कास्की काँग्रेसले वरिष्ठ नेता पौडेल पक्राउ घटनाको विरोधमा पोखरामा प्रदर्शन गर्ने

पोखरा न्यूज  । नेपाली काँग्रेस कास्कीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरी हिरासतमा राखिएको घटनाको निन्दा र भर्त्सना गरेको छ ।

वरिष्ठ नेतामाथिको प्रहरी धरपकड सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि अशोभनीय कार्य भएको भन्दै काँग्रेस कास्कीले घटनाको निन्दा र भर्त्सना गरेको  हो।

‘कम्युनिस्ट सरकार भ्रष्ट, निरंकुश हुँदै राज्य आतङ्क, ज्यादती र बर्बरतापूर्वक दमनमा उत्रन थालेको प्रमाणित भएको छ’, कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा घटनालाई सबै क्षेत्रबाट जति निन्दा गरे पनि अपुग हुने भन्दै सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र विरुद्ध उत्रन सबै नेपालीलाई आव्हान गरिएको छ ।

यसैबिच घटनाको विरोधमा पोखरामा बिहीबार विरोध प्रदर्शन गरिने नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो  । उहाँले  नेपाल तरुण दल कास्कीको नेतृत्वमा दिउँसो १ बजे महेन्द्रपुलमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button