
पोखरा न्यूज । कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएसँगै कास्की प्रशासनले जारी गरेको निषेधाज्ञा आज १२ दिनमा जारी छ । नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमण फैलिँदै गएको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञाको सुरुका दिनमा मानिसहरुको चहलपहल बाक्लै हुने गरेपनि पछिल्ला दिनमा पोखराका सडक र मुख्य चोकहरु सुनसान छन् । मानिसहरु घरभित्रै बस्न थालेका छन् ।प्रशासनले निषेधाज्ञा अवधिभर अत्याश्यक कामवाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न सभाजुलुस गर्न जात्रा महोत्सव गर्न निषेध गरेको छ ।

तर औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घन्टा खुला रहन अनुमति दिएको छ । त्यस्तै उपभोग्य, खाद्यान्न र निर्माण सामग्री पसलहरु बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ । कास्कीमा निषेधाज्ञाको समय बढाएर बैशाख मसान्तसम्म पुर्याइएको छ ।
कास्कीमा दिनानुदिन कोरोनाका संक्रमित र त्यसका कारण मृत्यु हुनेकाे संख्या वृद्धि हुँदै गएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको पछिल्लो जानकारी अनुसार पछिल्लाे २४ घण्टामा ११ जनाको पोखराका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको छ ।

पोखरामा एकैदिन ११ जनाको मृत्यु भएको यो पहिलो हो र हिजोपनि पोखरामा ३ जना संक्रमितको मृत्यु भएको थियो । हाल कास्कीमा २ हजार ७ सय २९ जना कोरोनाका सक्रिय विरामी छन् भने कोरोनाका कारण हालसम्म १३९ जनाको ज्यान गइसकेको छ ।







