गुरुङ फिल्मका निर्माता तयार नहुँदा जिफानको योजना प्रभावित

हामीले सिस्टम देखाइदिएको हो, टिकटनै बेच्न त सक्दैनौः अध्यक्ष भोज

पोखरा न्यूज सम्वाददाता । गुरुङ फिल्म एशोशिएसन नेपाल (जिफान)ले हलमा नियमित फिल्म प्रर्दशन गर्ने गरी बनाएको योजना प्रभावित भएको छ । फिल्मका निर्माता फिल्म प्रर्दशन गर्न तयार नभएपछि योजना प्रभावित भएको हो । जिफानले आगामी असारसम्मको लागि हरेक हप्ताको शुक्रबार र शनिबार गरेर हप्तामा दुई दिन फिल्म प्रर्दशन गर्ने तयारी गरेको थियो ।

प्रर्दशनका लागि कुल २० वटा गुरुङ फिल्म छनोट समेत भएका थिए । जसमध्ये तमु फिल्मस् प्रालिको ब्यानरमा जसु गुरुङले निर्देशन गरेको फिल्म ‘कर्म क्याँ’ प्रदर्शन भइसक्यो । निर्माता तयार नहुँदा गत हप्ता फिल्म प्रर्दशन हुन सकेनन् । यो हप्ता शनिबार दिउँसो १ बजे पुरानो फिल्म ‘रिजे नासा’ प्रर्दशन हुनेछ । प्रितम गुरुङ निर्देशनमा बेब्स क्रियेशन प्रालिको ब्यानरमा यो फिल्म निर्माण भएको हो । यस अगाडि यो फिल्मको कुल चार सो हुने भनिए पनि अहिले आएर एक सो मात्रै देखाउने तय भएको हो । फिल्म मिडटाउन ग्यालरीयामा प्रर्दशन हुनेछ ।

हुनत जिफानले गुरुङ फिल्मका निर्मातासँग बसेर सल्लाह गरेर नै सेड्युल बनाएको थियो । यसरी बनाइएको सेड्युल पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो । निर्माताले सेड्युलबाट फिल्म झिकिदिदाँ जिफानको प्रयासमा समस्या भएको छ । ५ हजार, १० हजार रुपैयाँ उठाएर फिल्म देखाउने बानी भएकोले हलमा फिल्म देखाउँदा घाटा देखेकोले यस्तो अवस्था आएको गुरुङ फिल्म एशोशिएसन नेपाल (जिफान)का अध्यक्ष भोजबहादुर गुरुङ बताउनुहुन्छ ।

यतिबेला निर्माता फिल्म प्रर्दशन गर्न हिचकिचाउदाँ जिफानको लक्ष्यमा समस्या हुने देखिएको छ । जिफान अध्यक्ष भोज निर्माताहरुलाई हलमा नियमित फिल्म प्रर्दशन गर्न पुनः सम्झाउने बताउनुहुन्छ । ‘हामी पुनः प्रयास गर्छौ, केही निर्माता फिल्म हलमा प्रर्दशन गर्न डराउनु भएको छ, विस्तारै माहोल बन्नेछ, त्यसपछि सबैजना हलमा फिल्म प्रर्दशन गर्न तयार हुनुहुनेछ’ उहाँले भन्नुभयो ।

जिफानले सिस्टम देखाइदिने मात्र भएपनि निर्माताहरुले टिकट नै बेचिदिए हुन्थ्यो जस्तो गर्न थालेको उहाँको गुनासो छ । ‘हामीले सिस्टम देखाइदिएको हो, बाटो देखाइदिएको हो, टिकटनै बेच्न त सक्दैनौ’ उहाँले भन्नुभयो । जिफानको गुरुङ फिल्मलाई समुदायमा मात्र सिमित नराखी सबैलाई देखाउ भन्ने कन्सेप्ट उपयुक्त भएको उहाँको दावी छ । निर्माताहरु सुरुमा हिचकिचाए पनि पछि आउने उहाँको विश्वास छ ।

नयाँ तथा पुराना फिल्म समावेश गरेर सेड्युल बनाइएको भएपनि नयाँ फिल्म प्रर्दशन गर्न तयार नभएको र पुराना फिल्मले समेत ‘सो’ संख्या घटाएको उहाँको भनाई छ । विगतमा केही गुरुङ फिल्मले हलबाट नै राम्रो आम्दानी गरेको दृष्टान्त बताउदै उहाँले शुरुमा हामफाल्न डराएपनि पछि निर्माताले बुझ्ने आशा व्यक्त गर्नुभयो । दर्शक तथा गुरुङ फिल्मकर्मीलाई बानी पार्न आफूहरुले अहिले फिल्म हलमा प्रर्दशन गर्न खोजेको उहाँले खुलाउनुभयो ।
नेपाली फिल्मझै गुरुङ फिल्म नियमित हलमा प्रर्दशन गर्नको लागि गुरुङ फिल्म एशोशिएसन नेपाल र पोखरा सभागृहचोकमा रहेको मिडटाउन ग्यालरीयावीच सम्झौता भएको थियो । दर्शकको आर्कषण बढे अन्य हलमा समेत गुरुङ फिल्म प्रर्दशन गर्ने जिफानको तयारी थियो । निर्माता तयार नभएपछि योजना कार्यान्वयनमा समस्या भएको छ ।

यसअगाडि गुरुङ फिल्म च्यारिटी सोको रुपमा फाट्टफुट्ट हलमा प्रर्दशन गरिएपनि अधिकांश फिल्म समाजघर, पार्टी प्यालेसमा प्रर्दशन गरिन्थ्यो । त्यसरी फिल्म देखाउँदा घर–दैलोमा नै पुगेर टिकट बेचिन्छ । टिकट दर समेत महंगो हुने गर्छ । टिकट महंगो हुँदा सामान्य दर्शकले यसरी प्रर्दशन गरिने फिल्म हेर्न सक्दैनन् । सोही कारण जिफानले ‘घरदैलोमा टिकट किनेर हैन, चलचित्र हलमा गएर सहयोग गरौ’ भन्दै अभियान सुरु गरेको थियो । जिफानको अभियान चलिरहँदा केही फिल्म पार्टी प्यालेसमा नै प्रर्दशन गर्ने तयारी गरिएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button