गुरुङ फिल्म एसोसिएसन लक्ष्य अनुसार अगाडि बढेको छ : माओत्से

राजाराम पौडेल/ पोखरा न्युज सम्वाददाता । गुरुङ फिल्म एसोसिएसन अफ नेपाल (जिफान) लक्ष्य अनुसार नै अगाडि बढिरहेको संस्थापक अध्यक्ष माओत्से गुरुङले बताउनुभएकाे छ । जिफानको स्थापना दिवसको अवसरमा पोखरा न्यूजसँग कुरा गर्दै  छरिएर बसेका गुरुङ फिल्मकर्मीलाई एकीकृत गरेर एउटै छाता संगठन मार्फत अगाडि बढाउने उद्देश्यले जिफानको स्थापना गरिएको उहाँकाे भनाइ छ।

‘श्रव्य दृश्य मार्फत आफ्ना संस्कार संस्कृतिलाई जगेर्ना गर्दै जानुपर्छ भनेर स्थापना गरिएको थियो’ उहाँ भन्नुहुन्छ । जुन उद्देश्यले जिफानको स्थापना गरिएको थियो सोही अनुसार नै जिफान अगाडि बढिरहेको भन्दै पछिल्लो क्रममा बजार विस्तारको लागि भएका प्रयास सह्रानीय रहेको उहाँकाे धारणा छ ।

त्यसोत तमु युवा साँस्कृतिक परिवारको आयोजनामा २०६४ साल पुष ११ गतेका दिन गुरुङ फिल्मकर्मीहरुको राष्ट्रिय भेला पोखरामा आयोजना भएको थियो । सोही भेलाले निर्देशक माओत्से गुरुङको संयोजकत्वमा ‘तमु चलचित्र विकास बोर्ड’ स्थापना गर्ने निर्णय गरेको थियो। गुरुङ फिल्मको उत्थान र प्रवर्दन गर्ने उदेश्य सहित बोर्डको तदर्थ समिति गठन भयो ।

समितिलाई विधान निर्माण गर्ने, लोगो बनाउने, दर्ता गर्ने र साधारण सभा बोलाउने जिम्मेवारी दिइयो । तदर्थ समितिले संस्था दर्ता गर्न जिल्ला प्रशासन कार्यालय कास्की जाँदा ‘तमु चलचित्र विकास बोर्ड’ नाम अस्विकार गरेपछि नाम परिवर्तन गरियो । सोही तदर्थ समितिले नै ‘गुरुङ फिल्म एसोसिएसन’ नाम राख्यो । भेलाले दिएको म्याण्डेट अनुसार विधान निर्माण, लोगो डिजाइन गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा २०६५ बैशाख २५ गते विधिवत रुपमा संस्था दर्ता भयो । संस्था दर्तासँगै कानुनी मान्यता पाएपछि एसोसिएसनको तदर्थ समितिले मिति २०६५ साउन १ गते पहिलो साधारण सभा तथा अधिवेशन पोखरामा बोलाएको थियो ।

सोही अधिवेशनले तदर्थ समितिका संयोजक माओत्से गुरुङकै अध्यक्षतामा दुई बर्षे कार्यकाल रहने गरी गुरुङ फिल्म एसोसिएसनको पहिलो अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो। त्यसपछि वेद बहादुर गुरुङ श्याम र गिरीप्रसाद गुरुङ नेतृत्वमा पुग्नुभयो । अहिले जिफानको अध्यक्ष भोजबहादुर गुरुङ हुनुहुन्छ ।

गुरुङ फिल्मको सुरुवात ‘पाते’ फिल्मबाट भएको हो । गुरुङ जातिको भाषा, संस्कृति र जीवन पद्धतीलाई आधार बनाएर नेपालमा पहिलो पटक २०५२ सालमा यो गुरुङ फिल्म बनेको थियो । रोधी प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मका लेखक प्रितम गुरुङ र निर्देशक युवराज मास्के हुनुहुन्छ ।

पातेबाट शुरु भएको गुरुङ फिल्मको २६ वर्षको अवधिमा आइपुग्दा १५० भन्दा बढी फिल्म निर्माण भइसकेका छन् । अहिले गुरुङ भाषा र संस्कृतिलाई मात्र केन्द्रविन्दुमा राखेर फिल्म तथा श्रब्य दृश्य सामाग्री उत्पादन गर्ने १५ बढी कम्पनी अहिले क्रियाशील छन । फिल्म निर्माण तथा प्रदर्शन गर्ने क्रम बढ्दै गएको छ । निर्देशकदेखि प्राविधिक र कलाकारको संख्या पनि बढ्दै गएको छ ।

एसोसिएसनले बनाएको विधान अनुसार गुरुङ फिल्म हुनका लागि कम्तिमा ७० प्रतिशत गुरुङ भाषा र संस्कृतिमा आधारित हुनुपर्ने, फिल्म एसोसिएसनमा दर्ता हुनुपर्ने हुन्छ । फिल्म प्रदर्शनको मिति नजुधोस भनेर क्यु सिस्टममा प्रदर्शन गर्ने व्यवस्था मिलाउने गरिएको छ ।
एशोसिएशनले गुरुङ चलचित्र महोत्सब, गुरुङ चलचित्रका कलाकार, प्राविधिक, निर्माता र निर्देशकलाई समेत कार्यशाला गोष्ठी, तालिम लगायतका कार्यक्रम संचालन गर्दै आएको छ ।

आदिबासी जनजाति चलचित्रकर्मिहरुको छातासंगठन आदिबासी जनजाति चलचित्र महासंघमामा पनि ‘गुरुङ फिल्म एसोसिएसन नेपाल’ दर्ता रहेको छ । पछिल्लो क्रममा गुरुङ फिल्म नियमित रुपमा हलमा प्रदर्शन गर्न थालिएको छ । कर्म क्या, रिंजे नासाँ, शिरसुवा, स्यू रु, तमुस्यो र सबन मु फिल्म नियमित हलमा प्रर्दशन भएका थिए । कोरोनाका कारण रोकिएको नियमित फिल्म प्रदर्शन अवस्था सामान्य भएपछि निरन्तरता दिइने जनाइएकाे छ ।

जिफानको साधारण सदस्य, आजिवन सदस्य, कृतिमानी सदस्य र मानार्थ सदस्यको व्यक्तिगत, संस्थागत र फिल्मीग्राफी विवरणलाई जिफानले आधिकारिक वेवसाइटमा राख्ने कार्यलाई सुरुवात गरेको छ । जिफानले सम्पूर्ण सदस्य तथा निर्माण भएका गुरुङ फिल्मको बारेमा व्यवस्थित रुपमा अभिलेखीकरण गर्न खोजेको छ ।

संस्था दर्ता भएको दिन बैशाख २५ लाई जिफानले स्थापना दिवस मनाउँदै आएको छ । कोरोना महामारीको नयाँ भेरियन्टको कारण यो वर्ष औपचारिक कार्यक्रम आयोजना भएन। जिफान अध्यक्ष भोजबहादुर गुरुङले जिफानको १३ औं स्थापन दिवसको अवसरमा सम्पुर्ण संस्थापक, हालसम्मको सम्पुर्ण कार्यसमिति लगायत संस्थाको हित र विकासको निम्ति मन वचन र कर्मले सेवा गर्नुहुने सम्पुर्ण प्रती आभार साथै शुभकामना व्यक्त गर्नुभएको छ । महामारीको समयमा अनावश्यक हिड्डुल नगरी उच्च मनोबलका साथ घरमा नै बस्दै सचेत सजग र सुरक्षित रहन उहाँको आग्रह छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button