संचारकर्मीकै कारण चारैतिर चिनिए : संस्कृतिकर्मी बुद्धिमान दुरा ‘धम्पु’

हाजिरजवाफको ठाउँमा ठाडो भाका राख्न सके जर्गेना हुने थियो

पोखरा न्यूज । संस्कृतिकर्मी बुद्धिमान दुरा ‘धम्पु’को जन्म २०१२ सालमा लमजुङ दुराडाँडा ठुलास्वाँरामा भएको हो । बुबा टंकबहादुर दुरा, आमा बालु दुराको जेठो सन्तानको रुपमा उहाँको जन्म भएको थियो । उहाँले १२ वर्षको उमेरमा बाबा गुमाउनुभयो । उहाँकी आमाको निधन भने ७ वर्ष अगाडि भएको हो । धम्पुको तीन दिदी बहिनी, एक भाइ हुनुहुन्थ्यो ।

गरिब परिवारमा जन्म भएकोले उहाँको बाल्यकाल सुखद थिएन । उहाँहरु गोठमानै बस्ने गर्नुृहुन्थ्यो । गोठमानै हुर्कनुभयो । बाबाको निधन भएपछि उहाँको परिवारलाई बेस्सरी गाह्रो भयो । ठुलो छोरा भएकोले धेरै जिम्मेवारी धम्पुको काँधमा थियो ।

परिवार पाल्न आमाले निकै दुःख गर्नुपर्यो । आमाले गरेको दुःखलाई उहाँ यसरी सम्झनुहुन्छ –‘चैत्र बैशाखकको समय थियो, एक रात आमा हराउनुभयो, अनि चारैतिर खोजे, आमा त राति १ बजे बारीमा गएर कोदालो खन्दै हुनुहँुदो रहेछ, किन आएको यति राति आमा भनेर सोधे, आमाले निन्द्रा लागेन अनि मकै गोडौ भनेर आएको भन्ने जवाफ फर्काउनुभयो । हामीले पनि कोदालो समायौ र रातिनै मकै गोड्यौ ।’आमाले सधै कसैमाथि रिस नगर भन्ने गरेको धम्पु बताउनुहुन्छ । ‘आमाले अरुको रिस नगर, आफ्नो पाखुरामा रिस गर भन्नुहुन्थ्यो’ उहाँले भन्नुभयो ।

त्यतिबेला गाउँमा लाहुरे हुने खोज्ने चलन थियो । लाहुरे हुने रहर उहाँको मनमा समेत आयो । लाहुरे हुने लोभमा उहाँले नामको पछाडि थर गुरुङ लेख्नुभयो । विडम्बना लाहुरे हुन जाँदा उहाँ छनोट हुन सक्नु भएन । उचाई नपुग्दा फालिनुपर्यो । धेरै चिन्तित बन्नुभयो । रुनुभयो । मेसमा भाडा धुने काम पाउनुभयो । काम गर्दै जाँदा विश्वास जित्न सकेकोले बेलायतको कर्नेल जेपी (जोन फिलीप) क्रसले धर्मछोरो बनाउनुभयो । धर्मछोरो बनाएपछि जेपीसँग लामो यात्रा धम्पुले गर्नुभयो । उहाँसँग यात्रा गरेको अहिले ४५ वर्ष भयो ।
लाहुरे हुन भनेर २०३२ सालमा पोखरामा आएका धम्पु २०३५ सालमा बस्नेगरीनै पोखरामा आउनुभयो ।

जेपीलेनै धर्म छोरा बनाएकोले उहाँसँग बृटिस क्याम्पमा बस्न तथा हङकङ जान धम्पुलाई सहज बनेको थियो । २०३९ सालमा हरियोखर्कमा घरसहित ३ रोपनी जग्गा किनेर उहाँ बस्न थाल्नुभयो । विभिन्न कारणले उहाँले आफ्नो पढाइलाई अगाडि बढाउन सक्नु भएको थिएन । उहाँमा पढ्ने चाहना भयो । २०४३ सालमा प्रवेशिका उत्रिर्ण हुनुभयो । त्यसपछि उहाँ पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रमाणपत्र तहमा भर्ना हुनुभयो । त्यतिबेला उहाँका ४ जना छोराछोरी भैसकेका थिए । अब आफू पढ्ने की छोराछोरी भन्ने भयो । अनि छोराछोरी पढाउन कस्सिनुभयो । पछि दुई सन्तानको जन्म भयो ।

धम्पु बेलायतमा हुँदा श्रीमतीको स्वास्थ्यमा समस्या आयो । श्रीमती नेपालमानै हुनुहुन्थ्यो । धम्पु नेपाल फर्कनुभयो । श्रीमतीलाई अस्पताल लगियो । अवस्था जटिल थियो । अप्रेसन गर्नुपर्ने भयो । डाक्टरले यसै भन्न सकिन्न जे पनि हुन सक्छ के गरौ भने । धम्पुले मन दरो पारेर उपचार गर्नु भन्नुभयो । धम्पुको मनमा विभिन्न प्रश्न खेल्थे । श्रीमतीको सफल उपचार भयो । श्रीमतीको आवाज सुन्दा भक्कानो फुट्यो । मनमा खुसी पनि छायो । त्यसदिनको भोलिपल्टबाट किन नहाँस्ने, किन नगाउने भन्ने उहाँको मनमा आयो । अनि गीत गाउन तथा गीत लेख्न थालेको धम्पुले सुनाउनुभयो ।

हुन त उहाँले गाउँमा छँदा गीत गाउनुहुन्थ्यो । पछि गरीब परिवारमा जन्मेका र दुःख पाउने भएपछि उहाँ छोरी मानिसको नजिकसमेत जान उहाँले छोड्नु भएको थियो । पछि परिवार राम्रो हुँदै गयो । उहाँले गीत गाउन थाल्नुभयो । जुन क्रम अहिले निरन्तर अगाडि बढेको छ ।उहाँलाई धर्मछोरा बनाउने बेलायती सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट जेपी क्रस ९७ वर्षको हुनुभयो । जेपीले नेपाली नागरिकता पाइसक्नुभएको छ ।

रमाइलो कुरा के छ भने धम्पुले त्यतिकै गीत गुनगुनाउदै गर्दा केश गुरुङले रेर्कडरमा रेर्कड गर्नु भएको रहेछ । पछि त्यो गीत सुनाए । र, गाउन हौसाए । गीत रेर्कड हुनमा केश गुरुङ तथा छवि सुवेदीको हात थियो । किनकी त्यतिबेला गीत रेकर्ड गर्ने आइडिया उहाँलाई थिएन । यस्तो गीत कसले सुन्लान भन्ने हुन्थ्यो ।त्यसोत कल्याण शेरचनले तिमीमा सोरठी र घाटुको धेरै ज्ञान छ गीत गाउ भनेपछि गीत रेर्कड गर्न थप उर्जा मिलेको धम्पु बताउनुहुन्छ । उहाँको पहिलो गीत २०६१ सालमा रेकर्ड भएको हो । यो ठाडो भाकानै हो । रेकर्ड गरेको केही वर्षपछि छायाकंन गरियो ।

गीत रेकर्ड भएपछि क्यासेट बनाएर पोखराकै एक वितरककोमा लगियो । तर वितरकले रेसपोन्स राम्रो गरेन । डुम्रे, बेँसीशहर लगायतका ठाउँमा क्यासेट बेच्न राखे खासै बिक्री भएन । मनमा निरासा छायो । नहुने रहेछ भन्ने भयो । तर सञ्चार माध्यमले उहाँको गीत र उहाँको यात्राको बारेमा सामाग्रीहरु प्रसारण गर्न थाले । यसरी प्रचार हुँदा उहाँको खोजी झनै बढ्न थाल्यो । अनि धेरै माझ चिनन पुग्नुभयो । सञ्चारकर्मीकै कारण आफू आज ठाडो भाकाको सर्जकको रुपमा चिनिन सफल भएको उहाँ बताउनुहुन्छ । ‘सञ्चारकर्मीकै कारण म चारैतिर चिनिए’ उहाँले भन्नुभयो ।

धम्पुका अहिलेसम्म १९ वटा गीत रेर्कड भए । यसमा धेरै त ठाढो भाका नै छन् । असारे गीत, दाँई गीत, फागु गीत सहितका मौसमी गीतहरुका कारण समेत उहाँलाई धेरैले चिनेका छन् । उहाँको विभिन्न ठाउँको प्रमोसन गर्ने गीत समेत छन् । आँधीखोले झ्याउरे गीत उहाँले गाउनुभएको छ । उहाँका केही गीत छायाकंनको क्रममा छन् । यसका अलावा केही गीत रेर्कड गर्ने तयारी उहाँको छ ।
बाल्यकालदेखिनै सोरठी घाटुलाई नियाल्दै उहाँ हुर्कनुभयो । सोही कारण उहाँमा सोरठी घाटुको राम्रो ज्ञान छ । ७ वर्ष देखिनै उहाँ गाउने नाच्ने गर्नुहुन्थ्यो । १५ वर्षको हुँदा राम्रो मादल बजाउने कला उहाँमा थियो । गाउने नाच्ने गर्दै हुर्किएको पनि त्यसपछ केही समय भने पारिवारिक जिम्मेवारीका कारण गीतसंगीत भन्दा टाढा रहनुभयो ।

राग तालहरुलाई संरक्षण गर्ने उहाँको धोको छ । उहाँको हात, मुख, मन, खुट्टा बराबर चल्ने विशेषता उहाँमा छ । ‘कसैको गीत गाउँदा मादल चल्दैन, मादल बजाउदा गीत चल्दैन तर मेरो हात, मुख, मन, खुट्टा बराबर चल्छ, सायद यो भगवानको देन हो’ उहाँले भन्नुभयो ।
गीत मार्फत आफूलाई थाहा भएको लोक कथालाई समेट्ने गरेको उहाँले बताउनुभयो । अब आफुलाई ज्ञान भएका गीतसँगै राग ताल पस्कने उहाँको तयारी छ ।

रातभरि बस्नुपर्ने समयमा ठाडो भाका गाउने गरेको उहाँ सम्झनुहुन्छ । धेरै मानिसको बीचमा छोरा मानिसले औला ठाडो पारेर गीत गाउने छोप्ने चलन थियो । बीचमा २०–२५ वर्ष हरायो । रोधी पनि टुट्यो । संस्कार पनि टुट्यो । हामी परदेश गयौ । ‘भेडीखर्क साइलो दाइले नाच्न नसकेपनि बसेर भएनी गाउनुभयो । जर्गेना गर्नुभयो । देउवबहादुर दुरा पछि पञ्चसुब्बा गुरुङ, पञ्चसुब्बा गुरुङपछि मनिराम दुरा, मनिराम दुरा पछि दीर्घराज अधिकारी भेडीखर्क साइला, त्यसपछि गाउँमा थुप्रैै छन् । मैले मौका पाए गीत गाउन थाले नाच्न थाले । गीत गाउने मानिसलाई धोको कहिल्यै पुग्दैन’ उहाँले भन्नुभयो ।

गीत संगीतका कारण धेरैलाई भुल्ने बाटो भएको छ । रमाउने माध्यम गीतसंगीत भएको छ । गीतसंगीतका कारण केही हदसम्म समाजलाई विकृतिबाट जोगाउन सफल भएको छ ।अब समय सान्दर्भीक रुपमा गीत गाउन प्रोत्साहन गरेर ठाडो भाका जगेर्ना गर्नुपर्ने उहाँ बताउनुहुन्छ । स्कूलमा शुक्रबार हाजिरजवाफ को ठाउँमा ठाडो भाका राखिदिन सके यसको जर्गेना हुने विश्वास उहाँको छ ।
गाउँमा छँदा प्रायःजसो प्रत्यक्ष गीत गाउने गरेको उहाँ सुनाउनुहुन्छ । ठाडो भाका परिस्थिति अुनसार गाउने गीत हो । लाइभ गाउँदा आफूलाई जोश आँउने उहाँको भनाई छ ।

ठाडो भाका लमजुङ, गोरखा, तनहूँ, कास्की तथा स्याङजा जिल्लामा बढी प्रचलित छ । पछिल्लो समयमा बुद्धिमान दुरा धम्पु, हस्तमाया दुरा, उत्तम गुरुङ, नन्दमाया दुरा, सीता दुरा, पदमदेवी दुरा, शिवकुमारी दुरा, कृष्ण गुरुङ, हरिमाया गुरुङ आदि ठाडो भाका संरक्षणमा लाग्नुभएको छ ।शुरुवातमा पुरुषले मात्र गीत गाउने गरेपनि देउबहादुर दुराले त्यो ट्रेन चेञ्ज गरेको धम्पुले बताउनुभयो । त्यसपछि महिलाले समेत ठाडो भाका गाउन थाले । अहिले ठाडो भाका गीतमा सक्रिय हुनेहरु पुरुष मात्र नभएर महिलाहरुसमेत उतिकै भएको उहाँले सुनाउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button