पोखरामा बिहानैदेखि थप कडाइ, आदेशको उल्लङ्घन गर्ने ११३ सवारीसाधन नियन्त्रणमा

कास्कीभर २१ ठाउँमा चेक पोइन्ट, ६५० बढी प्रहरी परिचालन

पोखरा न्यूज । कास्कीमा आजदेखि निषेधाज्ञामा थप कडाइ गरिएको छ । यसअघि कास्कीमा वैशाख १५ गतेबाट एक साताका लागी खुकुलो गरी निषेध आदेश जारी भएकोमा कास्की प्रशासनले आजबाट ३१ गते राति १२ बजे सम्मका लागि थप आदेश सहित निषेधाज्ञा जारी गर्दै कडाइ गरेको हो ।

कास्कीमा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढ्दै गएपछि प्रशासनले थप कडाइसहित जारी गरेको आदेशलाई कास्कीमा हुबहु कार्यान्वयनमा ल्याइएको कास्की प्रहरी प्रहरी प्रमुख , एसपी जीवन कुमार श्रेष्ठले बताउनुभयो ।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएको अवस्थामा त्यसको जोखिमलाई कम गराउन प्रशासनले जारी गरेको आदेशलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनका लागी कास्की प्रहरी कटिबद्ध भएर लागिपरेको एसपी श्रेष्ठले बताउनुभयो । “ हामीले कास्कीका विभिन्न २१ ठाउँमा चेक पोइन्ट स्थापना गरी चेक जाँचमा कडाइ गरेका छौँ, उहाँले भन्नुभयो “ जिल्लामा पैदल गस्ती, मोबाइल गस्ती सहित ६५३ प्रहरी कर्मचारीलाई विभिन्न तवरबाट खटाएका छौँ । “

एसपी श्रेष्ठले प्रशासनले तोके बाहेकका सवारीसाधन सञ्चालनमा पूर्ण बन्देज लगाइएको र बिहान ५ बजेदेखि ९ बजेसम्म खुला गर्न अनुमति दिइएका पेसा व्यवसायलाई पनि ९ बजेबाट बन्द गराइएको बताउनुभयो । उहाँले कास्कीसँग सिमाना जोडिएका छिमेकी जिल्लासँग समेत समन्वय गरेर प्रशासनले तोकेका अत्यावश्यक र बिरामी बोकेका सवारीसाधनबाहेक अन्यलाई सञ्चालनमा रोक लगाएको बताउनुभयो ।

एसपी श्रेष्ठले कडाइ गरी निषेधाज्ञामा थप गरिएको आज पहिलो दिन बिहान एक सय १३ सवारी साधन नियन्त्रणमा लिइएको बताउनुभयो । “हामीले आदेशको बरखिलाफमा सञ्चालन भएका ६३ वटा चार पाङ्ग्रे सवारीसाधन र ५० वटा दुई पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएका छौँ , उहाँहरूलाई दिनभर होल्ड गराएर आदेशको कार्यान्वयन गर्ने सर्तमा छाड्छौँ”, उहाँले भन्नुभयो । कास्की प्रहरीले मास्कको प्रयोग नगर्ने तथा अनावश्यक रूपमा पैदल हिड्डुल गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर होल्ड गराउने, मास्कको प्रयोग गर्न लगाउने गरेको एसपी श्रेष्ठले बताउनुभयो ।

आदेशको पालनामा हेलचेक्र्याइँ गर्नेलाई नियन्त्रणमा लिएर होल्ड गराएर राखिएको र अटेर गरेमा नियम अनुसार कडा कारबाही गरिने एसपी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “ हामीले ड्युटीमा निस्किएका बैंक तथा वित्तीय संस्थाका एक चौथाइ कर्मचारी र अत्यावश्यक काममा बाध्यताले निस्किनु भएकाको हकमा पिर मर्का बुझेर छाडेका छौ, अन्यको हकमा पूर्ण बन्देज लगाएका छौँ । “ त्यस्तै आदेशलाई अटेर गरी खोलिएका स्वास्थ्य सामाग्रीका पसलबाहेकका अन्य पसल तथा व्यवसायहरूलाई ९ बजे देखि नै प्रहरीको सक्रियतामा बन्द गराइएको पनि उहाँले बताउनुभयो ।

कास्की प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भिडभाड गर्न सभा जुलुस गर्न जात्रा महोत्सव गर्न निषेध गरेको छ । जिल्ला भित्र सञ्चालन हुने बिरामी बोकेका साधन, दमकल, ग्यास, पेट्रोलियम पदार्थ, शव बाहान, खाद्यान्न, स्वास्थ्य सामग्री, पशु आहार ढुवानीका सवारीसाधन तथा स्वास्थ्यकर्मी र बैंक तथा वित्तीय संस्थाका कर्मचारी ओहोरदोहोर गर्ने बाहेकका यात्रुवाहक सार्वजनिक तथा निजी सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको छ ।

प्रशासनले औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरू २४ सै घण्टा खुला रहने तथा उपभोग्य, खाद्यान्न पसलहरू, डिपार्टमेन्टल स्टोर (खाद्यान्न मात्र ) बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ भने दूध वितरकलाई त्यसको अतिरिक्त साँझ ५ बजे देखि ७ बजेसम्म सञ्चालन गर्न दिएको छ । यस बाहेकका सम्पूर्ण पसल तथा स्टोरहरू सञ्चालनमा रोक लगाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button