चलचित्र ‘सत्यम’को पोखरा अडिशन माघ २३ गते हुने

पोखरा न्यूज । निर्माण हुन लागेको नेपाली चलचित्र ‘सत्यम’ को लागि केही कलाकार अडिसन मार्फत छान्न निर्माण युनिट कस्सिएको छ । अडिशनबाट दुई मूख्य पुरुष तथा दुई मूख्य महिला कलाकारसहित अन्य २२ कलाकार छान्ने निर्माण पक्षको तयारी हो । यसरी कलाकार छनोट गर्नका लागि देशका विभिन्न ठाउँमा अडिशन हुँदैछ ।

यही क्रममा पोखरा अडिसन माघ २३ गते शुक्रबार हुने तय भएको छ । पोखराको बगालेटोलमा रहेको हिमाल कलेज अफ मेनेज्मेन्टमा अडिशन हुने चलचित्रका लेखक समेत रहनुभएका निर्माता रेशम सापकोटाले जानकारी दिनुभयो । अडिशनमा सहभागी हुन चलचित्र निर्माता कम्पनी नवयुग सिनेमा प्रालिको इमेल ठेगानामा आफ्नो सम्पर्क नम्बरसहित प्रोफाईल तथा शोरिल पठाउनुपर्नेछ ।

यदि सम्भव नभएमा शुक्रबार बिहान सिधै हिमाल कलेजमा अडिशनको लागि आउन सक्ने सापकोटाको भनाई छ । ‘चलचित्रमा अभिनय गर्न चाहने पोखरा आसपासका प्रतिभा पोखरा अडिशनमा सहभागी बन्न सक्नुहुनेछ’ सापकोटाले भन्नुभयो । अडिशन समय बिहान ११ बजेबाट दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ । चलचित्रका निर्देशक, निर्माता तथा प्राविधिक प्रत्यक्ष रुपमा उपस्थित भै अडिशन मार्फत कलाकार छनोट गर्नेछन् । आफूहरुलले खोजेको जस्तै कलाकार पोखरामा भेटिने उनीहरुको अपेक्षा छ ।

सत्यममा अभिनय गर्ने कलाकारको खोजी गर्ने कार्य अन्र्तगत काठमाण्डौमा माघ १९ गते सोमबार अडिसन भयो । यसैगरी बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिशन हुने निर्माता सापकोटाले बताउनुभयो । सत्यम चलचित्रमा राजेश हमाल, अनुपविक्रम शाही, पल शाह, उपासना सिंह ठकुरीसहितका कलाकार रहने फिक्स भइसकेको निर्माण पक्षले जनायो । यो चलचित्र ३ करोड ५० लाख भन्दा बढीको लगानीमा निर्माण हुने निर्माण पक्षको अनुमान छ । पोखरासहित गण्डकी प्रदेशमा ७० प्रतिशत छायाकंन गरिनेछ । यसैगरी १५ प्रतिशत छायाकंन तराईमा, काठमाण्डौं ९ प्रतिशत र हिमाली भेगमा ६ प्रतिशत छायाकंन हुनेछ ।

शंकर कार्कीले निर्देशन गर्ने ‘सत्यम’लाई रेशम सापकोटाले लेख्नुभएको हो । निर्मातासमेत सापकोटा नै रहेको चलचित्रको एशोसियट निर्मातामा श्याम मल्ल र गणेश पौडेल हुनुहुन्छ । यसैगरी सह निर्मातामा रेशम गौतम र कृष्ण अधिकारी हुनुहुन्छ । चलचित्रमा संगीत योगेश काजीको हुनेछ । यसैगरी कुटुम्ब ब्याण्डको थिम संगीत तथा ब्याकग्राउण्ड स्कार तथा गणेश पौडेलले सहायक संगीत श्रृजना चलचित्रमा रहनेछ । चलचित्रमा समावेश हुने दुई गीत रेशम सापकोटा र बिष्णु निरिशले गर्नुभएको छ ।

चलचित्रको डिओपीमा बिदुर पाण्डे ‘नवीन’, प्रोडक्शन हेड दिनेश प्रकाश महरा, प्रोडक्शन म्यानेजर प्रकाश हमाल, एशोसियट निर्देशक सुबास सुबेदी हनुहुन्छ । यसैगरी सह निर्देशकहरु राम कुमार श्रेष्ठ र शान्ती तामाङ रहनुभएको छ । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्टमान महर्जनको द्वन्द्व चलचित्रमा रहनेछ । हालै चलचित्रको स्केच सहितको पोष्टर सार्वजनिक भएको थियो । स्केच पोईन्टब्रेक मिडियाले बनाएको हो भने पोस्टर विजय बस्यालले तयार पार्नु भएको हो । चलचित्रको छायाकंन चैत्रको पहिलो हप्ताबाट शुरु हुने जानकारी निर्माता सापकोटाले दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button