निरन्तर संगीतमै लागिरहने छुः गायक एल्बिन थापामगर

पोखरा न्यूज ।  गायक एल्बिन थापामगरको जन्म तनहुँ जिल्लाको भिमाद ४ सारडाँडामा भएको हो । बाबु शिवलाल र आमा सुकुमाया थापाको सन्तानको रुपमा जन्मनुभएका थापामगरको बाल्यकालदेखि नै गीतसंगीत र नृत्यमा रुचि थियो । हे गोरी, समय, तिम्रो मिठो बोली, लजाएर लगायतका झण्डै १ दर्जन गीतमा उहाँले आवाज भरिसक्नुभएको छ ।

विभिन्न ठाउँमा आयोजना भएका कार्यक्रममा उहाँ सहभागी बन्दा दर्शकले राम्रो साथ दिन्छन् । उहाँ पछिल्लो समयमा व्यवसायिक क्षेत्रमा समेत अगाडि बढ्नुभएको छ । स्टेशन मःम हाउस तथा ससेज पार्क गगनगौडा लेखनाथका सञ्चालक समेत रहनु भएका गायक थापामगरसँग उहाँको सांगीतिक यात्राको बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईको सांगीतिक यात्रा कसरी सुरु भयो ?
म सानैबाट नाचगान भनेपछि हुरुक्कै हुन्थें । त्यो समयमा महेश थापा दाइले नाच्न सिकाउनु हुन्थ्यों । मैले एफएम रेडियो मार्फत धेरै गीतहरु सुन्ने अनि गाउने र नाच्ने गर्थे । २०६५ सालमा प्रवेशिका परिक्षा उत्र्तीण गरेर कलेज पढ्नको लागि पोखरा आए । पोखरा आएपछि अध्ययनसँगै काम गर्न थाले । महेन्द्रपुलमा रहेको डिमान्ड रेस्टुरेन्टमा काम गर्थें । सोही समयमा मेरो एकजना साथी किरण गुरुङसँग भेट भयो । उहाँ सँगको भेट मेरो लागि खास बन्यो ।
कामको सिलसिलामा स्टेशन फुड क्लवमा आयुष श्रेष्ठ दाइसँग भेट भयो । त्यतिबेला महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दै काम गर्थे । आयुष दाइको सहयोगमा बिनित जोजिजूले सञ्चालन गरेको जोजिजु म्युजिक सेन्टरमा आदरणीय गुरु तिर्थराज पोखरेलसँग संगीत सिक्न सुरु गरे । यसरी मेरो संगीतको सुरुवाती दिन सुरु भए ।

कस्ता गीत गाउन मनपर्छ ?
प्रायः मलाई सबै खालको गीतहरु मनपर्छ तर म धेरै जसो रोमान्टिक खालका पप गीतहरु गाउन रुचाउँछु ।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?
बाल्यकालमा अहिले जस्तो मोवाइल थिएन । एफएम रेडियो मार्फत गीतहरु सुनिन्थ्यो । त्यस समयमा गाउने भन्दा नाच्नमा धेरै रुचि हुन्थ्यो ।

तपाईलाई मनपर्ने गायक तथा गायिका ?
मलाई मन पर्ने गायक कमल खत्री र गायिका अन्जु पन्त हुनुहुन्छ ।

सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
नाम र आफ्नो सिर्जना चलिराखे अबश्य सकिन्छ तर केहि समयमा चल्छु भनेर यो क्षेत्रमा आउनेहरुको लागि अलि गाह्रो छ ।

तपाईले देखेको सपना ?
मेरो सपना भनेको सधैं संगीत मै रमाउन पाउ दर्शक स्रोताहरुबाट माया पाउन सकूँ भन्ने नै हो ।

नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?
हाम्रो नेपाली संगीत पनि अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको छ । अहिले करोडौंले नेपाली संगीत लाई माया गरेको देख्छु । कति त संगीतबाट नै आफ्नो जीवन चलाइराखेका छन्, यो सकारात्मक कुरा हो ।

नेपाली सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?
बजारमा दुई चिज चल्छ । एउटा राम्रो नै भएर चल्छ । अर्को भनेको क्षणिक फाइदाका लागि भाइरल हुने तरिकाले ल्याएका चल्छन् । क्षणिक फाइदाका लागि ल्याएका लामो समय टिक्दैनन् । सोही कारण हामीले क्षणिक फाइदा भन्दा राम्रो कुरालाई ध्यान दिएर काम गर्न सक्ने हो भने राम्रो हुन्छ ।

आफूमा निखारता कसरी थप्दै अउनुभएको ?
पहिले जस्तो नियमित संगीत क्लास लिन पाको त छैन तर गीत संगीतलाई नियमित रुपमा समय दिन्छु ।

संगीत क्षेत्रबाट पाएको कुरा ?
संगीत क्षेत्रका धेरै अग्रज संगीतकर्मी गायक गायिकासँग सहकार्य तथा चिनजान भयो । कसैले नचिनेको मलाई संगीत क्षेत्रबाट चिन्नेहरु धेरै हुनुहुन्छ ।

संगीत क्षेत्रबाट गुमाएको कुरा ?
त्यस्तो गुमाए जस्तो त केहि लाग्दैन ।

अबका योजना के छन् ?
मेरो आफ्नै रेस्टुरेन्ट पनि भएको कारण व्यवसायसँगै संगीत मै केहि गरौं भन्ने छ ।

अन्तमा के भन्नुहुन्छ ?
निरन्तर संगीतमै लागिरहने छु, साथ सपोर्ट हौसला दिनुहोला, तपाईहरुको यस्तै माया र साथले अझै केहि गर्न सकूँ । अवसरका लागि धन्यवाद ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button