फरक खुसी महसुस गर्न रक्तदान गर्नुहोस्

मेरो रक्तदान पछिको खुसी अनुभूति …

यदि तपाई  खुसी महसुस गर्न चाहनुहुन्छ भने तपाईँले कमसेकम एक चोटि रक्तदान अवश्य गर्नुपर्छ । रगत दान गरेपछि व्यक्तिले महसुस गरेको आनन्दलाई शब्दमा व्यक्त गर्न सकिँदैन । यसले रक्तदातालाई एउटा बेग्लै प्रकारको खुसी अनुभव गराउदछ ।

म उपेन्द्र अधिकारीले २४ जूनका दिन यसओयस हर्मन माईनरको जन्म दिवसका अवसरमा ५० औँ पल्ट रक्तदान गरेँ ।  मेरो पनि जन्मदिन यसै दिन परेकोले अझ बढी खुसी महसुस मलाई हुने गर्दछ । मैले  रक्तदानको महत्त्व बुझेकोले  हरेक ३ महिनामा एक पटक  रगत दान गर्ने गर्दछु र साथीभाई आफन्त र  निकटतमका व्यक्तित्त्वलाई  समेत रक्तदान गर्न  सल्लाह दिन्छु ।

रक्तदान भनेको रगत दान मात्र होइन यद्यपि रक्तदानको अर्थ कसैलाई जीवनदान गर्नु हो । अझै थप्नु पर्दा, तपाईँले पनि खाँचोमा परेका व्यक्ति र उसको परिवारका सदस्यहरूलाई रगत दान गर्दा उनीहरूलाई ठुलो खुसी समेत दान गर्नुहुन्छ । रगतको खोजीमा रहेका मानिस जब रगत पाउँदछन् त उनीहरूको अनुहारमा झल्केको खुसी हेरेर हामी अनुमान लगाउन सक्छौँ कि कति पुण्यको काम गरिएछ । रक्तदान गरेमा यस्तो खुसी हुन्छ, जुन शब्दमा बयान गर्न सकिँदैन । त्यसै व्यक्तिले मात्र यो भावना वा खुसी अनुभव गर्न सक्दछ जसले कसैको लागि रक्तदान गरेको छ ।

धेरै मानिसहरूलाई लाग्दछ कि रक्तदानले उनीहरूको शरीरलाई कुनै जोखिममा पु¥याउँछ वा उनीहरू कमजोर हुन्छन् । तर त्यसो होइन, रगत दान गरे पछि हाम्रो शरीरमा आउँदो ९० दिन भित्र आफै फेरी ३५० देखि ४५० मिली लिटर सम्म रगत झिक्न सकिने गरी आफै रगत बन्छ ।  यसरी हामीले दिएको रगतले कैयौँ सडक दुर्घटनामा परेका, गम्भीर बिमारी र प्रकोपको घटनामा परेका अनि रगतको अभावले ज्यान गुमाउने अवस्थामा रहेकाहरूको जीवन बचाउन सकिन्छ । त्यसैले आफ्नो शरीरमा सित्तैमा बनेको रगत दान गर्नु अमूल्य छ । रक्तदान को बारे मा गलत धारणा विवाद अझै पनि कतिपयमा रहेकै छ तर जब त्यही मानिसलाई रगतको खाँचो पर्दछ अनि बल्ल यसको महत्त्व बुझ्ने गर्दछन् ।

आजको बेलामा हरेकले एउटा खुसीका साथ रक्तदान प्रतिज्ञा गर्न जरुरी छ । संसारको कुनै चीज त्यस्तो छ जुन वैज्ञानिकले बनाउन सकेका छैनन् भने त्यो हो मानव रगत । हाम्रो हरेक घरमा हरेक ३ महिनामा सित्तैको रगत फ्याक्ट्री छ यसको सदुपयोग गर्न जानेमा हरेकले खुसी महसुस गर्ने छन् र धेरैको ज्यान जोगिने छ । कुनै पनि स्वस्थ व्यक्तिले हरेक तीन महिनामा एक पटक रक्तदान गर्न सक्दछ ।
हामी एक जनाले गरेको रगतको एक एकाइबाट चार जीवन बचाउन सकिन्छ । विशेषतः सडक दुर्घटनाहरूमा परेका घाइतेहरूको अत्यधिक रक्तस्राव हुने हुँदा र समयमै उनीहरूलाई रगत दिन नसक्दा ज्यान गुमाउन पुग्दछन् ।  अहिलेका युवाहरू स्वैच्छिक रक्तदानका लागि अगाडि आउनुपर्छ ।

समस्याको समाधान गर्न र अन्यको जीवनको रक्षा गर्न आफूलाई स्वतन्त्र महसुस गर्नुहोस् । कोही पनि स्वास्थ्य मानिसले १८ वर्षको उमेर बाट रक्तदान गर्न सक्छन् । रक्तदानका लागि केवल ८ देखि १० मिनेटको समय लाग्ने गर्दछ । रक्तदान गरेपछि रगत बन्ने गति पनि तीव्र हुन्छ ।

मैले रक्तदानको प्रेरणा १९ बर्षको उमेरमा मेरा पिता ज्यूबाट पाएँ । उहाँले आफ्ना रक्त अल्पता भएका भान्जालाई गरेको रक्तदानबाट उहाँ दुवै जनाको अनुहारमा झल्केको खुसीका कारण म पनि त रक्तदान गर्न योग्य छु भनी उहाँलाई नै कयौँ पटक  रक्तदान गरी आफूलाई रक्तदानका लागि तयार गर्न सकेको हुँ ।

नियमित रक्तदानले मलाई ठुलो खुसी दिदै आएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button