युवा क्लबमा आबद्ध युवाको सरसफाइमा चासो

गण्डकी, ९ भदौ ।पोखरा महानगरपालिका­ २७ अर्घौं अर्चलेस्थित कविशिरोमणि लेखनाथ पौड्याल सङ्ग्रहालय परिसरमा सिर्जनशील युवा क्लबमा आबद्ध युवाले सरसफाइ गरेका छन् ।

लामो समयको बन्दाबन्दीका कारण सरसफाइ हुन नसक्दा कविशिरोमणिको जन्मघरको छानामा झार पलाएको तस्वीर राष्ट्रिय समाचार समितिबाट आइतबार साँझको बुलेटिनमार्फत प्रकाशन भएको थियो । पोखराबाट राससकर्मी राधिका कँडेलले खिंच्नुभएको सो तस्वीर अनलाइन तथा पत्रपत्रिकामा प्रकाशन भएपछि यसको सरसफाइमा चासो र चर्चा बढेको थियो ।

राससबाट प्रकाशित तस्वीर विभिन्न सञ्चारमाध्यममा देखिएपछि क्लबका पदाधिकारीसहितको टोलीले सोमबार कविशिरोमणिको जन्मघरसहित सङ्ग्रहालय परिसरमा सरसफाइ गरेको सिर्जनशील युवा क्लबका अध्यक्ष नीरज लामिछानेले बताए । “लामो समयको बन्दाबन्दीका कारण छानामा झार पलाएको कविशिरोमणिको जन्मघरको फोटो विभिन्न सञ्चारमाध्यममा देखेसँगै तत्काल क्लबका पदाधिकारी स्वतःस्फूर्त त्यहाँ पुगी सरससफाइ गरेका हौं,” उनले भने ।

कविशिरोमणिको जन्मस्थल अर्घौंं अर्चलेलाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ कविशिरोमणि लेखनाथ जन्मस्थल विकास समिति गठन भएसँगै कविशिरोमणिको जन्मघरको संरक्षणका साथै सङ्ग्रहालय, तरुण तपसी उद्यान निर्माणलगायत कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

समितिले कविशिरोमणिको जन्मघरलाई पुरानै स्वरुपमा निर्माण गरेको छ । उनको बाल्यकालदेखि मृत्युसम्म प्रयोग भएका सामग्री र त्यस समयका रहनसहन र रीतिरिवाज झल्कने चलनचल्तीका सामग्री राखी सङ्ग्रहालय निर्माण गरिएको छ । कविशिरोमणिको जन्मस्थलमा गएर कविता रच्ने वा अन्य साहित्य सिर्जना गर्नेका लागि जन्मघर वरपर प्रतीक्षालयलगायत संरचना तथा उद्यान निर्माण गरिएका छन् । पृथ्वी राजमार्गको अर्घौंचोकस्थित कविशिरोमणिको शालिकदेखि जन्मस्थल अर्घौं अर्चलेसम्म ठाउँठाउँमा उहाँले रचना गरेका उत्कृष्ट कविताका श्लोक सिंगमर्मरमा कुँदेर राखिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button