नृत्य क्षेत्रमा अनुसन्धान गर्नेको कमी छ: स्वजन रघुवंशी

म नर्तक हुन पाउँदा गर्व महसुस गर्छु

पोखरा न्यूज सम्वाददाता । नृत्य क्षेत्रमा स्थापित नाम हो स्वजन रघुवंशी । उहाँको जन्म ललितपुर जिल्लाको पाटन सुन्धारामा भएको हो । उहाँले नृत्यको विविध बिधामा एकल प्रस्तुति दिने नेपालको पहिलो व्यक्तिको परिचय बनाउनुभएको छ । एकल प्रस्तुतिमा नमस्कार, आरधना, गुरु बन्दना, कार्तिक नाच(कुमार नाच), चर्या नृत्य(पन्चकपाल महान्काल नृत्य), कथक नृत्य(परम्परागत र गदभावमा कालिया दमन कथा), पाश्चात्य नृत्य(साल्सा), भरतनात्यम(भो शम्भो,कृतनम), लोक (झ्याउरे नाच) र आमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

नृत्यको विविध विधामा एकल प्रस्तुति दिने प्रथम व्यक्तिको रुपमा उहाँलाई सांस्कृतिक संस्थान नाचघर जमल र नृत्य निर्देशक संघ ललितपुर शाखाले सम्मान गरेको थियो ।

नृत्य क्षेत्रमा नयाँ अध्ययन गर्दै सिकेको ज्ञान नयाँ पुस्तामा बाड्न उहाँ व्यस्त रहनुभएको छ । उहाँ सिर्जना कलेज अफ फाइन आर्टको प्लस टु र स्नातकको भरतनात्यम नृत्य तथा एप्लाई थेउरी अफ डान्सको शिक्षक हुनुहुन्छ । क्लासिक कल्चर सेन्टरको प्रोपाइटर रहनुभएका उहाँ नृत्य निर्देशक संघ, नेपालको शास्त्रीय बिभागको प्रमुख तथा ललितपुर शाखाको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । विश्व कीर्तिमानी युवा संघ ललितपुर शाखाको, अध्यक्ष, युथ फर पोजेटिभ चेञ्जको उपाध्यक्ष मात्र नभएर एलआरआई स्कुल, न्यु मिलिनियम स्कुल र प्रिमियर इन्टरनेशनल स्कुलमा नृत्य शिक्षकको रुपमा काम गर्नुहुन्छ । विभिन्न संघ संस्थामा आवद्ध रहेर नृत्य क्षेत्र र सामाजिक क्षेत्रमा उहाँ उतिकै क्रियाशिल बन्नु भएको छ ।

नृत्य क्षेत्रमा लागेर केही महत्वपुर्ण पुरस्कार उहाँले हात पार्नुभएको छ । उहाँलाई युवा तथा खेलकुद मन्त्रालयले एक लाख नगद सहित राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७६ बाट सम्मान गरेको थियो । भारतको आग्रामा भएको ताज रङ्ग महोत्सव अन्तराष्ट्रिय शास्त्रीय नृत्य प्रतियोगिता २०१९ को बिजेता बन्नुभएका उहाँले राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७५, राष्ट्रिय कथक नृत्य प्रतियोगिता २०७२, कलानिधि इन्दिरा संगीत महाविद्यालय कथक नृत्य जुनियर डिप्लोमा तथा, कथक नृत्य सिनियर डिप्लोमामा स्वर्णपदक जित्नुभएको छ । उनै सोलो डान्सर तथा नृत्य प्रशिक्षक स्वजन रघुवंशीसँग यसपाली नृत्ययात्रासँग सम्बन्धित रहेर केही प्रश्न गरेका छौँ ।

तपाईको नृत्य यात्रा कसरी शुरु भयो ?
मेरो बुबा पाटनको मंगलबजार अवस्थित देगु तलेजु मन्दिरको पुजारी हुनुहुन्थ्यो । हामी देगु तलेजुमा नै बस्थ्यौ । सोहि मन्दिर भएको चोक अर्थात नासल चोकमा कार्तिक नाच सिकाइन्थ्यो । जुन मल्लकालिन ३८० बर्ष भन्दा पुरानो परम्परागत लोकनाच हो । त्यो देखेर मलाइ पनि नाच्न मन लाग्यो । अनि बुबाले मलाई त्यस नाचमा म सात बर्षको उमेरको हुँदा नै राखि दिनुभयो । म आठ बर्षको हुँदा कार्तिक डबलिमा भक्त प्रल्हादको भुमिकामा नृत्य गरेको थिए ।

अर्कोकुरा सानैदेखि स्कुलमा साथीहरुसँग नाच्ने गर्थे । कक्षा ८ मा अध्ययन गर्दाखेरि स्कुलमा नेवारी परम्परागत बाजा धिमे सिक्ने क्रममा गुरु मोहन ब्यञ्जनकारले धिमे सिकाउन उहाँको इन्स्टिच्युटमा बोलाउनु भएको थियो । त्यहाँ नृत्य पनि सिकाउने रहेछ । मलाइ नृत्य गर्न मन लाग्यो । उहाँलाई भनेर त्यहा लोक तथा चर्या नृत्य सिके । त्यसपछि धेरै सांस्कृतिक कार्यक्रमा नृत्य प्रस्तुत गर्ने मौका समेत मिल्यो ।

मैले सांस्कृतिक सस्थान नाचघरमा लोक, चर्या, कथक, भरतनात्यमको ३ महिनाको नृत्य तालिम लिए । विभिन्न गुरुहरुबाट शास्त्रीय, लोक, चर्या, पाश्चात्य, आधुनिक आदि नृत्यहरुको तालिम लिएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिँदै नृत्य क्षेत्रको यात्रामा अघि बढेको हुँ । जुन यात्रा निरन्तर जारी रहेको छ ।

नृत्यको कुन विधा मनपर्छ ?
हुनत मलाई सबै नृत्यका विधा मनपर्छ, यसमा पनि विशेषत भरतनात्यम, चर्या, कथक र लोक नृत्य मनपर्छ ।

बाल्यकालमा आफ्नो इच्छा कसरी पुरा गर्नुहुन्थ्यो ?
सानैदेखि नृत्यमा एकदम रुचि थियो । हाम्रो मन्दिरको अगाडि कार्तिक डबलि छ । जहाँ कार्तिक महिनामा कार्तिक नाच नचाइन्छ तर अरु बेला समेत धेरै नै नृत्यको कार्यक्रमहरु हुन्थ्यो । सो कार्यक्रम हुँदा म झ्यालबाट नाच हेर्थे । यसरी हेरेको नाँचको नक्कल गर्दै नाँच्ने कोशिस गर्थे । अनि स्कुलमा पनि साथीहरुसँग नाँचेर आफ्नो इच्छा पुरा गर्थे ।

तपाईलाई मनपर्ने नृत्यकार ?
जो नृत्यमा समर्पित भएर नृत्यलाई पुजाको रुपमा लिनु हुन्छ उहाँहरु सबै मनपर्छ ।

नृत्य क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
नसकिने कुरा नै छैन । मेहेनत गरेको खण्डमा अवश्य सकिन्छ, ।

तपाईले देखेको सपना ?
म मरे पछि समेत नृत्यको क्षेत्रमा मेरो नाम सधै आइरहोस भन्ने मेरो सपना छ ।

नेपाली नृत्य क्षेत्रका सकारात्मक कुरा ?
पहिलेभन्दा नृत्य क्षेत्रको एकदम विकास भएको कुरालाई सकारात्मक रुपमा लिन सकिन्छ । हरेक विद्यालयमा नृत्यलाइ अनिवार्य रुपमा राखेको पाइन्छ । सरकारले विद्यालयमा कोर्सको रुपमा समेत नृत्यलाई राख्ने तयारी गरेको छ ।

नेपालमा नृत्यमा महिलाहरुको लागि स्नाकोत्तरसम्मको अध्ययन गर्न र पुरुषहरुको लागि स्नातक सम्मको अध्ययन गर्न पाउँछन् । अब स्नातकोत्तरसँगै पिएचडी राख्ने प्रक्रियामा रहेको छ । अभिभावकहरुले नृत्य क्षेत्रमा अगाडि बढ्न खोज्ने आफ्नो नानीहरुलाई धेरै नै सर्पोट गरेको पाइन्छ । ठाँउ–ठाँउमा नृत्यको कार्यशालाहरु भइरहेका छन् । विभिन्न रियालिटि सोहरु आइरहेको छ भने नृत्यलाइ नै करियरको रुपमा लाने हरुको जमातपनि देखिन्छ । यो सबै नृत्य क्षेत्रका लागि सकारात्मक कुरा हुन् ।

नेपाली नृत्य क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?
अरु क्षेत्रमा जस्तै नृत्य क्षेत्रमा समेत नाताबाद, कृपाबाद, खुट्टा तान्ने प्रवृत्ति, अघि बढ्छ भनेर तगारो हाल्ने, अगाडि ठिक्क पार्ने पछाडि कुरा काट्ने बानी रहेको छ । यो सुधार्नुपर्ने पाटो हो । अर्को कुरा नृत्य क्षेत्रमा अनुसन्धान गर्नेको कमी छ । जुन नृत्य गर्न लागेको हो त्यो नृत्यको बारेमा अनुसन्धान गर्ने गरेको खण्डमा नृत्य क्षेत्र राम्रो हुन्छ जस्तो मलाइ लाग्छ ।

आफुमा निखारता कसरी थप्दै आउनुभएको ?
नृत्य प्रयोगात्मक रुपमा गरेर, सिकेर मात्र हुँदैन । यो बारेमा सैद्धान्तिक र ब्यावहारिक ज्ञान लिन अति आवश्यक छ । यदि आफुमा निखार्नु छ भने अनुसन्धान गर्नु अति आवश्यक छ । त्यसकारणले गर्दा मैले प्रयाग संगीत समिति इलाहाबादबाट कथक नृत्यमा सिनियर डिप्लोमासम्म नेपालको पहिलो नृत्य प्रोफेसर हनि श्रेष्ठ म्यामको अन्डरमा गरे ।

विविएस अध्ययन पुरा भएपनि पुनः टियु अन्तर्गत नृत्य विषय लिएर सिर्जना कलेज अफ फाइन आर्टबाट भरतनात्यम, चर्या र लोक नृत्य विषयमा स्नातक गरे । समाजजशास्त्रमा स्नातकोत्तर गरेपछि नृत्यमा अझ ज्ञान लिन नेपालमा नृत्य विषयमा स्नातकोत्तर नभएकोले बनारस हिन्दु विश्वविद्यालय, भारतको बनारसमा गएर गुरु प्रेमचाद हम्बल सरको अन्डरमा भरतनात्यम नृत्यमा गरे । जसले गर्दा केहि रुपमा नृत्यको सैद्धान्तिक र ब्यवहारिक ज्ञान पाएको छु ।

समय समयमा हुने विभिन्न कार्यशालामा भाग लिदैै आएको छु भने नेपालको विभिन्न ठाँउमा नृत्यको कार्यशालामा स्रोतव्यत्तिको रुपमा जाँदा समेतधेरै अनुसन्धान गरि प्रस्तुति दिनुपर्ने हुन्छ । यसरी धेरै कुराहरु जान्ने मौका मिलेको छ । सबै भन्दा महत्वपूर्ण कुरा आफुमा निखारता ल्याउनुमा स्वयम् आफुले अधिक अभ्यास गर्नुपर्छ साथमा अरुलाइ आफुले जानेको कुरा सिकाउदाँ समेत ज्ञान बढ्छ ।

नृत्य क्षेत्रबाट पाएको कुरा ?
जीवन, बाच्ने आधार, पहिचान, आत्मसन्तुष्टि, आत्मीयता, आत्मविश्वास यि सबै नृत्य क्षेत्रबाट पाएको छुँ ।

नृत्य क्षेत्रबाट गुमाएको कुरा ?
केहि पनि छैन ।

अबका योजना के छन् ?
प्रोफेसनल डान्स कम्पनी खोलेर नृत्य क्षेत्रमा सैद्धान्तिक, व्यावहारिक र प्रयोगात्मक रुपमा शिक्षा दिने योजना बनाएको छु । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेजमा एकल नृत्य प्रस्तुति दिने र भविष्यमा नृत्य विषयमा पिएचडि गर्ने योजना छ ।

हालसम्म तपाइले पुरा गरेका जिम्मेवारी ?
भारत, तिब्बत, चीन, भुटान, थाइल्यान्ड, साउदी अरब, दुबई र स्पेनमा गएर नेपाली लोक नाच तथा चर्या नृत्यको प्रस्तुती दिएर नेपालको कला संस्कृति अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको छुँ ।

सांस्कृतिक सस्थानका महाप्रबन्धक राजेश थापा सरको पहलमा मैले नेपालको इतिहासमा पहिलो पटक नृत्यको विविध बिधामा एकल प्रस्तुति दिएको थिए । जसमा नमस्कार, आरधना, गुरु बन्दना, कार्तिक नाच (कुमार नाच), चर्या नृत्य (पन्चकपाल महान्काल नृत्य), कथक नृत्य (परम्परागत र गदभावमा कालिया दमन कथा),पाश्चात्य नृत्य (साल्सा), भरतनात्यम (भो शम्भो, कृतनम) , लोक ( झ्याउरे नाच) र आमा नृत्य रहेको थियो ।

समाजशास्त्र अन्तर्गत थेसिसमा नृत्यसँग सम्बन्धित ‘कार्तिक नाचको समाजशास्त्रीय अध्ययन’ भन्ने विषयमा गरे । जसले कार्तिक नाचको केहि रुपमा अभिलेखिकरण भएको छ । सांस्कृतिक संस्थान र अन्य संघ सस्थाबाट नृत्यको कार्यशालामा स्रोतब्यक्तिको रुपमा जिम्मेवारी पुरा गरेको छुँ ।

अन्तमा के भन्नुहुन्छ ?
नृत्य मेरो जिवन हो, नृत्य मेरो पहिचान हो, । म नर्तक हुन पाउँदा गर्व महशुस गर्छु, एउटा नर्तकको रूपमा जन्म लिन पाउँदा आफुलाई भाग्यमानी ठान्छु । सोही कारण मेरो जीवनको अन्तिम श्वाससम्म नृत्य गर्न चाहन्छु । मलाई यहासम्म पुराउनु हुनु मेरो सम्पुर्ण गुरुहरु, परिवार, आफन्त, इस्टमित्रहरु सहित नृत्य क्षेत्रलाई मायागर्ने सबैलाई धन्यबाद दिन चाहन्छु । उहाँहरु सबैको साथ सहयोग हौसला आशीर्वादले गर्दा यहा सम्म पुग्न सफल भयको हुँ । यसरी मेरो केहि कुरा हरु राख्ने अवसर दिनु भएकोमा पोखरा न्युजलाई र राजाराम सरलाई विशेष धन्यवाद । जय नृत्य, जय नाटेश्वर ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button