प्रधानमन्त्री ओली ट्रम्प शैलीबाट अगाडि बढे : भट्टराई

पोखरा न्यूज संवाददाता । नेकपा प्रचण्ड-नेपाल समूहका केन्द्रीय सङ्घर्ष समितिका सह-संयोजक योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति ट्रम्प शैलीबाट अगाडि बढेको बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) प्रचण्ड-माधव नेपाल समूह कास्कीद्वारा बिहीबार पोखरामा आयोजित पार्टी सम्बद्ध जन वर्गीय सङ्गठनको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री ओली ट्रम्प शैलीबाट अगाडि बढेका कारण यसले स्वयं ओलीलाई नै हानि पुग्ने बताउनुभएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेता भट्टराईले भन्नुभयो- “जसरी पूर्व राजा ज्ञानेन्द्रले जनताको जनादेश खोसेर साशनसत्ता आफ्नो हातमा लिएर गल्ती गरे त्यस्तै गल्ती ओलीले गरेका छन् , तीन महिनापछि ओलीको साथमा कुनै नेता बस्ने छैनन्, अहिले पदको लोभमा लागेका साथीहरूले केपीको साथ छाडिदिने छन् ।”

ओलीले अहिले पार्टीलाई बुझ्न नसकेको र पार्टी बुझ्ने बेलामा ओलीका पछाडि कोही नहुने नेता भट्टराईले दाबी गर्नुभयो । विभिन्न चार विकल्प हुँदाहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ नजिकको संसद् भङ्ग गरेर कम्युनिस्ट आन्दोलनलाई नै ठुलो धक्का पुर्‍याएको बताउनु भएको छ ।

पार्टीले प्रधानमन्त्रीको राजीनामा मागेको पनि थिएन, पाँच वर्षको लागि प्रधानमन्त्री बन भनेर कागजमा लेखेर दिएकै थियो, संवैधानिक निकाय, राजदूत, मुख्यसचिव र मन्त्री नियुक्ति आफ्नै खल्तीबाट निकालेर गर्नुभएको थियो, यदि आफ्नै पार्टीबाट काम गर्न अप्ठेरो भएको भए, अर्को व्यक्ति प्रधानमन्त्रीको रूपमा अगाडि सार्न सकिन्थ्यो त्यसो किन गर्नुभएन ? प्रश्न गर्दै भट्टराईले भन्नुभयो प्रधानमन्त्रीको नियत ठिक छैन ।

२०७२ सालको संविधानले प्रशस्त विकल्प दिँदा पनि संसद् किन विघटन गरियो भन्ने रहस्यको विषय भएको बताउँदै नेता भट्टराईले सनकका भरमा भङ्ग गरिएको संसद् अदालतबाट पुनर्स्थापित हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओलीको यो कदम संवैधानिक छ भनेर कुनै पनि पूर्व महान्यायाधिवक्ता बोलेका छैनन्, कानुनका ज्ञाताहरूले पनि कानुनको सही व्याख्या गर्ने नै छन्, संसद् पुरस्थापना हुन्छ ।

प्रधानमन्त्री ओलीले प्रदेशसभा खारेज गरेर सङ्कटकाल घोषणा गर्न सक्ने तर्फ सङ्केत गर्दै नेपाली सेना जनताको पक्षमा नै हुने बताउनुभयो । “नेपाली सेना सधैँ सत्ताको पक्षमा हुँदैन, पूर्वराज ज्ञानेन्द्रका साथमा पनि सेना थिए तर गलत कदमको पछि सेना लाग्दैन, नेपाली सेना जनताको पक्षमा नै हुन्छ,” नेता भट्टराईले भन्नुभयो । पूर्व राजा ज्ञानेन्द्रको जत्तिको बलियो जग ओलीको नभएको भन्दै भट्टराईले पूर्व राजा ज्ञानेन्द्र तिन वर्ष टिकेको तर केपी ओली तीन महिनामा नै ढल्ने दाबी गर्नुभयो।

संसद् विघटनले प्रतिक्रियावादी हासेको र विदेशी शक्तिले चलखेल गरेको बताउँदै भट्टराईले सङ्घीयतामाथि कुठाराघात भएको र समावेशी लोकतन्त्रमाथि गम्भीर असर पुगेको अवस्थामा प्रधानमन्त्रीको कदमले कुनै पनि लोकतन्त्रवादी शक्ति खुसी नभएको जनाउनुभयो । प्रधानमन्त्रीले गरेको संसद् विघटनका विरुद्ध आफूहरू शान्तिपूर्ण सडक आन्दोलन र कानुनी लडाइमा भएको उल्लेख गर्दै उहाँले निर्वाचन आयोगले पनि पार्टीको वैधानिकता कसलाई दिनुपर्छ भन्ने बुझेको बताउनुभयो। उहाँले भन्नुभयो’ ” निर्वाचन आयोगले नेपालको संविधान २०७२ को राजनीतिक ऐन दफा ४४ राम्रोसँग पढेर जसको केन्द्रीय सदस्यको सङ्ख्या बढी छ त्यसैलाई मान्यता दिन्छ ।” नेता भट्टराईले पार्टीका ४४१ मध्ये ३१५ जना प्रचण्ड–माधव समूहमा रहेको दाबी गर्नुभयो।

कार्यक्रममा प्रचण्ड-माधव नेपाल समूह गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले संसद्मा बम मात्र नहानी देश समाजवाद र समृद्धि तर्फ अगाडि बढिरहेको अवस्थामा ७० वर्षे कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्ने काम गरेको बताउनुभयो ।

“प्रधानमन्त्रीलाई पार्टीबाट काम गर्न सजिलो बनाएकै थियौँ, संसद्मा विपक्षीहरूले वाइडवडी, सेक्युरिटी मेसिन खरिद, ओम्नी काण्डका बारेमा कुरा उठाइएका थिए तर हामी मौन बस्यौ, अहिले बनावटी कुरा बनाएर काम गर्न नदिएको भन्दै हिँड्नु प्रधानमन्त्रीको महाभूल हो,” नेता पौडेलले भन्नुभयो । पार्टीबाट काम गर्न सहयोग हुदाँ हुदै पनि प्रधानमन्त्रीले एक पटक पनि सदन नबोलाईकन भागेर संसद् विघटन गरेर ठुलो गल्ती गरेको नेता पौडेलले बताउनुभयो ।

सो अवसरमा पार्टीका केन्द्रीय सदस्य चूडामणि जङ्गलीले पाँच वर्षका लागि प्रधानमन्त्री खानुहोस् भनेर लेखेर दिँदा समेत संसद् भङ्ग गरेर ओलीले नेपाललाई सिरिया र अफगानिस्तान बनाउन खोजेको आरोप लगाउनुभयो । केपीले चुनाव चाहेका छैनन् नेता जङ्गलीले भन्नुभयो- चुनाव चाहेको भए उनले संसद् भङ्ग गर्ने नै थिएनन्, उनी कुनै शक्तिको इसारामा चलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button