सामुहिक लोकनृत्य र एकल गायन प्रतियोगिताको फाइनल शुक्रबार हुँदै

पोखरा न्यूज सम्वाददाता । गण्डकी प्रदेश स्तरीय सामुहिक लोकनृत्य तथा एकल गायन प्रतियोगिताको फाइनल चैत्र १३ गते शुक्रबार हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको हल गैह्रापाटनमा विहान साढे ११ बजेबाट सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष पदमराज ढकालले पोखरा न्यूजलाई जानकारी दिनुभयो ।

उपाधिका लागि सामुहिक लोक नृत्य तर्फ १२ टिम र एकल गायन तर्फ १२ जना प्रतियोगीकाबीच प्रतिष्पर्धा हुनेछ ।  लोक नृत्य तर्फ फाइनलमा पुग्नेमा नवलपुर कावासोतीबाट थारु नृत्य, लमजुङ सिउरुङ गाउँबाट झ्याउरे नृत्य, कास्की सिक्लेस पार्चेबाट रोधी नृत्य, गोर्खाको उत्तरी धार्चेबाट मकै बिबाह नृत्य, बिटुडि डान्स स्कुल कास्कीबाट झ्याउरे, पोखराबाट नेवाःल्याम्ह पुच बाट ताया मचा नृत्य, नेपाल बिद्यार्थी संघ तनहुँबाट कौह्रा, बाग्लुङ नगरपालिका वडा नम्बर ८ बाट सालैजो नृत्य, पर्वत जिल्लाको गोपाल योन्जन कला प्रतिस्ठानबाट झ्याउरे नृत्य, म्याग्दीको लालीगुँरास पुन मगर समाजबाट थाली नृत्य, मार्फा थकाली सदन मुस्ताङबाट थकाली नृत्य र स्याङ्जा कोल्मा बहाकोटबाट झोरा नृत्य रहेको छ ।

गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी बनेका २३ टिम मध्येबाट उत्कृष्ट १२ टिम छनोट गरिएको नृत्य प्रतियोगिताका संयोजक गोरे गुरुङले पोखरा न्यूजलाई जानकारी दिनुभयो ।
सामूहिक लोकनृत्य प्रतियोगितालाई भव्य बनाउन गोरे गुरुङको संयोजकत्वमा उपसमिति चयन गरिएको थियो । जसको सह–संयोजकमा जसु गुरुङ रहनुभएको छ । यसैगरी सदस्यहरुमा खिम कुमार गुरुङ, कृष्णप्रसाद भन्डारी, गजेन्द्र गुरुङ, लोक बहादुर गुरुङ, पशुपति गुप्ता, जुना क्षेत्री, सुकु हिराचन र शारदा भट्टराई हुनुहुन्छ ।

नृत्य तर्फको विजेता टिमले एक लाख रुपैयाँ नगदको साथमा प्रमाण पत्र र ट्रफी हात पार्नेछ । यसैगरी द्वितीय हुनेले पचास हजार र तृतीय हुने टिमले पच्चीस हजार रुपैयाँको साथमा प्रमाणपत्र र ट्रफी पाउनेछन् । यसका अलावा फाइनलिष्ट सबै टिमलाई नगद पाँच हजारको साथमा प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैगरी एकल गायन प्रतियोगिताकोे फाइनल पुग्नेमा जीवन बिश्वकर्मा बागलुङ, राम घर्तिमिरे म्याग्दी, बिजेश नेपाली कास्की, अमन सुबेदी बाग्लुङ, योगेश गौतम स्याङ्जा, शान्त सुनार बागलुङ, कुसुम पुन मगर बागलुङ, अरुण सुनार पर्वत, सरिता राई कास्की, उपेश थापा कास्की, निर्मल बि.क बागलुङ र संगीता गायक कास्की रहनुभएको छ ।

पोखरा तथा बागलुङमा भएका दूई छुट्टाछुट्टै अडिसन मार्फत छानिएका २८ जना प्रतियोगी मध्येबिच भएको प्रतिष्पर्धामा अब्बल बन्दै ती प्रतिभा उत्कृष्ट १२ मा छानिएको खुल्ला एकल गायन प्रतियोगिताको सह–संयोजकमा सुमन श्रापितले जानकारी दिनुभयो । पोखरा तथा बागलुङमा भएको अडिसनमा कुल ८१ जना नवप्रतिभाले सहभागीता जनाएका थिए ।
खुल्ला एकल गायन प्रतियोगिताको संयोजकमा नवराज बराल रहनुभएको थियो । सदस्यमा लक्ष्मी गिरी, पिङ्गला भट्ट, श्यामलाल श्रेष्ठ, पृथ्वी भुजेल, मन सुरागम, सुनिल बराल, रामजी पौडेल, सुर्य घतानी, सानु जोजिजू हुनुहुन्छ ।

गायन तर्फ उपाधि जित्नेले पचास हजार रुपैयाँ सहित प्रमाण पत्र र ट्रफी हात पार्नेछ । यसैगरी द्वितीयलाई पच्चीस हजार, तृतीयलाई पन्ध्र हजार र सान्त्वनालाई सात हजार पाँच सय रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिनेछ।

गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालयसँगको सहकार्यमा कार्यक्रम आयोजना भएको हो । सप्तरंगी सास्कृतिक प्रतिष्ठान नेपाल २०६४ सालमा दर्ता भएको संस्था हो । यसले कलाकार उपचार कोष मुद्धती खाता सञ्चालन गरेको छ । त्यसबाट विरामी हुँदा आर्थिक अभावका कारण उपचार गर्न असमर्थ हुने कलाकारलाई मुद्धती कोषबाट आएको व्याजबाट सहयोग गरिने गरिएको छ । प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्धेश्य यही कोषको रकमलाई बढाउने रहेको अध्यक्ष ढकालले खुलाउनुभयो ।

फाइनल कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गर्ने तय भएको आयोजकको भनाई छ । यसअगाडि चैत्र ७ गते फाइनल प्रतिष्पर्धाको कार्यक्रम गरिने भनिएपनि विशेषकारणवश चैत्र १३ गते फाइनल प्रतिष्पर्धा सहितको कार्यक्रम गर्न लागिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button