पोखरामा समुदाय स्तरमा कोरोना छ, सबै सचेत हुनुहोस् : महाशाखा प्रमुख पौडेल

पोखरा न्यूज । पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख  हेमन्त शर्मा पौडेलले पोखरामा समुदायस्तरमा  कोरोना फैलिएको बताउनुभएको छ । महानगरमा कोरोना समुदाय स्तरमा देखापरेको भएपनि डराउनुपर्ने अवस्था भने नरहेको महाशाखा प्रमुख पौडेलले बताउनुभयो ।

बिहीबार पोखरा न्यूजसँग कुरा गर्दै महाशाखा प्रमुख पौडेलले कोरोनाबाट डराउने भन्दापनि शतर्क र सजग रहनुपर्ने अवस्था रहेको बताउनुभएको हो ।  “ हामीले स्वास्थ्यका प्रोटोकलहरू राम्रो सँग ख्याल गरेर  सार्वजनिक स्थान तथा भेटघाटका क्रममा वा घर , कार्यालय भित्रै पनि अपनाउन सक्यौँ भने कोरोनालाई नियन्त्रणमा ल्याउन  सक्छौ ” प्रमुख पौडेलले भन्नुभयो “यो बेला डराउने भन्दा पनि सजग र बढी सतर्क रहने बेला हो ।”

पौडेलले  कोभिड – १९ सङ्ग लड्न र यस विरुद्ध जित हासिल गर्न  नागरिकहरूले आफूले बुझेको कुरालाई राम्रो सँग पालन गर्नुपर्ने बताउनुभयो । पोखरामा संक्रमण बढेसँगै महानगरले १ सय बेड क्षमताको आइसोलेसनको निर्माणको तयारीका लागि समेत काम शुरु गरेको बताउँदै  उहाँले भन्नुभयो –“ पोखरा महानगर आफ्नै संरचना निर्माण गरेर अघि बढ्ने की भन्ने सोचमा  रहेको छ ,  संक्रमण दर यही नै रह्यो भने त पोखरा महानगरको ४६ बेडको आइसोलेसनले सहज होला तर सङ्क्रमित को सङ्ख्या बढ्यो भने तत्कालै आइसोलेसन अस्पताल आवश्यक छ ।”

नेपाल सरकारको मातहतको स्वास्थ्य विज्ञान प्रतिष्ठानले र प्रदेश सरकार मातहतको सरुवा रोग अस्पताल आइसोलेसनको रूपमा अघि बढेकोले पनि महानगरमा  सङ्क्रमितहरूलाई राख्न सहज भएको उहाँको भनाइ छ  ।  महानगरले ११ वटा क्वारेनटिनहरू सञ्चालन गरेको भएपनि पछिल्लो समय विद्यालयमा भएका क्वारेनटिनलाई पूर्ण रूपमा खारेज गरिएको उहाँले बताउनुभयो । अहिले पोखरा महानगरले एउटा महिला र पुरुषका लागि दुई वटा क्वारेनटिनको व्यवस्था गरिरहेको बताउँदै उहाँले  पोखरा- ५ को कृषि केन्द्रमा रहेको क्वारेनटिनलाई आइसोलेसन सेन्टरको रूपमा अघि बढाइएको बताउनुभयो ।

पोखरामा समुदायमा कोरोना फैलिएको देखिए पनि यो  जटिल प्रकृतिको नरहेको बताउदै उहाँले कोरोना नियन्त्रण राख्न सकिने अवस्था मै रहेको बताउनुभयो । “पहिलो लकडाउनको १ सय दिनमा पोखरामा ४२ को सङ्ख्यामा कोरोना सङ्क्रमितहरू  रहेकोमा सहज वातावरण हुनासाथ केही सङ्ख्या बढेको पाइएको हो ”  उहाँले भन्नुभयो “लकडाउन खुकुलो भएर मोविलिटी बढे सँगै सङ्क्रमितको सङ्ख्या १ सय ७९ थपिए । सङ्क्रमितको सङ्ख्या बढ्दा निकै चिन्ताको विषय बनेको भएपनि भदौ २ गते शुरु भएको निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा देखिएको उहाँले बताउनुभयो ।

हालसम्म पोखरा महानगरका वडाहरूमा  २ सय ८० को सङ्ख्यामा कोरोना सङ्क्रमितहरू रहेको बताउँदै उहाँले त्यसमध्ये २ सय ६ जना पुरुष र ७४ जना महिलाहरू रहेको जानकारी दिनुभयो । पोखराका ३३ वडा मध्ये वडा नं २० र २४ मा शून्य सङ्क्रमण रहेको र सबै भन्दा बढी पोखराको वडा नं ८ मा २७ जना सङ्क्रमितको सङ्ख्या रहेको प्रमुख पौडेलले जनाउनुभयो । पौडेलका अनुसार वडा नं ७ मा २३, वडा नं ५ मा २०, वडा नं १७ मा १८, वडा नं ९ मा १७ जना, वडा नं २७ मा १६ जना ,वडा नं १६ मा १४ जना, वडा नं १९ मा १२ जना, वडा नं १४ मा ११ जना, वडा नं ४ मा ११ जना सङ्क्रमित रहेका छन् ।

यसै गरी पोखरा महानगरको वडा नं १३, १५, २६ र ३३ मा ८/८ जना, वडा नं ६, १०, २९, ३० का चार वटा वडामा ७/७ जना, वडा नं ३२ मा ६ जना र वडा नं ३ मा ५ जना तथा वडा नं ११, १२, १८, २२, २५ र २८ मा ४/४ जना र वडा नं १ मा ३ जना, वडा नं २१ मा २ जना, पोखराको वडा नं २, २३ र ३१ मा १/१ जना सङ्क्रमित रहेको प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँले  पोखरा महानगरका १६, १९ र १२ नं वडाका तिन जनाको  कोरोनाका कारण मृत्यु भएको बताउनुभयो ।

भारतीयहरूले सञ्चालन गर्ने साना उद्योग र व्यवसायहरू रहेका पोखरा महानगरका वडामा धेरै सङ्क्रमित देखिएको पौडेलले बताउनुभयो । “उहाँहरू लकडाउनको समयमा भारत जानु भएको थियो खुकुलो भए सँगै फर्किनुभयो त्यसैले सङ्क्रमितको सङ्ख्या बढ्यो”, उहाँले भन्नुभयो । यही बिचमा बाहिरी जिल्ला र विदेशबाट आउनेको सङ्ख्या समेत बढ्दा पोखरामा समुदाय स्तरमा सङ्क्रमण बढेको उहाँले बताउनुभयो ।

“भदौको पहिलो सातामा कनट्याक्ट ट्रेसिङको आधारमा गरिएको परीक्षणमा सङ्ख्या बढेको पायौँ” उहाँले भन्नुभयो –“तर यति वेला निषेधाज्ञा जारी भइसकेपछि सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै गएको छ, सायद यो निषेधाज्ञाको कारणले पनि हुन सक्छ ।” जति खुला हुन्छ त्यति सङ्क्रमण बढ्छ भन्ने तथ्याङ्कले देखाएको बताउँदै प्रमुख पौडेल साउन ३१ र ३२ गते पोखरामा २२ र २७ जना सङ्क्रमित र भदौ १ गते १२ जना सङ्क्रमित फेला परेको बताउनुभयो ।

भदौ १ गते २ सय ९८ जनालाई पहिचान गरेर कनट्याक्ट ट्रेसिङ गर्दा १२ जना देखिएको बताउँदै प्रमुख पौडेलले तिनीहरू मध्ये भदौ २ गते आएको नतिजामा २० जनामा पिसीआर पोजेटिभ पाइएको जानकारी दिनुभयो । “निषेधाज्ञाले नागरिकको मोविलिटी घटाए सँगै महाशाखाले काममा फोकस गर्दै कनट्याक्ट ट्रेसिङ बढाउँदै लगेको”, उहाँले बताउनुभयो । “निषेधाज्ञाको समयमा दुई पटक १ सय ४३ र १ सय ४५ का दुई अलग–अलग ट्रेसिङमा १७ जना सङ्क्रमित फेला परेका छन्,” उहाँले भन्नुभयो “पोखरामा निषेधाज्ञाकै कारण पछिल्लो समयमा भएका परीक्षणमा सङ्क्रमितको सङ्ख्या केही कम भएको तथ्याङ्कले देखाएको छ ।”

महानगरमा कोरोनाको सङ्क्रमणको दर घटाउन सबै निकाय र तह तप्का जिम्मेवार ढङ्गले लाग्नुपर्ने प्रमुख पौडेलको भनाइ रहेको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button