विदेशी सिनेमा भन्दा नेपाली सिनेमाको टिकट सस्तो हुनुपर्छ : दीपकराज गिरी

नेपाली सिनेमा बजार चल्न बलिउड राम्रोसँग खुल्नुपर्छ

पोखरा न्यूज । अभिनेता दीपकराज गिरी विदेशी सिनेमा र नेपाली सिनेमाको टिकटको मूल्य एउटै हुन नहुने बताउनुहुन्छ । विदेशी सिनेमा भन्दा नेपाली सिनेमा कम्तिमा एकसय रुपैयाँ सस्तोमा नेपालमा हेर्न पाउनुपर्नेमा उहाँको जोड छ ।

‘नेपाली सिनेमा हेर्ने दर्शकले पनि २ सय रुपैयाँ, ३ सय रुपैयाँ तिनुपर्छ, अर्बौ रुपैयाँमा बनेका विदेशी सिनेमा समेत त्यही पैसामा हेर्न पाइन्छ । मलाई लाग्छ संसारमा यस्तो एकदमै कम मुलुकमा हुन्छ जुन नेपालमा हुन्छ’ कास्कीको घान्द्रुकमा भेटिनुभएका गिरीले भन्नुभयो ।

कमसेकम हलमा जाने मानिसले नेपाली सिनेमा एकसय रुपैयाँ कम शुल्कमा हेर्न पाउनुपर्ने उहाँ बताउनुहुन्छ । गिरी भन्नुहुन्छ –‘बरु विदशी सिनेमालाई एकसय रुपैयाँ बढी ट्याक्स लगाइदिनुहोस् । यसरी प्राप्त ट्याक्स मध्ये ५० रुपैयाँ विकास निर्माणमा र ५० रुपैयाँ कलाकार प्राविधिकसहित फिल्म क्षेत्रमा काम गर्नेको लागि एउटा कोष बनाइदिनुहोस् । विरामी पर्दा उपचार हुन्छ । राम्रो काममा प्रयोग हुन्छ । अर्को कुरा हलमा जाँदा ए नेपाली सिनेमा हेरौन पैसा पनि कम छ भन्ने दर्शकलाई हुन्छ । किनकी टिकटको मूल्यलेसमेत दर्शकको मानसिकतामा फरक पार्छ ।’

कुनैपनि विदेशी उत्पादन यहाँ आएपछाडि महंगो हुने भएपनि सिनेमा मात्र यस्तो चिज रहेछ जुन त्यहाँबाट यहाँ आउँदा टिकटको मुल्य उहीं छ । उताबाट आएका बिग बजेटका सिनेमा र यहीँ उत्पादन भएको सिनेमाको टिकटको मूल्य उहीं भएको कारण दर्शकको रोजाईमा विदेशी सिनेमापर्ने गरेको उहाँको बुझाई छ । यो विषयमा पटक–पटक कुरा उठाएकोे सिनेमा निर्माता समेत रहनुभएका गिरीको भनाई थियो । कोरोनाका कारण ठप्प भएको सिनेमा बजार पुरानै अवस्थामा फर्कन हलिउड र बलिउडका सिनेमा प्रर्दशनमा आउनुपर्ने उहाँले बताउनुभयो ।

‘जबसम्म भारतीय सिनेमा तथा हलिउडका सिनेमा आउँदैनन् तबसम्म नेपालका हलमा दर्शकको सहभागिता राम्रो हुन सक्दैन । किनभने हलमा सामाग्री उपलब्ध गराउनेमा बलिउड सिनेमा अगाडि छन् । त्यसपछि नेपाली सिनेमा अनि बल्ल हलिउडका सिनेमा छन् ।’ उहाँले भन्नुभयो ।

सिनेमा हललाई कन्टेन उपलब्ध गराउने बलिउड हो । बलिउड जबसम्म राम्रोसँग खुल्दैन, तबसम्म हाम्रो सिनेमा भवन राम्रोसँग चल्न सक्दैन । सोही कारण नेपाली सिनेमा बजार चल्नको लागि बलिउड राम्रोसँग खुल्नुपर्छ । हामीले बनाउने सिनेमा नेपाली भएपनि नेपाली सिनेमा विदेशी सिनेमाको उपस्थिति बिना धान्न गाह्रो हुनेछ । ‘हामी गोलभँेडा, प्याज, काहुली, अन्डा त उताबाट नआइकन यताको उत्पादनले पुग्दैन भनेपछि सिनेमा झन कसरी पुग्न सक्छ’ ? उहाँको प्रश्न छ ।

आफ्नो समुहबाट कहिले सिनेमा पस्कने भन्ने तय भइनसकेको उहाँले खुलाउनुभयो । यतिबेला आफूले स्क्रिफ्टमा काम गरिरहेको बताउनुभएका उहाँले छक्का पञ्जाको सिरिज आउनुभन्दा अगाडि अरु सिनेमामा काम गर्नसक्ने संकेत गर्नुभयो । ‘छ माया छपक्कैको सिरिजको सोच आइरहेको छ । बाहिरका एक दूईवटा स्क्रिफ्टहरु पढिरहेको छु’ उहाँले भन्नुभयो । सिनेमाले जनताको मनको कुरा बोलोस्, समाजको कुरा बोलोस् भनेर त्यस्तो खालको सिनेमा गर्ने प्रयासका साथ स्क्रिफ्ट हेरिरहेको गिरीले बताउनुभयो ।

उहाँ सिनेमा निर्माण भनेको सजिलो विषय नभएको बताउनुहुन्छ । यति समयमा तयार हुन्छ भन्ने ठ्याक्कै थाहा पनि हुँदैन । कहिलेकाही स्क्रिफ्ट बन्छ कतिलाई चित्त बुझ्दैन । कहिलेकाही सिनेमा खिचिन्छ आफैलाई चित्त बुझ्दैन । देशको अवस्थामा आएको परिवर्तले समेत दर्शकलाई हलमा आउन समस्या हुन्छ । विदा हेर्नुपर्ने, क्यालेन्डर हेर्नुपर्ने हुन्छ । छिटोमा आफ्नो समुहबाट सिनेमा निर्माण हुन एक वर्ष लाग्ने उहाँले बताउनुभयो । दर्शकहरुले नेपाली सिनेमाका कमजोरी पचाएर सिनेमा हेर्ने गरेको र आफूहरुले कमी कमजोरी सुधार गर्ने प्रयास सधै गरिरहेको उहाँको दावी छ ।

अभिनेता गिरी थानकोट नजिकै चन्द्रागिरी नगरपालिका दहचोकमा सामान्य किसान परिवारमा जन्मनुभएको हो । बच्चादेखिनै उहाँलाई सिनेमामा हिरो बन्ने रहर थियो । सोही कारण सिनेमा धेरै हेर्नुहुन्थ्यो । उहाँको बुबा जागिरे हुनुहन्थ्यो कृषि विकास बैकमा । उहाँलाई हजुरबुबाले धेरै माया गर्नुहुन्थ्यो । आफ्नो परिवारमा कलाकार भने कोही नभएको उहाँले बताउनुभयो । ‘मेरो परिवारमा मामाघर, आमाघर कहिपनि कलाकार छैनन्, तर मलाई भगवानले यो प्रतिभा दिनुभयो र आज यहाँसम्म आइपुगे’ विगत सम्झदै उहाँले भन्नुभयो । मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मनपर्ने अभिनेता भएको बताउने गिरीलाई मनपर्ने नेपाली सिनेमा सिन्दुर हो । उहाँलाई अध्ययनमा भन्दा सिनेमा हेर्नमानै बढी जाँगर चल्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button