गुरुङ फिल्मको लागि महत्वपूर्ण बन्यो वर्ष २०७७

जिफानमा यो वर्ष कुनै फिल्म दर्ता भएनन्

पोखरा न्यूज सम्वाददाता । कोरोना महामारीका कारण वर्ष २०७७ मा गुरुङ फिल्म निर्माणको २५ वर्ष पूरा भएको अवसरमा तय भएका केही कार्यक्रम हुन सकेनन् । यतिमात्र नभएर यो वर्ष गुरुङ फिल्म एशोशिएसन जिफानमा कुनै फिल्म दर्ता भएनन् ।

तर वर्ष २०७७ गुरुङ फिल्मको लागि महत्वपूर्ण बन्यो । किनकि यो वर्षबाट गुरुङ फिल्म नियमित हलमा प्रदर्शन हुने कार्यक्रमको सुरुवात भयो । यो गुरुङ फिल्मकर्मीले लामो समयदेखि देखेको सपना थियो । जुन सपना यहीं वर्ष पूरा भयो । पोखराको मिडटाउन सिनेमाहलमा नियमित फिल्म प्रदर्शन हुन थालेपछि पोखरा तथा पोखरा बाहिरका हलबाट समेत फिल्म प्रदर्शन गर्नको लागि अनुरोध आउन थालेको छ । जसले गुरुङ फिल्मकर्मीलाई उत्साहित बनाएको छ ।

गुरुङ फिल्म एशोशिएशन नेपालका संस्थापक अध्यक्ष माओत्से गुरुङले वर्ष २०७७ गुरुङ फिल्म निर्माणको हिसाबले सुस्त रहेपनि प्रदर्शनको हिसाबले महत्वपूर्ण बनेको बताउनुहुन्छ । ‘२०७७ सालमा गुरुङ फिल्म निर्माणको हिसाबले अलिकति सुस्त रह्यो, गिरावट आयो, तर त्यो भन्दा राम्रो प्रदर्शनको हिसाबले भयो’ उहाँले भन्नुभयो । गुरुङ फिल्म एशोसिएसन नेपालको समन्वयमा हलमा रिलिज गर्ने कार्यक्रम पूर्ण रुपमा सफल बनेको उहाँको दावी छ ।

आफ्नो लागि वर्ष २०७७ सुखद रहेको उहाँले सुनाउनुभयो । पोखरा न्युजसँग कुरा गर्दै उहाँ भन्नुहुन्छ ‘मैले २०७७ सालमा केही म्युजिक भिडियोमा काम गरे । म्युजिक भिडियो मार्फत पनि मैले मेरो अभिव्यक्ति र कथा पस्कने मौका पाए । मैले निर्देशन गरेको फिल्म शिरसुवा अत्यन्त राम्रोसँग चल्यो, यो मेरो लागि सुखद पक्ष थियो । केही नेपाली सिनेमाहरु तथा एउटा साउथ इण्डियन सिनेमामा समेत साइन गरे ।’

०७८ सालमा नयाँ नेपाली फिल्म निर्माण गर्न लागेको उहाँले बताउनुभयो । ‘केन्द्र मोसन पिक्चर र माओत्से गुरुङ फिल्मको संयुक्त व्यानरमा एउटा नेपाली फिल्म निर्माण गर्दैछौ । त्यसको स्क्रिफ्टमा म अहिले बसिरहेको छु ।’ गुरुङले भन्नुभयो । अन्तिम कुराकानी हुन बाँकी भएपनि यो फिल्ममा पल शाह, मल्लिका महत रहने सम्भावना रहेको समेत उहाँले खुलाउनुभयो ।

यता गुरुङ फिल्म एशोशिएशन नेपाल जिफानका अध्यक्ष भोजबहादुर गुरुङ वर्ष २०७७ मा कुनैपनि गुरुङ फिल्म जिफानमा दर्ता नभएको बताउनुहुन्छ । ‘यो वर्ष ड्याङ्ग्रो र बाह्र पोखरी फिल्म छायाकंन भएपनि जिफानमा दर्ता भने भएको छैन । प्रक्रिया पुर्‍याएर दर्ताको प्रोसेसमा छन्’ उहाँले भन्नुभयो । बाह्र पोखरी फिल्म पिसिआर रिर्पोट सहित छायाकंनमा गएको थियो । ड्याङ्ग्रो फिल्म भने कोरोना कहर केही मत्थर भएको समयमा छायाकंनमा गएको थियो ।
कोरोना कहरका कारण समस्यामा परेका फिल्मकर्मीलाई जिफानले सहयोग समेत गरेको उहाँले बताउनुभयो । जसका लागि कलाकार, प्राविधिक र निर्देशकको ८ समुह बनाएर हरेक समुहलाई ५० हजार रुपैयाँ दिएर सर्ट मुभी बनाउन लगाइएको थियो । यसरी निर्माण भएका फिल्म जिफानलाई प्राप्त भएको र केही दिनमा प्रर्दशन गर्ने उहाँले खुलाउनुभयो ।

२०७७ सालमा पच्चिस वर्षमा गुरुङ फिल्म क्षेत्र कस्तो रह्यो भन्ने विषयमा जुम मार्फत अन्र्तक्रिया गरिएको थियो । फिल्ममा कस्तो प्रविधि र प्राविधिक प्रयोग भयो भन्ने विषयमा समेत अन्र्तक्रिया भयो ।

गुरुङ फिल्म नियमित हलमा प्रदर्शन हुनु यो वर्षको मुख्य उपलब्धि भएको उहाँले बताउनुभयो । पोखरा न्युजसँग कुरा गर्दै अध्यक्ष गुरुङ भन्नुहुन्छ–‘२५ वर्ष पछि गुरुङ फिल्म समाजघर पार्टी प्यालेसमा हैनकि सिनेमा हलमानै गएर हेर्नुपर्छ भन्ने अवधारणा लिएर काम सुरु गर्‍यौ । यसबाट कुन निर्माताले कति पैसा कमाए भन्दापनि मल्टिप्लेक्स हलमा फिल्म चल्दा कस्तो हुँदो रहेछ भन्ने अनुभव लिन पाएका छौ । निर्मातालाई अभ्यास भएको छ । यसले फिल्मको गुणस्तरमा सुधार आउदै हलमा प्रर्दशन गर्ने खालको फिल्म बन्न सघाउनेछ । यसअघि जस्तो घर घरमा टिकट बेच्न जाुन परेन अनलाइन मार्फत बुकिङ गर्न पाइयो । यो नयाँ अभ्यास भएको छ । राम्रो कामको सुरुवात भएको छ ।’

नियमित हलमा गुरुङ फिल्म प्रदर्शन हुँदा अभिलेखीकरणमा समेत सघाउने उहाँको भनाइ छ । हलमा दर्शकको संख्या देखेर पहिला विभिन्न झन्झट दिने हलवालाहरुले गुरुङ फिल्म माग्न थालेका छन् । दर्शकलाई बानी बसालेपछि अन्य हलमा जाने तयारी गरिएको उहाँले खुलाउनुभयो । फिल्म हलमा प्रदर्शनका लागि पोखराभन्दा बाहिरबाट समेत आग्रह आउन थालेको छ । किनकी हललाई अहिले कन्टेन चाहिएको छ । महामारीको बेलामा मात्र नभएर स्थानिय फिल्म चल्दा हललाई फाइदा हुने गुरुङले बताउनुभयो ।

‘हाम्रो लागि अवसर बनेको छ । कस्को फिल्म कस्तो चल्यो, कति कलेक्सन गयो भन्ने अघोषित प्रतिष्पर्धा समेत यस्ले गराउने रहेछ । को राम्रो को नराम्रो फिल्टरिङ हुने समय रहेछ’ उहाँले भन्नुभयो । आफ्नो कार्यकालमा गुणस्तरिय फिल्म निर्माण, बजार व्यवस्थापन, अभिलेखिकरण गरेर तीनवटा काम गर्ने लक्ष्य अनुसार काम गरेको उहाँले खुलाउनुभयो ।

हलमा निरन्तर धेरै दिन चल्ने गुरुङ फिल्म शिरसुवा बन्यो । जुन फिल्म लगातार १५ दिनसम्म हलमा चल्यो । ‘हलमा फिल्म चलेपछि अभिलेखीकरण राख्न सजिलो हुने रहेछ । पहिला गुरुङ फिल्म प्रर्दशनको खासै रेर्कड हुदैनथ्यो अब कति कमायो भन्ने समेतको रेकर्ड हुने भयो । रेखा कोर्ने काम भयो’ उहाँले भन्नुभयो ।

गुरुङ फिल्म नियमित हलमा प्रर्दशन हुनुपर्छ भन्ने हेतुले फाल्गुन १ गतेबाट पोखराको मिडटाउन सिनेमा हलमा फिल्म प्रदर्शन गर्न थालिएको हो । कर्म क्या, रिंजे नासाँ, शिरसुवा, स्यू रू, तमुस्यो फिल्म तहाँ प्रदर्शन भइसकेकाछन् । केही फिल्म प्रदर्शन हुने तयारीमा छन् ।

अब २०७८ मा फिल्म बनाउँदा निर्माता निर्देशकले फिल्मको गुणस्तरमा ध्यान दिनुपर्नेमा उहाँको जोड छ । पोखराका सबै हल तथा पोखरा बाहिरका हलमा समेत प्रर्दशन हुने खालका फिल्म बनाउनुपर्छ । सारा नेपालीले हेर्ने फिल्म बनाउन जिफानले निरन्तर वर्कसपको आयोजना गर्नेछ । निकट भविष्यमा गुरुङ फिल्म मुलधारको फिल्म बन्ने उहाँको दावी छ । ‘अहिले नेपाली फिल्ममा मौलिकता खोजिन थालिएको छ । हाम्रा फिल्म त मौलिकतामानै आधिरितमानै छन् । सोही कारण गुरुङ फिल्म निकट भविष्यमा मुलधारको फिल्म बन्नेछ’ उहाँको आशा गर्नुहुन्छ ।
कलाकार र प्राविधिक गरेर १ सय ५० जना जिफानमा आवद्ध छन् । जसमध्ये सक्रिय झण्डै ६० जना छन् । अब टिकाउने खालका जनशक्ति उत्पादन जोड दिने जिफानको तयारी छ । आफ्ना गतिविधि मार्फत पोखरालाई फिल्मसिटी बनाउन सघाउने उहाँले बताउनुभयो ।

दिन प्रतिदिन गुरुङ फिल्मको लागत बढ्दैछ । हाल गुरुङ फिल्मको लगानी ४० लाख नाघ्न थालिसक्यो । तर यस्ता फिल्म आफ्नै सुमदायमा मात्र सिमित हुँदा लगानी उठाउन मुस्किल भएको थियो । त्यतिमात्र नभएर यसरी निर्माण भएका फिल्मको गुणस्तरको बारेमा स्वंम फिल्मकर्मीहरु सन्तुष्ट छैनन् । अब यसमा सुधार हुनुपर्नेछ ।

गुरुङ फिल्म एशोसिएसनमा दर्ता भएका चलचित्रको संख्या १ सय ४३ पुगिसकेको छ । यसका अलावा केहि फिल्म जिफान दर्ता नभएका समेत छन् । गुरुङ चलचित्रको मुख्य बजार कास्की जिल्ला रहेको छ भने यस्का अलावा काठमाण्डौँ, लम्जुङ्ग, तनहुँ, स्याङ्गजा, गोर्खा, पर्वत, चितवन, रुपन्देही, नवलपरासीमा समेत गुरुङ फिल्मको च्यारीटी सो बढी हुने गरेको छ । हङकङ, जापान, कोरीया, युके, खाडी मुलुकमा रहेका नेपाली, भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँमा समेत फिल्म प्रर्दशन गरी आम्दानी गर्ने गरिएको भएपनि यि ठाउँमा अहिले मुलधारका फिल्मको समेत पकड बढ्दै गएको छ ।

२०५२ सालमा ‘पाते’ फिल्मबाट गुरुङ फिल्मको निर्माण आरम्भ भएको थियो । अहिलेसम्म हेर्दा आदीबासी फिल्ममा बढी संख्यामा बनेको गुरुङ भाषाकै फिल्म भएको जिफानले दावी गर्दै आएको छ ।

गुरुङ चलचित्र तथा यसको बजारलाई विस्तार गर्न जिफानले सकारात्मक भूमिका खेलिरहेको छ । गुरुङ फिल्म एशोसिएसन नेपालको केन्द्रिय कार्यालय पोखरामा छ । जिफानको स्थापना २०६५ सालमा भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button