चीनको ग्रेटवालको झल्को दिने बन्दीपुरको मिनी ग्रेटवालमा पर्यटक

पोखरा न्यूज  । विश्वकै प्रसिद्ध चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन रहेको  ‘मिनी ग्रेटवाल’ भ्रमणको लागि आन्तरीक पर्यटकहरु पुग्न थालेका छन् ।

नयाँ पर्यटकीय पूर्वाधार मार्फत  पर्यटक आकर्षित गर्न गाउँपालिकाले पदमार्ग पर्खालको निर्माणको  काम शुरु गरेकोमा अहिले विभिन्न व्यक्ति, संघ, संस्था तथा समुदायका प्रतिनिधिहरु व्यक्तिगत तथा सामुहिक रुपमा भ्रमणको लागि आउने गरेको अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दीपुरमा गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट निकासा गरेपछि गत आर्थिक वर्षदेखि पदमार्ग पर्खाल निर्माण शुरु भएको थियो ।  पदमार्ग पर्खाल निर्माणका लागि बजेट अभाव भएकाले सङ्घीय सरकारसँग रु पाँच करोड बजेट माग गरिएकोमा  चार करोड ५५ लाख बजेट निकासी भएको अध्यक्ष  थापाले  जानकारी बताउनुभयो ।

पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका अनुसार स्थानीय तहले रु दुई करोड ४५ लाख व्यहोर्नुपर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बजेट विनियोजन गरेको हो । सङ्घीय सरकारबाट प्राथमिकतामा परी बजेट निकासी भएपछि निर्माणकार्यलाई मूर्त रुप दिन  सहज भएको अध्यक्ष थापाको भनाई छ  ।

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । ‘मणिमुकुन्दसेन पर्खाल’  नामाकरण गरिएको पदमार्ग पर्खाल एक हजार एक सय मिटर लामो र  तीन मिटर फराकिलो रहनेछ ।

गाउँपालिकाले मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य समेत राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button