गण्डकी प्रदेशमा कोरोनाको प्रभाव नियन्त्रणमा छ – मन्त्री चुमान

पोखरा न्यूज । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले गण्डकी प्रदेशमा कोरोनाको प्रभाव नियन्त्रणमा रहेको बताएका छन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमण समुदायमा फैलिएको भन्ने चर्चा भए पनि त्यस्तो नरहेको र गण्डकी प्रदेशको व्यवस्थापनका कारण कोरोना  नियन्त्रण भित्रै  रहेको मन्त्री चुमानले दावी गरे । “शुरु शुरुमा हाम्रो केही ढिलाइ भएको हो” उनले पोखरा न्यूज सँग भने–“प्रदेश सरकारले सक्रमितको परीक्षणको दर समेत बढाउँदै लगेर स्वास्थ्य सेवामा व्यापक सुधार गरे सँगै कोरोनाको प्रभाव नियन्त्रणमा रहेको छ ।” “प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय भन्दा बढी देखिए पनि निको हुनेको सङ्ख्या ८० प्रतिशत भन्दा माथि नै  रहेकोले  आत्तिइहाल्नु पर्ने अवस्था नरहेको” उनको जिकिर छ ।

कोभिड १९ चुनौतीको रूपमा रहे पनि प्रदेश सरकारले अवसरको रूपमा लिएको बताउँदै मन्त्री चुमानले विश्व महामारीको रूपमा रहेको कोभिड १९ को चुनौतीले  प्रदेशको स्वास्थ्य अवस्थामा सुधार गर्न र व्यवस्थापनका कार्य अघि बढाउन अग्रसर गराएको बताए ।

कोभिड १९ का बारेमा सचेतनाको अभाव र प्रचार प्रसारको अभावले बढी आतङ्कित पार्ने र आतङ्कित हुने काम  भएको भन्दै  मन्त्री चुमानले बताउँदै हेलचेक्र्याइँका कारण सङ्क्रमितको अवस्था केही बढेको देखिएको बताए । उनले भने-“हामीले जसरी नागरिकहरु भारत र अन्य तेस्रो मुलुकबाट गण्डकी प्रदेश प्रवेश गर्ने अनुमान गरेका थियौँ र् जसका कारण कोभिडले महामारीको रूप लिन्छ  भन्ने  सोचेका थियौँ  भाग्यले  त्यो भने भएन । बाहिरबाट प्रदेशमा आउनेको सङ्ख्यामा कमी भए पनि नागरिकमा बढेको हेलचेक्र्याइँका कारण कोरोना बढेको जस्तो देखिएको उनले आरोप लगाए ।

अझै पनि कोभिडका कारण आतङ्कित बन्न नहुने बताउँदै कोरोना समुदायमा नफैलियोस् भन्नका लागि प्रशासन कार्यालयले निषेधाज्ञा लागु गरेर अघि बढेको मन्त्री चुमानले बताए ।  सुरक्षाको फ्रन्टलाइनमा रहेका प्रहरी र नेपाल आर्मीमा पनि कोरोना देखिएको भएपनि  उनीहरूलाई आइसोलेसनमा राखिएको र उनीहरुको ठाउँमा जनशक्ति कमि हुन् नदीइएको मन्त्री चुमानले बताए । उनले कारागार लगायतका स्थानहरूमा समेत कोरोनाको प्रभाव नपरोस् भन्नका लागि मन्त्रालय सचेत भएर अगाडी बढेको बताए ।

गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनमा समेत  गम्भीर ढंगले काम गरिरहेको बताउँदै मन्त्री चुमानले  पूर्व तयारी गरिएको र विपदमा परेकाहरुलाई उद्दार, स्थानान्तरण तथा राहत प्रदान गर्ने  काम प्रदेश सरकारले गरेको  बताए ।  प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि प्रदेश भित्रका ९ वटा जिल्लामा १०/१० लाख रुपैयाँको दरले तथा मनाङ र मुस्ताङमा २/२ लाखका दरले विपद् कोषमा रकम पठाइएको बताए ।

सरकारले मुख्य गरी प्रदेश प्रहरी ऐन यो साता भित्र संसद्मा टेबुल गर्ने तयारी गरीहेको मन्त्री चुमानले बताए । “प्रहरी ऐनका कारण हामी अपुरो थियौँ, यो पारित हुने बित्तिकै  हामी करिब प्रदेशका लागी आवश्यक ऐन निर्माण गर्न सफल भयौ भन्ने ठाउँमा हामी पुग्छौ,” उनले भने ।  प्रदेश सभामा विकास प्राधिकरण ऐन र खेलकुद विकास ऐन संसद्मा अगाडी बढेको उनले बताए ।

सङ्घीयता कार्यान्वयन गर्न प्रदेश सरकार विश्वास र भरोसाका साथ अगाडी बढेको बताउँदै उनले  प्रदेश सरकार आवश्यक छ भन्ने  ठाउँमा जनता पुगेको बताए । उनले भने–“हामी मन्त्री हुने बित्तिकै धेरै काम गर्छौ भन्ने  सोचका साथ आएका थियौँ तर सबै कुरा संरचनागत रूपमा निर्माण गरेर अगाडी बढ्नुपर्ने भएकोले केही समस्या आएको हो ।”

नागरिकका लागि व्यवहाररत नजिकको सरकारको स्थानीय सरकार भए पनि त्यसपछि पहुँचको सरकार प्रदेश सरकार नै हो भन्ने कुरा सबैले विश्वास गर्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button