कोरोना अस्पताल पुनःसञ्चालन

पोखरा न्यूज । म्याग्दीका स्थानीय तहहरुले कोरोना अस्पताल पुनःसञ्चालन गर्न थालेका छन् । गत कात्तिक/मङ्सिर महिनामा स्थानीय तहहरुले स्थापना गरेको आइसोलेशन र कोरोना अस्पताल कोरोना सङ्क्रमित नभएका र नियुक्त गरिएका स्वास्थ्यकर्मीको करार म्याद सकिएपछि बन्द भएका थिए ।

दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिन थालेपछि बन्द भएका कोरोना अस्पताल र आइसोलेशनमा चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन गरेर पुनः सञ्चालन गर्न थालेका हुन् । बेनी नगरपालिकाले बेनी अस्पताल परिसरमा निर्माणाधीन भवनमा २० शय्या क्षमताको आइसोलेशन निर्माण गरिरहेको छ ।

यसअघि शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालित आइसोलेशनका सामग्रीको प्रयोग गरेर अस्पताल परिसरमा केही दिनमै आइसोलेशन सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । नगरपालिकाले बेनीको हिलसाइडस्थित माउन्ट एभरेष्ट आवासीय माविको पुरानो भवनमा प्रिआइसोलेशन सञ्चालन गरेको छ । धवलागिरि, मङ्गला र रघुगङ्गा गाउँपालिकाले यसअघि स्थापना गरिएको पाँच÷पाँच शय्या क्षमताको कोरोना अस्पताललाई नै निरन्तरता दिएका छन् । धवलागिरिको ताकममा कोरोना अस्पताल र घट्टेखोलामा आइसोलेशन तयार छ । धवलागिरिले कोरोना अस्पतालका लागि नियुक्त गरेका चिकित्सक र नर्सको सेवा करार थपेर राखेको थियो ।

मङ्गला गाउँपालिकाका स्वास्थ्य संयोजक लेखनाथ रोकाले अर्मन स्वास्थ्यचौकीमा स्थापना गरिएको पाँच शय्या क्षमताको कोरोना अस्पताल सङ्क्रमित देखिन थालेपछि पुनः सञ्चालन गरिएको बताउनुभयो । मङ्गलाको कोरोना अस्पतालमा हाल एक सङ्क्रमितलाई राखेर उपचार गरिएको छ । रघुगङ्गा गाउँपालिकाले पिप्लेमा स्थापना गरेको कोरोना अस्पताललाई निरन्तरता दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । मालिका गाउँपालिकाले जनप्रिय माविको भवनमा गत कात्तिकमा स्थापना गरेको कोरोना अस्पताल र आइसोलेशन तीन महिनापछि हटाएको थियो ।

मालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले छ्यारछ्यारेको सभाहलमा २० शय्या क्षमताको आइसोलेशन निर्माण गरिएको जानकारी दिनुभयो । दरवाङ प्राथमिक केन्द्रका चिकित्सक र पूर्वाधारको प्रयोग गरेर कोरोना सङ्क्रमितको उपचार गरिने उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाले नारच्याङस्थित नेपाली सेनाले प्रयोग गरेर छाडेको भवनमा स्थापना गरेको कोरोना अस्पताल पुनःसञ्चालन गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले २० शय्याको आइसोलेशन बनाइएको बताउनुभयो ।

तत्काल मौजुदा स्वास्थ्यकर्मीबाट सञ्चालन गरिने कोरोना अस्पतालका लागि चिकित्सक र नर्स नियुक्त गर्न लागिएको उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको योजनाअनुसार पालिकास्तरमा स्थापना भएको कोरोना अस्पतालमा औषधि, अक्सिजन सिलिण्डर, शय्या विस्तारलगायतका स्वास्थ्य सामग्री व्यवस्थापन गरिएको छ । प्रत्येक पालिकालाई तीन महिनाका लागि एक चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी नियुक्त गर्न मन्त्रालयले बजेट पठाएको थियो । कोरोना अस्पताल स्थापना र सञ्चालन गर्न मन्त्रालयले म्याग्दीका पाँचवटा स्थानीय तहलाई रु १०÷१० लाख पठाएको थियो ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लामा हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १६० छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले करिब १५ दिनको अवधिमा करिब २०० सङ्क्रमित भएको बताउनुभयो । ‘‘जनस्वास्थ्य मापदण्ड पालना नगरी भएका भोजभतेर, मेलाजात्रा, पूजापाठ र घुमघामका कारण कोरोना सङ्क्रमण फैलिएको हो”, उहाँले भन्नुभयो । हालसम्म जिल्लाभर ४७५ सङ्क्रमित भएका छन् । सात जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये अधिकांश होम आइसोलेशनमा बसेका छन् । यसअघि सदरमुकाम बेनी बजारका सङ्क्रमित धेरै भएकामा अहिले ग्रामीण क्षेत्रका सङ्क्रमित बढी छन् ।

सिङ्गा, तातोपानी, दरवाङ, बाबियाचौर, कुहुँ, अर्मन, ताकम, लुलाङ, पिप्ले, भगवती, पोखरेबगर, घोडेपानी, भुरुङ–तातोपानीलगायत ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमण फैलिएको छ । कोरोना सङ्क्रमण फैलिएसँगै बेनी नगरपालिका क्षेत्रमा बिहीबारदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा भएको छ । धवलागिरि–७ लाई वैशाख मसान्तसम्म सिल गरिएको छ । धवलागिरि–६ मराङलाई पनि शनिबारदेखि सिल गरिएको वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । धवलागिरि गाउँपालिका, वडा कार्यालय र सेवा केन्द्रको सेवा पनि अनिश्चितकालका लागि बन्द भएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिकाले पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button