‘खेलाडीको पीडा बुझेको छु’– राखेप सदस्य खड्का

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसंग बुझेको बताउनु भएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्ना उपाध्यक्ष खड्का राखेपको बोर्ड सदस्यमा नियुक्त भएको अवसरमा मंगलबार आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा खड्काले उक्त कुरा बताउनुभएको हो । “म पनि विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएको हुँ । देशको प्रतिनिधित्व गर्दै धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेको छु । त्यसैले खेलाडीको पीडा बारे मलाई राम्रोसंग थाहा छ ।”

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका सदस्य खड्काले भन्नुभयो–“खेलाडीको पीडालाई सही ठाउँमा उठाउने म हरदम प्रयासरत रहने छु । सबैको साथ र सहयोग पाए मात्र त्यो सम्भव छ ।” खड्काले खेलाडीको भविष्य कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषय आफ्नो प्राथमिकता रहेको बताउदै सदस्यमा नियुक्त गरी आफू संलग्न खेलक्षेत्रमा केहि गर्ने अवसर दिएकोमा नेपाल सरकारलाई धन्यवाद समेत दिनुभयो ।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खड्काको नियुक्तिले सिंगो खेलाडी जगतले गर्वको अनुभूति गरेको बताउदै लामो सयमदेखि खेलकुद क्षेत्रमा योगदान पु¥याएको व्यक्तिलाई सदस्यमा मनोनित गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिनुभयो । उहाँले अब गठन हुने राखेपको कार्यकारी समितिमा खड्कालाई पनि अवसर दिएर खेलाडीप्रति न्याय गर्न सरकारसंग अनुरोध समेत गर्नुभयो ।

खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टले खड्कालाई सदस्यमा नियुक्त गरेकोमा खेलाडी संघ मात्र नभइ सारा नेपाली खेलाडीलाई खुशी तुल्याएको धारणा व्यक्त गर्नुभयो ।

खड्कालाई गत असोज २९ गतेको मन्त्रीपरिषद् बैठकले राखेपको सदस्यमा नियुक्त गरेको थियो । खड्का अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितमा नेपालको तर्फबाट सर्वाधिक गोलकर्ता मध्येका एक हुनुहुन्छ । खड्काले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोल गर्नुभएको छ । खड्का नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पूर्व प्रशिक्षक समेत रहि सक्नुभएको छ् । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि खड्काले प्रशिक्षकबाट राजीनामा दिनुभएको थियो । खड्का अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत महिला विभाग प्रमुख समेत रहनुभएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button