पहिरोले पाँच घर उच्च जोखिममा

लमजुङ । डुम्रे- बेँसीशहर सडकखण्ड नजिकै लमजुङ बेँसीशहर नगरपालिका-२ बोहोरा बेँसी गाउँका पाँच घर पहिरोको उच्च जोखिममा छन् ।

घर तल गत साउन महिनाको पहिलो साताबाट जान थालेको पहिरो गएको थियो । फेरि बुधबार साँझबाट परेको अविरल वर्षासँगै आज बिहानदेखि पहिरो जान थालेपछि ती घर उच्च जोखिममा परेको वडाध्यक्ष गणेश कँडेलले बताउनुभयो ।

उहाँका अनुसार रामजी बोहोरा, सुरेन्द्र बोहोरा, बाबुराम बोहोरा, बीबी बोहोरा र बुद्धि बोहोराको घर उच्च जोखिममा छन् । घर तल पहिरो गएको र बेलाबेला वर्षा हुँदासमेत अलिअलि पहिरो जाने गरेको वडाध्यक्ष कँडेलको भनाइ छ । घर वरिपरि एक/एक मिटरको जमिन चर्किएको र ठूलो वर्षासँगै घर नजिकै गइरहेको पहिरोले घरहरु नै तान्ने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ ।

बोहोरा बेँसी गाउँ नजिकैबाट करिब २०० मिटर लामो पहिरो गत साउनबाटै जान थालेको छ । पहिरोले पटकपटक डुम्रे–बेँसीशहर सडकसमेत अवरुद्ध बनाउँदै आएको छ । सडकमाथि पहिरो आएको नजिकै रहेका तीन घरलाई गत महिना नै स्थानान्तरण गरिएको छ । नगरपालिकाले तत्कालका लागि प्रत्येक परिवारलाई ३० हजारका दरले आर्थिक सहयोगसमेत गरिसकेको वडाध्यक्ष कँडेलले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button