संक्रमितलाई आवश्यक औषधी रेम्डेशिभिरकाे कालाेबजारी

९० रुपैयाँकाे औषधीमा स्टिकर टाँसेर ८ हजार बेच्नेहरु पक्राउ

पाेखरा न्यूज । सस्तो औषधीलाई महंगो औषधीको स्टिकर टाँस गरी बिक्री बितरण गर्ने औषधी संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोभिड-१९ संक्रमित व्यक्तिलाई आवश्यक पर्ने रेम्डेशिभिर औषधी भन्दै उनीहरुले अर्काे सस्तो औषधी बेचेका थिए ।

पक्राउ पर्नेमा विराटनगर ४ मा रहेको साथी मेडिकल औषधी पसलका संचालक विराटनगर १० अशोक चोकका २६ बर्षीय सोनु आलम र सोही कार्यमा संलग्न विराटनगर १६ रानीका २३ बर्षीय श्रवण कुमार यादव रहेका छन् ।

आलमले संचालन गरेको साथी मेडिकल औषधी पसलमा खानतलासी गर्दा स्टासेफ नामक औषधी ४ बट्टा (सिसी) र रेम्डेशिभिर नामक औषधि १ बट्टा (सिसी) फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिशेष सूचनाको आधारमा पसलकाे खानतलासी गरेकाे थियाे ।

आलमले स्टासेफ औषधी रू ९० मा खरीद गरि रेम्डेशिभिर औषधीको नक्कली स्टिकर टाँस गरी ८ हजारसम्ममा बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानमबाट खुलेको प्रहरीकाे भनाइ छ । उनले उक्त औषधीमा टाँस्ने स्टिकर भारतको पटनाबाट आयात गरी ल्याएको खुल्न आएको हो ।

रेम्डेशिभिर औषधी कोरोना संक्रमितको उपचारमा प्रयोग हुने गरेको छ । याे औषधी बाहिर बजारमा सजिलै उपलब्ध नहुने, कोभिड-१९ उपचारको लागि तोकिएका अस्पतालहरुलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्फत उपलब्ध गराउने गरेको छ ।

सो क्रियाकलापमा संलग्न अर्का यादव भने यसअघी २०७७ साल कार्तिक २५ गते विराटनगर ११ बसपार्क नजिक रातो भाले होटलमा १० ग्राम ब्राउन सुगर बरामद भएको कसूरमा अनुसन्धानको क्रममा फरार रहेका थिए । यादवलाई शुक्रबार विराटनगर १६ रानी आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका आलमलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाइएको छ भने यादवलाई लागूऔषध र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडि बढाईएको सो कार्यालयले जनाएको छ ।

यसैगरी बिहीबार काठमाण्डाैमा रेम्डेशिभिर औषधीको कालो बजारी गर्ने गोरखा आरुघाट गा.पा.वडा नं.-४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौं टोखा बस्ने बर्ष-२५ को रफिक मिया प्रहरीकाे नियन्त्रणमा परेका थिए ।

रेम्डेशिभिरको ६ थानको मुल्य करिब ३० हजार पर्नेमा रु.१ लाख २० हजारमा बिक्रि वितरण गर्ने भनि बार्गेनिङ गरी उक्त औषधी सहित काठमाण्डाैकाे बसुन्धरामा बिक्री वितरण गर्न आएका  बेला उनी प्रहरीकाे नियन्त्रणमा परेका हुन् ।

उनीसँग औषधी कालाेबजारीमा मिलाेमताे गर्ने काठमाण्डाै महाराजगंजस्थित निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दिपक ढकाल भने फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button