व्यवसायी सुरज वैद्य भन्छन्- खोप खरिद कमिशन बारे छानविन होस्, सप्रमाण उपस्थित हुन तयार छु

पोखरा न्यूज । नेपालले भारतबाट खरिद गर्न लागेको ५० लाख डोज खोपमा १० प्रतिशत कमिशन मागेको भन्दै सार्वजनिक आलोचना भएपछि व्यवसायी सुरज वैद्यले आफूमाथि लगाइएको आरोप निराधार र भ्रामक रहेको बताउनु भएको छ ।

राष्ट्र र जनतामाथिको जिम्मेवारी प्रति आफू सदैव सचेत र सजग रहेको वैद्यको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष समेत रहनुभएको वैद्यले आरोपका बारेमा सत्यतथ्य यथासिघ्र छानविन गर्न माग गर्दै आफू सप्रमाण उपस्थित हुन तयार रहेको समेत जानकारी गराउनु भएको छ ।

आज दिउसो सामाजिक संजालमा यसबारेमा प्रतिक्रिया दिँदै उहाँले यस्तो लेख्नु भएको छः

राष्ट्र र जनतामाथिकाे मेराे जिम्मेवारी प्रति म सदैव सचेत र सजक छु । महामारीको याे त्रासदीपूर्ण समयमा हरेक जनताकाे जिऊ धनकाे रक्षा गर्न तर्फ लाग्नुकाे साटाे म माथि लगाईएका आरोपहरू निराधार र भ्रामक छन । सत्य-तथ्य यथासिघ्र छानवीनहाेस्, स-प्रमाण उपस्थित हुन तयार छु ।

केही दिनदेखि नेपालले भारतबाट खरिद गर्न लागेको खोपमा कमिशन बारेकाे विवाद बाहिरिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच कमिसनमा कुरा नमिल्दा खरिद प्रक्रिया अघि नबढेकाे बताइएकाे छ ।

‘खोप खरिदमा बिचौलियाले १० प्रतिशत कमिसन लिन खोजे, बिचौलियाको सक्रियताका कारण २७ दिनसम्म अप्ठ्यारोमा परियो,’ स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स‌चार माध्यममा भन्नुभएकाे छ ।

सिरमको नेपाली एजेन्ट हुकाम डिस्टिब्युटर्स एन्ड लजिस्टिक प्रालि हो । हुकाम विजय दुगड, अभिषेक दुगड, सुरज वैद्य र ऋतुसिंह वैद्यका नाममा रहेकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button