
पोखरा न्यूज । चट्याङ लागेर गुल्मीमा १८ वर्षीया करिश्मा गाहाको ज्यान गएको छ भने अन्य आठजना घाइते भएका छन् । मुसिकोट नगरपालिका–४ दजाकोट निवासी १८ वर्षीया करिश्माको अस्पताल ल्याउने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आज बिहान ५ः३० बजे घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा सोही ठाउँका ४२ वर्षीया जुनी गाहा, १८ वर्षीया मेलिना गाहा, आठ वर्षीया जेनित गाहा, ३८ वर्षीय तुलबहादुर गाहा, ६० वर्षीय उजुर सिंह गाहा, ५५ वर्षीया फटिकला गाहा, ३२ वर्षीय चित्रबहादुर गाहा र २८ वर्षीया ज्योति गाहा घाइते भएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
घाइतेमध्ये चार जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अनुहारलगायत शरीरमा चोट लागेको छ ।





