बागलुङमा माटोमा अम्लीयपन फेला

पोखरा न्यूज । गहुँको राम्रो उत्पादन हुने बागलुङकाे ताराखोला क्षेत्रको माटोमा अम्लीयपन भेटिएको छ । धौलागिरि बहुमुखी क्याम्पस बागलुङको विज्ञान सङ्काय स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीले गरेको अनुसन्धानमा ताराखोला गाउँपालिका–१ माझखर्क क्षेत्रको माटोमा अम्लीयपन बढी फेला परेको हो । माटोमा भएको अम्लीयपनले उत्पादकत्व घटाउछ ।

माझखर्कको खेतबारीको माटोमा चाहिने भन्दा बढी अम्लीयपन फेला परेको अनुसन्धानमा संलग्न विद्यार्थी श्याम गैरेले बताउनुभयो । गैरेले गहुँखेतीको माटोमा चाहिने खाद्यपदार्थ नाइट्राेजन, फसफोरस, पोटासियम, ब्रोन, जिन, विद्युतीय धारको नमूना परीक्षण गर्नुभएको थियो । पिएच स्केलमा माटोको अम्लीय र क्षारीय गुण परीक्षण गर्दा अम्लीयपन ६.४ प्रमाणित भएको थियो ।

‘प्रोजेक्ट वर्क’को रुपमा गैरेले नौ महिना लगाएर माझखर्क क्षेत्रको २० स्थानको माटो परीक्षण गर्नुभएको थियो । परीक्षण भएको माटोमा अर्गानिक तत्व बढी पहिचान भएको छ । उक्त तत्वले बिरुवालाई ठूलो बनाउन सहयोग गर्छ । गैरेका अनुसार उक्त माटोमा जिन र ब्रोन तत्वको मात्र कमी हुँदा बोट ठूलो भए पनि दाना सानो हुने, पहेँलो रोग लाग्नुका साथै फल कुहिने वा झर्न समस्या हुने गर्दछ ।

उक्त क्षेत्रको खेतीयोग्य जमीनमा कृषि चुन र जैविक मलका प्रयोगलाई बढाउनुपर्ने पृथ्वीनारायण क्याम्पस पोखरा रसायन शास्त्र विभागका प्रमुख प्राध्यापक डा एडी मिश्रको सुझाव छ । ‘माटोको नमूना परीक्षणले अम्लीयपनको मात्र बढी देखिन्छ’, उहाँले भन्नुभयोे,“व्यावसायिक उत्पादनका लागि माटो सुधार गर्नुपर्ने सुझाव छ ।” स्थानीय तहको समन्वयमा मोटो, बोटबिरुवा, खनिज, ढुङ्गा, पहाडी चट्टान, दूध, तेल, पानीको विषयमा पनि अनुसन्धान गर्न उहाँले आग्रह गर्नुभयो ।

धौलागिरि बहुमुखी क्याम्पसले विज्ञान विषयमा स्नातक तह कक्ष सञ्चालन गरेपछि पहिलो पटक ‘रिसर्च बेस’ अध्ययन भएको क्याम्पस प्रमुख प्राध्यापक डा रामप्रसाद उपाध्याले बताउनुभयो । ‘सीमित स्रोत साधनकाबीच पहिलो पटक सैद्धान्तिक ज्ञानलाई व्यावहारिक बनाउने कोशिस भएको छ’ उहाँले भन्नुभो,“स्थानीय तहले सहयोग गरेको खण्डमा अन्य क्षेत्रमा पनि अनुसन्धान गर्न सकिन्छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button