फिल्म हेरेपछि चौरमा गएर साथीसँग फाइट गर्थेः गमन घले

मेरो नसा–नसामा गुरुङ फिल्म गढेको छ

पोखरा न्यूज सम्वाददाता । नायक तथा मोडल गमन घले अभिनयको क्षेत्रमा खारिएका कलाकार हुनुहुन्छ । उहाँले गुरुङ फिल्म तथा गुरुङ संस्कार संस्कृतिमा आधारित नेपाली फिल्म समेत गरेर दुई दर्जन भन्दा बढी फिल्ममा अभिनय गरिसक्नुभएको छ । उहाँको गुरुङ फिल्मतर्फको यात्रा २०५७ सालमा डाँफे कला मन्दिरको व्यानरमा निर्मित क्याप्टेन मिन बहादुर गुरुङ निर्माता रहको गुरुङ फिल्म ‘म्हि सैं’ (मान्छेको मन) बाट भएको हो ।

उहाँले अभिनय गरेका फिल्ममा ध्रिरबै ताँ (घरको कुरा), कहाँ विसाउ मनको भारी, सै न्होबै म्रुस्यो (हृदयकी रानी), ङै ङ्हो (मेरो भाग्या), प्ह्रेमै (पाहुना), तमु ह्युला (गुरुङ राज्य), घलेक द साइन अफ लभ, मेरो जीवन, बलेनी आदि हुन् । पछिल्लो क्रममा काम गरेका फिल्म माओत्से गुरुङ निर्देशनमा बनेको मनको बाबरी र दयारानी तथा भोज बहादुर गुरुङको निर्देशन तथा अमेरिका निवासी प्रेम गुरुङ निर्माता रहेको गुरुङ फिल्म मैंरिमो हो । यसरी गुरुङ तथा नेपाली फिल्ममा गरेको अभिनय कलाको कारण उहाँ धेरै दर्शकमाझ परिचित बन्नुभएको छ ।

अभिनय तर्फको रुचि र मैले गर्नसक्छु भन्ने दृढ इच्छाशक्तिका कारण उहाँको अभिनयको यात्रा सहज बन्दै गयो । फलस्वरुप दर्शकको साथ सर्पोटले निरन्तर यसै क्षेत्रमा अगाडि बढ्ने हुटुहटी उहाँको मनमा परेको छ ।

फिल्मका अलावा उहाँको अभिनय क्षमता म्युजिक भिडियोमा समेत उस्तै छ । दोहोरी गीत समेत गरेर उहाँले अभिनय गरेका म्युजिक भिडियो डेढ दर्जनभन्दा बढी छन् । उहाँले ८ वटा गाउँ सम्बन्धी गीतमा समेत अभिनय गर्नुभएको छ । मेलिना राईको आवाजमा रहेको आजभोली किन–किन बोलको गीतको भिडियो निर्देशन समेत गरेर निर्देशन क्षेत्रमा समेत उहाँको यात्रा सुरु भएको छ ।

लमजुङ जिल्लाको क्होलासोथार गाउंपालिका वडा नम्बर २ मा जन्मिनुभएका गमन हाल हङकङमा हुनुहुन्छ । हङकङमा भएपनि उहाँसँग अभिनय भोक उतिकै छ ।

गुरुङ फिल्म ‘पाते’ हेरिसकेपछि उहाँ गुरुङ फिल्म प्रति आर्कषित हुनुभएको थियो । ‘पहिलो गुरुङ फिल्म पाते हेरिसकेपछि मलाई मनदेखि नै अभिनयमा रुचि जाग्यो’ उहाँले भन्नुभयो । उहाँले हालसम्म अभिनय सम्बन्धी कुनै कक्षा लिनु भएको छैन । ‘एउटा भनाई पनि छ, कि परेकोले जान्दछ, कि पढेकोले जान्दछ, मैले परेरनै यो क्षेत्रमा पाइला अगाडि बढाए’ उहाँले थप्नुभयो । निरन्तर काम गर्दै जाँदा खारिदै, सिक्दै, बुझ्दै गएको अनुभव उहाँसँग छ ।

गुरुङ फिल्ममा काम गर्नुको उद्धेश्य भनेको गुरुङ भाषा, भेषभुषा र संस्कार सस्कृतिको मुख्य जर्गेना गर्नुनै रहेको उहाँ बताउनुहुन्छ । ‘गुरुङ फिल्म क्षेत्रलाई म जहाँ हुँदा पनि विर्सन सक्दिन । मेरो मन भित्र र नसा–नसामा गढेको छ’ उहाँ भन्नुहुन्छ । गुरुङ फिल्मलेनै आफुलाई गुरुङ समाजमा मात्र नभएर देश तथा विदेशमा रहेका नेपाली माझ चिनाएको उहाँले सुनाउनुभयो ।

हुनत सानोमा हलमा गएर फिल्म हेर्दादेखिबाट उहाँलाई कलाकारिता सम्बन्धी मोहले छोएको हो । ‘सानोमा फिल्म हेर्दा साह्रै रमाइलो हुन्थ्यो । अभिनय गर्ने रहर जाग्थ्यो’ उहाँले भन्नुभयो । बाल्यकालमा उहाँलाई बढी मात्रामा एक्सन फिल्म हेर्न मनपथ्र्यो । फिल्म हेरेपछि अलिकति फुर्सद भयो भने फिल्मको नक्कल गर्दै चौरमा गएर साथीहरुसँग फाइट समेत गर्ने बानी रहेको उहाँ स्मरण गर्नुहुन्छ ।

उहाँसँग बाल्यकालमा फिल्म हेर्दाका अनौठो अनुभव समेत रहेका छन् । ‘बाल्यकालमा फिल्म हेर्दा फिल्मको बारेमा केही थाहा हुने थिएन । हलमा गएर फिल्म हेर्ने, हल्ला गर्दै बाहिर निस्कने गर्थे । त्यसो गर्दा झनै रमाइलो लाग्थ्यो’ उहाँले खुलाउनुभयो ।

सुरुवाती बेलामा उहाँले हलमा हेरेका फिल्म युगदेखि युगसम्म र रा‌ँको थिए । त्यसपछि निरन्तर फिल्म हेर्न थाल्नुभएको हो । फिल्म क्षेत्रमा लामो अनुभव संगाल्नुभएका उहाँले पहिलेको भन्दा अहिले धेरै सुधार हुँदै जानु नेपाली फिल्मका सकारात्मक पक्ष भएको बताउनुहुन्छ ।

एक समय फिल्म खेल्न, हिरो बन्न चकलेटी अनुहार चाहिन्छ भन्ने धारणाका कारण प्रतिभावान धेरै कलाकार पछाडि परेका थिए । अहिले फिल्ममा चकलेटी अनुहार नै हुनुपर्छ भन्ने छैन । कलाकारले अनुहार नभएर आफु भित्र रहेको क्षमता लाई राख्न थालेका छन् । पछिल्लो समयमा मंगोलियन अनुहार भएकाहरु नेपाली फिल्म क्षेत्रमा अगाडि बढेको देखिन्छ । जसका कारण दर्शकले विविधता पाउन थालेको उहाँको बुझाई छ ।

आफुलाई मनपर्ने कलाकार दयाहाङ राई, माओत्से गुरुङ, गौरी मल्ल र खगेन्द्र लामिछाने भएको उहाँ बताउनुहुन्छ ।

नेपाली तथा गुरुङ फिल्म निर्माण गर्दा समय अनुसारको कथा, कलाकार र प्रविधिमा ध्यान दिनुपर्नेमा उहाँको जोड छ । फिल्मको संख्यामा भन्दा गुणात्मकतामा ध्यान दिनसके फिल्म क्षेत्रले फ्डको मार्नेछ । एक जनाको मेहनतले मात्र फिल्म राम्रो हुने होइन । फिल्मको राम्रो हुन टिम वर्क राम्रो हुनुपर्छ ।

हलमा फिल्म हेर्दाको जतिको मज्जा घरमा भने नहुने उहाँको अनुभव छ । ‘मलाई घरमा फिल्म हेर्दा खासै रमाइलो लाग्दैन । हलमा आउटपुट, इनपुट साउण्डिङहरुको राम्रो व्यवस्था हुने भएको हुनाले हलमा फिल्म हेर्नुको मज्जा नै बेग्लै हुन्छ’ उहाँले सुनाउनुभयो । तर, बाध्यताले हल बाहेकका प्लार्टफम मार्फत समेत फिल्म हेर्ने भने गरेको उहाँको भनाई छ ।

आफूमा एकमुठी श्वास रहुन्जेसम्म गुरुङ फिल्म क्षेत्रमा लागिरहने उहाँको प्रण छ । संसारको जुनसुकै ठाउँमा भएपनि ढिलो चाँडो निरन्तरता दिने उहाँले सुनाउनुभयो ।

सबै दर्शकलाई गुरुङ फिल्म र नेपाली फिल्मलाई माया गरिदिनुहोला भन्ने आग्रह उहाँको छ । ‘अब त गुरुङ फिल्म समेत हलमा प्रदर्शन हुन थालेको छ । हलमा गएर हेरेर कमी कमजोरी औल्याउदै सल्लाह सुभाब दिनुहोला’ उहाँका आग्रह छ । गुरुङ फिल्म एशोशिएसन नेपालको पूर्व महासचिव रहनुभएका गमन आजिवन सदस्य समेत हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button