
पोखरा न्यूज । सरकारले ताेकेकाे स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ७ सय ४९ जनालाई नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा जरिवाना गरेकाे छ । संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीले ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ७ हजार ३ सय २२ जनालाई विभिन्न जिल्लामा नि:शुल्क मास्क वितरण गरेकाे जनाएकाे छ ।
नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।
प्रहरीका अनुसार अभियानको क्रममा देशभर संचालित सचेतनामूलक कार्यक्रममा २८ हजार १ सय १६ जना सहभागी भएका छन् ।
कार्यक्रम अन्तर्गत प्रहरीले विभिन्न स्थानहरूमा कोभिड-१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू मार्फत भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागि मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।
कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार २ सय ९५ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको जनाएकाे छ । सो क्रममा १ हजार ६ सय २९ गाडी र २ हजार ७ सय ३६ मोटरसाइकल गरी ४ हजार ३ सय ६५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।





