पोखरामा अनावश्यक रूपमा हिड्ने १३२ जना प्रहरीको नियन्त्रणमा

पोखरा न्यूज । निषेधाज्ञाको उल्लङ्घन गरी अनावश्यक रूपमा हिड्डुल गर्नेलाई कास्की प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएको अवस्थामा त्यसको जोखिमलाई कम गराउन प्रशासनले जारी गरेको आदेशको उल्लङ्घन गर्दै अनावश्यक रूपमा हिड्डुल गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी, जीवन कुमार श्रेष्ठले बताउनुभयो ।

बुधबार बिहान ११ :४५ बजे सम्म बिना काम र उद्देश्य सडकमा हिड्डुल गर्ने एक सय ३२ जनालाई नियन्त्रणमा लिएर कारबाही गरिएको एसपी श्रेष्ठले बताउनुभयो । “आज पोखराका विभिन्न स्थानमा व्यक्तिगत तथा सामूहिक रूपमा हिड्डुल गर्ने एक सय ३२ जनालाई नियन्त्रणमा लिएका छौँ, एसपी श्रेष्ठले भन्नुभयो, “उनीहरूलाई कारबाही स्वरूप खुला स्थानमा सामाजिक दुरी कायम गराई दुई घण्टा सडकमा उभ्याएर कोरोना सम्बन्धी प्रशिक्षण दिई छाडेका छौँ ।

निषेधाज्ञाको उल्लङ्घन गरी हिड्डुल गर्नेलाई अहिले सामान्य रूपमा दुई घण्टा होल्ड गरेर सम्झाई बुझाइ गरेर पठाइएको बताउँदै उहाँले बहानाबाजी गर्ने, बाहिर कस्तो छ भनेर बुझ्न हिँड्ने र अटेर गर्ने क्रम नरोकिए कानुन बमोजिम कडा कारबाही हुने चेतावनीसमेत दिनुभयो ।

कास्की प्रहरीले मास्कको प्रयोग नगर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर होल्ड गराउने र मास्कको प्रयोग गर्न लगाउने गरेको एसपी श्रेष्ठले बताउनुभयो । बिरामी भएर निस्किएका, औषधि खरिद तथा अन्य अत्यावश्यक काम विशेषले हिड्डुल गर्नेलाई कास्की प्रहरीले रोक नलगाएको जनाउँदै एसपी श्रेष्ठले हिड्डुल गर्दा आपतमा परेकाहरूलाई प्रहरीले सहयोग गर्ने पनि गरेको बताउनुभयो ।

उहाँले आज बिहान एक सय ६० सवारी साधन नियन्त्रणमा लिइएको बताउनुभयो । “हामीले आदेशको बरखिलाफमा सञ्चालन भएका ६५ वटा चार पाङ्ग्रे सवारीसाधन र ९५ वटा दुई पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएका छौँ , उहाँहरूलाई दिनभर होल्ड गराएर आदेशको कार्यान्वयन गर्ने सर्तमा छाड्छौँ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button