संक्रमित पत्रकारका लागि महासंघमा आइसोलेसन सेन्टर

पोखरा न्यूज । नेपाल पत्रकार महासंघले केन्द्रीय कार्यालय काठमाण्डाैमा कोरोना संक्रमित पत्रकारका लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

महासंघमा रहेको पत्रकार आवास गृहमा स्थापना गरिएको आइसोलेसनमा पाँच वटा बेड तयार भएका छन् भने अन्य पाँच बेड तयारीको अन्तिम चरणमा रहेको जनाइएकाे छ ।

महासंघका अनुसार आइसोलेसन सेन्टरमा हाम्रो टिम नेपालले चारवटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । मेक्सिम इन्टरनेसनल ट्रेडिङ्का प्रबन्ध निर्देशक नारायणबहादुर कार्कीका तर्फबाट दुईवटा सिलिण्ड प्राप्त भएको छ ।

काठमाडौं मेडिकल कलेज सिनामङ्लको परामर्शका आधारमा संक्रमित पत्रकारलाई अक्सिजन तथा अन्य स्वास्थ्य सम्बन्धी सुविधा उपलब्ध गराइने महासंघका महासचिव रोशन पुरीले बताउनुभयो ।

महासंघकाे अभिलेख भएअनुसार देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमा २५२ जना सक्रिय संक्रमित छन् । जसमा प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमती प्रदेश १४, गण्डकी ७, लुम्बिनी २७, कर्णाली ३०, सुदूरपश्चिम ३० र उपत्यका तीनवटा प्रदेशमा ११७ रहेका छन् । संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचाररत भइरहेको तथा ४ जना आइसियुमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको छ ।

महासंघले देशभर रहेका सबै प्रदेश र शाखाहरुलाई कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिताका लागि आग्रह गरिरहेको जनाएकाे छ । सोक्रममा अहिलेसम्म रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत र बाग्लुङमा अक्सिजनसहितको आइसोलेसन सेन्टरको व्यवस्था गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button