भाइरल बन्दै पोखराका विजय

पोखरा न्यूज । पोखराको पर्यटकीय गन्तव्य लेकसाइडको फुट ट्याकमा गितार बजाउदै गीत गाउदै गरेको अवस्थामा भेटिनुहुन्छ विजय रानाभाट ।

उहाँको घर पोखराको खाल्टे मसिनामा हो । उहाँले फुट ट्याकमा बसेर गितार बजाएर गीत गाउनुहुन्छ । यसरी गीत गाउँदै गर्दा उहाँ धेरैको नजरमा पर्नु भएको छ । सोही कारण उहाँले गरिरहेको कर्म यतिबेला भाइरल समेत बनिरहेको छ ।

प्लस टु पास गरेका उहाँसँग रेष्टुरेन्टमा वेटर काम गरेको अनुभव छ । कोरोना कहर आउनुभन्दा अगाडि रेन्टुरेन्टमा काम गरेर दैनिक खर्च चलाएका उहाँ लकडाउनका कारण काम गर्न पाउनुभएन । यसरी खाली हात बस्दा आम्दानी नभएपछि उहाँले यसरी गीत गाउन थालेको गायक विनोद वाँनियाले जानकारी दिनुभयो ।

‘पछिल्लोपटक लेकसाइडको फुट ट्रयाकमा खाल्टे मसिना घर भएका विजय रानाभाटले गितार बजाएर गीत गाउने गर्नुहुन्छ । कोरोनाका कारण रोजगारी खोसिएपछि काम केही नपाएपछि विकल्पको रुपमा आफ्नो कला देखाउनको लागि त्यसरी उनले गीत गाएका रहेछन्’ वाँनियाले भन्नुभयो । पैसा पनि उठाउने आफ्नो कला समेत देखाउने उद्देश्यले गाउँने गर्दा उहाँलाई सर्पोट गर्ने बढ्दै गएका छन् ।

बाटोमा बसेर सानो स्पीकर राखेर गितार सहित गीत गाउने चलन विदेशतिर बढी हुन्छ । कतिपय कलाकारले एलबमहरु समेत त्यसरीनै बेच्ने गर्छन् । नेपालमा यस्तो कार्य खासै हुने गरेको देखिदैन । हुनत पोखराका विभिन्न चोक तथा टोलमा दृष्टिविहीनहरुले समेत गीत गाएर दैनिक गुजार चलाएको देखिन्छ ।

विजयले प्रयोग गरेको शैली यस अगाडि पोखरामा हुँदै आएको भन्दा अलि फरक छ । सोही कारण उहाँ पोखराबाट भाइरल बन्नु भएको छ । यसैक्रममा विजयको संगीतप्रतिको लगाव तथा मोह देखेर पोखरा म्युजिकल हाउसको प्रोपाइटर सुदीप गुरुङले वाद्यवादनका सामाग्रीहरु साथै मनास्लु गितारबाट पाँच हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । साथै विजयलाई पोखरा म्युजिकल हाउसलेनै एक महिनाको गितार कक्षा समेत लिने अवसर दिने भएको छ । विजय भाईको संगीतमा सहयोग मिलोस् भनेर पोखरा म्युजिकल हाउस तर्फबाट सहयोग गरेको सञ्चालक सुदीप गुरुङले बताउनुभयो ।

मनास्लु गितारको पोखराको अधिकृत बिक्रेता समेत पोखरा म्युजिकल हाउस हो । आम्दानीको विकल्पको रुपमा फुट ट्याकमा बसेर गितार बजाउदै गीत गाउने गरेका विजयको सुखद सांगीतिक यात्रा तथा उनले गरिरहेको कर्ममा थप जोश प्रदान गर्नको लागि आफुहरुले प्रयास गरेको गुरुङले बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button