दुःखका वेलामा मात्रै सही साथीको पहिचान हुन्छ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दुःखको वेलामा मात्रै सही साथीको पहिचान हुने बताएका छन् ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) युकेले नेपालका लागि पठाएको स्वास्थ्य सामाग्री ग्रहण गर्दै मुख्य मन्त्री गुरुङले उक्त कुरा बताएका हुन । एनआरएनए युकेले कोभिड १९ विरुद्ध लड्न नेपालको सात वटै प्रदेशका लागि २–२ थान गरी १४ थान भेन्टिलेटर (अक्सिजन मेसिन) प्रदान गरेको हो । ती स्वास्थ्य सामाग्री ११ लाख ७६ हजार मूल्यका रहेका छन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले एनआरएनएले नेपालको हरेक दुःखहरूमा साथ दिँदै आएको स्मरण गर्दै एनआरएनएका अध्यक्ष पुनम गुरुङ लगायत सम्पूर्णलाई सहयोगका लागि आभार व्यक्त गरे । “युकेमा रहेका एनआरएनए युके होस वा तमु धिं युकेले निकै ठुलो सहयोग गरेका छन्” उनले भने–“आगामी दिनमा पनि यो सहयोग जारी रहनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।”

सो अवसरमा बोल्दै एनआरएनए युकेका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष मेजर रिटायर्ड  डम्मर घले (एमबिई) ले गैर आवासीय नेपालीहरूको संस्था विश्वकै धेरै सदस्य भएको संस्थाहरूको उल्लेख गर्दै नेपालको हरेक विपतहरुमा सहयोग गर्दै आएको बताए । उनले यी स्वास्थ्य सामाग्रीले नेपालको कोभिड १९ विरुद्ध लड्न सहयोग पुग्ने बताए । कार्यक्रममा संस्थाका सल्लाहकार नर जङ्ग गुरुङ, सदस्य चन्द्र गुरुङ, लोक गुरुङ र भोज गुरुङको समेत उपस्थिति रहेको थियो ।

यसै गरी सहयोग समिति हङकङले समेत करिब १३ लाख बराबरको स्वास्थ्य सामाग्री गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । कोभिड १९ विरुद्ध लड्न आवश्यक स्वास्थ्य सामाग्री मध्ये पिपिई, सर्किजल मास्क, थर्मल गन र पन्जा लगायतका १३ लाखको स्वास्थ्य सामाग्री गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई हस्तान्तरण गरेको हो ।

हङकङवासी नेपालीहरूले पठाएका ती स्वास्थ्य सामाग्री ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले यी सामाग्रीहरू कोभिड विरुद्ध लड्न र स्वास्थ्यकर्मीहरूलाई हौसला प्रदान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले देश विदेशमा रहेका नेपाली दाजुभाइको सहयोगले गण्डकी प्रदेशमा कोभिड विरुद्ध लड्न र सजगता अपनाउन निकै सहज पुगेको बताए ।

मुख्यमन्त्री गुरुङले छिमेकी मुलुक भारतबाट गण्डकी प्रदेशमा भित्रिनेको सङ्ख्या तेस्रो मुलुकबाट भएकाले खासै चिन्ताको विषय नरहे पनि निकै सजगताका साथ आफूहरूले काम गरिरहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button