
पोखरा न्यूज । दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव हुँदा विरामीलाई समस्या हुने गरेको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीले एक सय शय्या रहेको सो अस्पतालमा हालसम्म ५७ जना बिरामी उपचाररत रहेको र अक्सिजनको सहज उपलब्धता नहुँदा समस्या हुने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “अस्पतालमा अक्सिजन छैन, विरामी भर्नाका लागि मलार्ई सिफारिस र दवाब नदिनुहोला ।” उहाँले अक्सिजन व्यवस्थापनका लागि सहयोग गरिदिन सरोकारवाला सबैलाई अनुरोध पनि गर्नुभएको छ । सो अस्पतालमा पाँच सघन कक्ष र ७५ शय्या अक्सिजनसहितका छन् । त्यस्तै अन्य सामान्य शय्या रहेका छन् ।
कोरोना अस्पता बेलझुण्डीमा पछिल्लो २४ घण्टमा दुई जना विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा सघन कक्षमा उपचाररत कोरोना सङ्क्रमित हुन् । मृत्यु हुनेमा घोराही उप महानगरपालिका– १८का ४५ वर्षीय महिला र घोराही उपमहानगरपालिका– १५का ६५ वर्षीय पुरुष रहेको अस्पतालका व्यवस्थापक वलीले जानकारी दिनभयो ।
ती महिला गत वैशाख १५ गतेदेखि सो अस्पतालमा उपचाररत रहेकी र उनको हिजो दिउँसो मृत्यु भएको हो । त्यस्तै पुरुष गत वैशाख १७ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत थिए । उनको हिजो बिहान मृत्यु भएको हो । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोनाका बिरामीको उपचार हुने गरेको छ ।





