गीत संगीतको क्षेत्रबाट नयाँ पहिचान पाँएः सरस्वती लामिछाने

मेलापात जाँदा समेत रेडियो साथमा नै बोकेर जाने गर्थे

पोखरा न्यूज सम्वाददाता । लोक दोहोरी गायिका सरस्वती लामिछाने ‘सरु’को जन्म पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर ६ मा भएको हो । उहाँमा बाल्यकालदेखिनै गीत संगीतप्रति औधी रुचि थियो । रेडियोमा बज्ने गीत सुन्ने र आफैले गाउने प्रयास गर्दागर्दै उहाँको सांगीतिक यात्रा सुरु भयो । विभिन्न प्रतियोगितामा सहभागी बनेर उहाँले आफ्नो करियरलाई अगाडि बढाउनुभयो ।

दर्शक श्रोता तथा सर्जकहरुको उत्प्रेरणाका कारण उहाँलाई यात्रामा सहजता मात्र नभएर हौसला बढ्यो । हालसम्म झञ्डै तीन दर्जन गीतमा उहाँले आवाज भर्नुभएको छ । भन्न नसकेर, बाबाजीको अगाडि, भाडा तिरम्ला, अलि अलि रंग छ, चढ्यो चढ्यो जवानी, बतासेपानी लगायतका गीतले उहाँलाई लोकदोहोरी पारखी माझ परिचित गरायो ।

उहाँलाई नयाँ पुस्ताका दर्शक श्रोतामाझ चिनाउन ‘भिर्नी झोलामा’ गीत महत्वपूर्ण बन्यो । यो गीतमा लामिछानेसँगै कृष्ण अखेलीको आवाज रहेको थियो । तिर्सना म्युजिकले यूटूवबाट बजारमा ल्याएका यो गीतमा कोरस आवाज र भिडिओमा समेत कोरस नाचको प्रयोग गरिएको थियो । गीतमा शब्द शिव अखेली र संगीत सिर्जना कृष्ण अखेलीले गर्नुभएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराको सदस्य एवं महिला विभाग प्रमूखको जिम्मेवारी गायिका लामिछानेलाई छ । विभिन्न मेला महोत्सव तथा दोहोरी साँझमा आफ्नो प्रस्तुति राख्दै दर्शको श्रोताको माया उहाँले बटुल्दै आउनुभएको छ । निरन्तर सांगीतिक यात्रामा क्रियाशील बन्ने योजनाका साथ अगाडि बढ्नु भएकी लोक दोहोरी गायिका सरस्वती लामिछाने ‘सरु’सँग यसपाली हामीले सांगीतिक यात्राको बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईको सांगीतिक यात्रा कसरी शुरु भयो ?
मलाई रेडियो तथा टेलिभिजनमा गीत सुन्दा तथा हेर्दा सांगीतिक क्षेत्रमा अगाडि बढ्ने रहर हुन्थ्यो । अग्रजहरुका गीत सुन्दै गर्दा मैले पनि गीत गाउन सक्छु कि भनेर प्राटिक्स गर्न थाले । अनि विस्तारै प्रतियोगितामा भाग लिने आँट आयो । प्रतियोगितामा भाग लिएर नै मेरो सांगीतिक यात्रा सुरु भयो ।

कस्ता गीत गाउन मनपर्छ ?
मलाई सबै खालका गीत गाउन मनपर्छ । विशेषगरी लोक तथा दोहोरी गीत गाउननै मलाई मनपर्छ । किनकि लोक गीतमा हाम्रो मौलीकता लुकेको हुन्छ ।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?
म गीतसंगीत सुन्न पाइने भएकोले रेडियो प्रति बढी आर्कषित थिए । धेरै रेडियो सुन्नुपथ्र्यो । मेलापात जाँदा समेत रेडियो साथमानै बोकेर जाने गर्थे । रेडियोमा विशेषगरी लोक गीतनै सुन्ने मेरो बानी थियो । सोही कारण मेरो गीतसंगीत सुन्ने माध्यम रेडियो नै हो ।

तपाईलाई मनपर्ने गायक तथा गायिका ?
मेरो लागि सबै अग्रजहरु उत्तिकै हुनुहुन्छ । सबैको प्रस्तुतिबाट म प्रभावित छु । नारायण रायमाझी र विमा कुमारी दुराका गीत सुन्दा मनमा आनन्द मात्र नभएर आँखाबाट आशु नै झर्ने गथ्यो । मलाई दुःख पिडाका गीत गाउने गायक गायिका बढी मन पर्छ ।

सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
सकिन्छ । किनभने जुनसुकै क्षेत्रमा अगाडि बढ्न स्थापित हुन सजिलो हुँदैन आत्मविश्वासका साथ लाग्दा नै सफल हुने हो । सांगीतिक क्षेत्रमा आत्मविश्वासका साथ आफूमा निखारता थप्दै अगाडि बढ्न सक्ने हो भने यहींबाट हुने आम्दानी मार्फत जीवन धान्न सकिन्छ । सर्घष गर्दै अगाडि बढ्दा असम्भव हुने कुरा हुँदैन । फल लगाएपछि गोडमेलको आवश्यकता परेझै लगन, मेहनतको आवश्यकता पर्छ । म गर्नसक्छु भन्ने भावनाका साथ यात्रामा बढ्न खोज्ने हो भने यो क्षेत्रमा लागेर दुईछाक टार्न गाह्रो छैन भन्ने मेरो बुझाइ हो ।

तपाईले देखेको सपना ?
सबैले आफ्नो राम्रो भएको हेर्ने सपना मनमा पालेका हुन्छन् । मेरो सपना भनेको सबै नेपाली संगीतप्रेमीको माया पाउने खालका गीत संगीत प्रस्तुत गर्दै उहाँहरुको माया प्राप्त गर्न सकुँ भन्नेनै हो । मेरो गीत ‘भिर्नी झोलामा’ले केही हदसम्म यो सपना पूरा गर्न सघाएको छ । आगामी दिनमा समेत गीतसंगीत मार्फत यस्तै सफलता र साथ पाउने हुटहुटी मनमा छ ।

नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?
नेपाली लोकसंगीतको क्षेत्रलाई मनपराउने दर्शक श्रोताका संख्या बढ्दै गएको छ । मौलिकता बोकेका गीत दर्शक श्रोतामाझ आइरहेका छन् । सांगीतिक क्षेत्रका कलाकारहरु समय अनुसार अपग्रेड हुँदैछन् ।

संगीत क्षेत्रबाट पाएका कुरा ?
गीत संगीतको क्षेत्रबाट नयाँ पहिचान पाए । विगतमा मलाई फलानको छोरी, फलानाको बुहारी वा फलानाको श्रीमती भनेर चिन्ने गर्थे । तर, सांगीतिक क्षेत्रबाट मैले गायिका सरस्वती लामिछाने भन्ने परिचय पाएकी छु । दर्शक श्रोताको माया पाएकी छु । पछिल्लो क्रममा दर्शक श्रोताले अत्याधिक रुचाएको ‘भिर्नी झोलामा’ गीतको गायिका भन्ने परिचय समेत पाएकी छु ।

संगीत क्षेत्रबाट गुमाएका कुरा ?
खासै केही गुमाएको छैन । घरपरिवारसँग चाहे जसरी समय बिताउन पाएको छैन । व्यस्तताको कारण चाडबाडको समयमा समेत परिवार साथीभाइसँग रमाउन नपाउँदा मन खिन्न हुन्छ । दर्शक श्राताको मायाले केही हदसम्म चित्त भने बुझ्छ ।

अबका योजना के छन् ?
अबको योजना भनेको कस्ता गीत गाउँदा दर्शकको माया पाउन सकिन्छ त्यसको अध्ययन गर्दै उहाँहरुको साथ सर्पोट पाउने खालका कोसेली पस्कने योजना छ ।

अन्तमा के भन्नुहुन्छ ?
सबै दर्शक श्रोतालाई धन्यवाद दिन चाहन्छु । गीत संगीतको क्षेत्रमा लागेर जती दर्शक श्रोताको माया पाएकी छु यसमा सन्तुष्ट छु । मलाई विश्वास गरेर गीत गाउन दिने अगाडि बढ्न प्रोत्साहन गर्ने, सहकार्य गर्ने सर्जकहरु प्रति आभार प्रकट गर्दछु । सबैको साथका कारण चिनिन अवसर पाएकी हुँ । अब आगामी दिनमा निरन्तर सांगीतिक क्षेत्रमा क्रियाशिल बन्नेछु । केही गीत आउने तयारीमा छन् । सधै साथ सहयोग सर्पोट गर्नुहोला भन्न चाहन्छु । यो अवसरका लागि तपाई र पोखरा न्यूजलाई समेत विशेष धन्यवाद ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button