पोखरामा निषेधाज्ञाको उल्लङ्घन गर्ने १६० सवारीसाधन नियन्त्रणमा

पोखरा न्यूज । निषेधाज्ञाको उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनलाई कास्की प्रहरीले बुधबार पनि नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएको अवस्थामा त्यसको जोखिमलाई कम गराउन प्रशासनले जारी गरेको आदेशको उल्लङ्घन गरी सञ्चालन भएका एक सय ६० सवारीसाधनलाई पोखराका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख, एसपी जीवन कुमार श्रेष्ठले बताउनुभयो ।

“हामीले आज बिहानै देखि १२ बजेसम्म आदेशको बरखिलाफमा सञ्चालन भएका ६५ वटा चार पाङ्ग्रे सवारीसाधन र ९५ वटा दुई पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएका छौँ , उहाँहरूलाई दिनभर होल्ड गराएर आदेशको कार्यान्वयन गर्ने सर्तमा छाड्छौँ”, उहाँले भन्नुभयो ।

एसपी श्रेष्ठले प्रशासनले तोके बाहेकका सवारीसाधन सञ्चालनमा पूर्ण बन्देज लगाइएको र बिहान ५ बजेदेखि ९ बजेसम्म खुला गर्न अनुमति दिइएका पेसा व्यवसायलाई पनि ९ बजेबाट बन्द गराइएको बताउनुभयो । उहाँले कास्कीसँग सिमाना जोडिएका छिमेकी जिल्लासँग समेत समन्वय गरेर प्रशासनले तोकेका अत्यावश्यक र बिरामी बोकेका सवारीसाधनबाहेक अन्यलाई सञ्चालनमा रोक लगाएको बताउनुभयो ।

आदेशको पालनामा हेलचेक्र्याइँ गर्नेलाई नियन्त्रणमा लिएर होल्ड गराएर राखिएको र अटेर गरेमा नियम अनुसार कडा कारबाही गरिने एसपी श्रेष्ठले बताउनुभयो ।

कास्की प्रहरीले बुधबार बिहान मास्कको प्रयोग नगर्ने तथा अनावश्यक रूपमा पैदल हिड्डुल गर्ने १३२ जनालाई समेत कारबाही गरेको एसपी श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button