब पति हुने सपना सार्थक बने । तिनै मजदूरहरुको रंग त्यहि अलकत्र जस्तै हुन्जेल सडक मै घोटाए । त्यहि हातका ठेलाले रेलका पटरी बिछाए, बाटो बनाउन पहाडका चट्टान फोर्न लगाए । किन ? जव आपत पर्छ त्यहि आफैले बनाएको बाटो बाट आफैले देखेका सपना तुहाउँदै आफ्नै गाउँखाली हात अनि भोको पेट फर्कनु पर्छ भनेर?

धनाढ्य भनाउँदाहरु भन्ने गर्दथे तिम्रा गाउँमा अरु पनि मानिस भए ल्याउ । दुई छाक खान नसक्ने मानिस केहि सपना बुन्दै सहर तिर हान्निएकै थिए । कोहिको ऋण तिर्ने सपना थियो होला त कोहिको अन्य मजबूरी । केहि युवामा आफूलाई शिक्षित गराउँछु भन्ने सपना थियो । हाम्रो गाउँ भन्दा सहर शिक्षित छ त्यहाँ सम्भावना छ । सहर भनेको त सपनाको देश हो, त्यहाँ जो पनि अनि जसरी पनि पालिन सक्छ, भन्ने साँेच बनेको थियो तर अहिलेको बेला जब संकटआएको छ तब सहर पनि मौन छ ।

अहिले लाग्दछ पहिलाका सबै सोँच केवल भ्रम रहेछन् केवल भ्रमले तानेको रहेछ । युवापिंढीका सपना जब तुहिँदै छन्, त किन मौन छ सहर? के सहरलाई ति मजदूर अब चाहिँदैन ? अहिले त्यहि सहरले किन रोक्न सकेको छैन ति मजदूरलाई? के सहरलाई अब गाउँका मानिस चाहिँदैन ? किन आफ्नो अस्तित्वमा तुसारापात गर्दैछ सहर ? तिनै हात, गोडा, पसिना त्यहि सहरका लागि लम्केका थिए । त्यहि सहरलाई माया गरेका थिए, त्यहि सहर प्रति वफादार भएका थिए मजदूरहरु ।

तर, अहिले जव सहरले पालोको पैंचो तिर्ने बेलाभयो त किन मौन छ सहर ?किन रोक्न सकेको छैन ति मजदूरलाई ? किन यसरी अपहेलित गर्दैछ सहर आफ्ना प्रशंसकहरुलाई ? किन उस प्रतिको बिश्वास गुमाउँदै छ सहर ? के फेरी यीनै मजदूरको बिश्वास पलाउला सहर प्रति ? फेरी केहि कमाउने सपना, केहि शिक्षित बन्ने सपना साँचो रहेछ भन्ने सोँचमा पुग्न सक्लान् मजदूरहरु ?

टेलिभिजनमा कुर्लि–कुर्लि भट्याई रहेका पत्रकार अनि, खोजी खोजी फोटो खिचेर छाप्ने हतारोमा रहेका अखवारका फोटो पत्रकारहरुले प्रक्षेपण गरेका समाचार हेर्दा लाग्दछ, सहर साँच्चीकै स्वार्थी रहेछ । यस्ता सामग्री हेर्दा मन कुँडिण्छ । चसक्क बिझेर आउँछ जब एक मजदूर श्रीमान/श्रीमती आफ्ना स-साना बालबच्चालाई काँधमा राखेर सहरलाई बित्रिष्णाको आँखाले अनि फेरि कहिले भेट होला कि नहोलाकै दोधारे नजरले हेर्दै त्यहि सहर जसले दुई छाकखान देला भन्ने आशा थियो उसैबाट एक छाक पनि खाननपाई, जसले बालबच्चालाई समेत रोजगारी देला भन्ने आशाथियो, उसै बाट आफ्नो समेत रोजगारी गुमाउँदै फर्किदैछन् । किन कि बिश्वास अव त्यहि गाउँ कै लाग्दैछ । किन कि आफ्नै घर फर्किनु छ । लाग्दै छ अरुको कंक्रिटको महल भन्दा आफ्नै खरको झोपडी आरामदायी रहेछ ।

हृदय त तव बिरक्तिन्छ जव यस्तो कठिन समयमा पनि सहरले ‘बस’ सम्म भनेन । जसका लागि आफ्नो घर, गाउँ, परिवार, साथी सबैलाई छोडेका थिए । लाग्दछ त्यहि सहरले जोड जोडले चिच्याइचिच्याई भन्दैछ ‘भागयहाँबाट’ । ‘जा भाग तेरो चिन्ता गर्ने यहाँ कोहि छैन ।’ यहाँ जुन अस्पताल तैले बनाएको थिइस त्यसैले तँलाई बँचाउने वाला छैन । जून ट्रकले हरेक दिन बिहान उनीहरुलाई खोजी–खोजी बोकेर ढलान गर्न लग्थे, खै जव घर फर्कनु परेको छ उनीहरुलाई बोकेको ? जब आपतपर्छ त्यती बेला एक्लै हुनु पर्ने नियती नै रहेछ प्रवासीको ।

भारतमा रेल सुचारु गरियो किन कि कुनै पनि प्रवासीलाई त्यस सहरले पाल्न नसकेर लखेट्दैछ । रेल चले पनि कैयौं नेपाली साथमा भारतीय पनि पैदलै सडक नाप्न बाध्य भए । किनकी उनीहरु संग सस्तो टिकट काट्ने समेत पैसा थिएन । त्यहि बिश्वास गरेको ठाउँले लुटि सकेको थियो उनीहरुलाई महँगाईको नाममा । यस बिषयलाई पत्रकारले समेत ठाउँ दिएनन् किनभने उनीहरु मजदूर थिए । मजदूरुहरुलाई के संसारको यो महामारी अनि ‘लकडाउन’का बारेमा थाहा छैन? के सरकारको यो निर्णय उनीहरुलाई मान्य छैन ? उनीहरुलाई ज्यानको माया छैन? पक्का पनि मर्नबाट जोगिनु छ । तर महामारी भन्दा पहिला भोकमरीले, अपहेलनाले मरिने डर बढी छ । आखिर मर्ने त मजदूर नै हुन् ।

यस समयले मजदूर बर्गलाई नै दोधारमा ल्याएको छ । हातमा पैसा छैन, साथमा रोजगारी छैन, गाँउको परिस्थिती पनि थाहा छैन । हुन त स्थानीय जन प्रतिनिधीहरुले आफ्नै ठाउँमा रोजगारीको व्यवस्था गर्ने भन्ने कुरा त बोल्दैछन् तर यो त्यती सहज पनि नहोला र यति चाँडो पनि सम्भव न होला तर सरकारले अब केहि पृथक योजना ल्याउन जरुरी छ । किनकी अब फेरी मजदूरलाई सहरले अपहेलित गर्न नसकोस । देशमा रोजगारीको स्थिती निकै खराब छ । लकडाउनले देश मात्र होइन पुरै बिश्वको अर्थ व्यवस्थालाई निकै नोकसान पुर्याएको छ । कतिपयको त जागीर अनि साना व्यवसाय गुमी सकेका छन् अनि अरुको पनि अब गुम्ने पर्खाइमा ।

ठूला बडा अनि हुने खाने संग सुख अनि दुख बाँड्नका लागि कैयौं मानिस अनि श्रोत साधन पनि छन् । यहि लकडाउनका बेला समेत मीठा परिकार सामाजीक संजालमा बाँडेका छन् । राहत छ उनीहरु संग बाँड्न । हुने खानेले अनलाईन व्यापार, अनलाईन तालिम अनि अनलाइन शिक्षा समेत बाँडेका छन् तर मजदूर संग त मात्र दुःख बाँड्न समेत कोहि छैन । उनीहरु आफ्नो दुःखको संग बाँड्ने ? पहिला पनि त मजदूरहरुको दुःख को ले कति सुनेको थियो र ? उनीहरुको जीवनको सुखको लागि कसले के गरेका थिए र ? उनीहरु पहिला पनि मजदूर थिए आज पनि मजदूर छन् भने भोली पनि मजदूरै रहने छन् ।

यिनै बेरोजगार, गरिव अनि मजदूरका नाममा राजनितिक दललाई आफ्ना घोषणा पत्र बनाउन अनि भोट माग्न सजिलो भएको थियो तर अव मजदूरको संख्या बढेपछि त झनै सजिलो हुने भयो । जताततै फाइदामा धनी मानी अनि राजनीतीकर्मी नै देखिएका छन् । कोरोनाले निकै धेरैको जिंदगी तहस नहस गरेको छ । गरिबीले सधै जसो मध्यम बर्गका मानिसलाई नै चपेटामा लिएको छ । न त उनीहरु छ भन्न सक्छन् न त छैन भन्नै सक्छन् । यस बर्गका मानिस कसरी अनि कहिले होला उघो लाग्ने ? यो भन्न वा अनुमान लगाउनै पनि निकै मुस्किल छ ।

सायद कसैले अनि कहिले कल्पना समेत गरेका थिए होलान् कि, हर कोहि आफ्ना आफ्ना गुँडतर्फ उल्टा पाइला पैदलै लाग्लान् भनेर । जुँन काँधमा सहर लिएर हिँडेका थिए त्यही सहर बिरानो बन्ला भनेर । जून सहर उनीहरुको सहारामा हिडेको थियो आज उनीहरुकै सहाराको लागि कोहि छैन ।

मजदूर यो गुनासो गरुन् पनि को संग ? कसले सुन्ला उनीहरुका रोदन ? केवल मौनभई घ्रिणाको नजरले हेर्न अनि बिदाइका हात समेत नहल्लाई बिदा हनु सिवाय उनीहरु संग अन्य बिकल्प छैन । बसुन त्यही सहरमा त के का लागि ? छोडुन सहर त के का साथमा ?
त्यसैले त भन्दै आएको छु, मजबुर हुनु नै मजदूर हुनुरहेछ ।

लेखक मोटिभेसनल स्पिकर तथा विश्लेषक हुन् । उनि अवाकस मेण्टलम्याथका सिइओ समेत हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button