अझै सञ्चालनमा आएन बेँसीशहर–चामे सडक

लमजुङ। अविरल वर्षाले पहिरो जाँदा गत आइतबारदेखि अवरुद्ध बनेको बेँसीशहर–चामे सडक अझै सञ्चालनमा आउन सकेको छैन । लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत विभिन्न स्थानमा गएको पहिरो हटाई नसक्दा करिब एक हप्तासम्म सडक सञ्चालनमा आउन नसकेको हो ।

साउन ४ गते ६५ किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिकाको खरखरे भीर, पुवाखोला, मस्र्याङ्दी गाउँपालिकाको रामबजार, घोप्टेभीर, स्यागे, च्याम्चे, म्यादीलगायतका स्थानमा गएको पहिराले सडक अवरुद्ध बनाएकोमध्ये च्याम्चे र म्यादीको पहिरो हटाउन बाँकी रहेको सडक डिभिजन कार्यालय दमौलीका सव इञ्जिनीयर सुमन अधिकारीले बताए ।

यस स्थानका विभिन्न पहिरो हटाइसकेको र सो दुई स्थानका पहिरो एक/दुई दिनमा हटाइसक्ने र सवारी साधन सञ्चालन हुने उनको भनाइ छ । “ठूलाठूला पहिरो गएकाले एक्साभेक्टरले पहिरो हटाउनका लागि समय लागिरहेको छ ।” बेलाबेला अविरल वर्षा भइरहँदा पहिरा हटाइसकेको स्थानमा पनि पुनः पहिरा जाँदा सडक अवरुद्ध भइरहेकाले सडक सञ्चालनमा थप समस्या उत्पन्न भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

लमजुङबाट मनाङ जाने र त्यहाँबाट यता आउने पैदल यात्रु तथा स्थानीयहरु जोखिम मोलेर हिड्डुल गर्न बाध्य भएका छन् । यस सडकमा वर्षेनी वर्षायाममा सडक अवरुद्ध हुँदा विभिन्न समस्या पैदा हुँदै आएको छ । विसं २०६९ बाट सडक सञ्चालनमा आएयता वर्षेनी वर्खायाममा पटक पटक सवारीसाधन अवरुद्ध हुँदै आएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button