कोरोना सङ्क्रमित बिरामीकाे उपचारमा लापरवाही गरेकाे अस्पताललाई प्रशासनको पत्र

पोखरा न्यूज । अस्पतालमा उपचाररत बिरामी अन्यत्र लैजानु भन्दै आइसीयुबाट निकाल्ने र स्वीकृतभन्दा बढी बिरामी भर्ना गर्ने अस्पताललाई  भक्तपुर प्रशासनले स्पष्टीकरणको पत्र पठाएको छ ।

भक्तपुरको मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार पत्र पठाएको छ ।

साे अस्पतालले अन्यत्र लैजानु भन्दै आइसीयुबाट बाहिर निकालेका पोखरा स्थायी घर भएका ६० वर्षीय पुरुषको अल्का अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सो अस्पतालले बिरामीलाई रिफरको कागजपत्र नदिई जबरजस्ती अन्यत्र लैजान भन्दै बिरामीलाई आइसीयुबाहिर निकालेको मृतकका आफन्तको आरोप छ ।

अस्पतालको गम्भीर लापरवाहीका कारण पाेखराका ६० वर्षीय पुरुषसहित दुई कोरोना सङ्क्रमितको मृत्यु भएको र स्वीकृतभन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा कारवाही गर्न प्रशासनले सो अस्प्ताललाई पत्र पठाएको हो । अक्सिजन नहुँदा भेन्टिलेटरमा उपचाररत कोरोना सङ्क्रमित भक्तपुर कमलविनायकका ४५ वर्षीय पुरुषको सोही अस्पतालमा मृत्यु भएको थियो ।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाएको जानकारी दिनुभयो । “कारवाहीको प्रक्रिया शुरु गरेका छौँ । त्यसका लागि अस्पताललाई पत्र पठाएका छौँ”, उहाँले भन्नुभयो । उहाँले अनुसन्धानका धेरै पाटो अहिले नै खुलाउन नहुने जानकारी दिँदै अस्पताललाई पत्र पठाएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यो अनुसन्धानको पाटो हो । धेरै कुरा अहिले नै खुलाउन नमिल्ला ।” उहाँले पत्रको जवाफ आएपछि थप प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

पन्ध्र शय्याको स्विकृति पाएको सो अस्पतालले क्षमताभन्दा दोब्बर बिरामी भर्ना लिएको थियो । स्रोतका अनुसार सो अस्पतालमा बिहीबार साँझ २८ कोरोना सङ्क्रमितलाई भर्ना लिइएको थियो । दिउँसोदेखि नै अक्सिजनको अभाव झेलेको अस्पतालले समयमा अक्सिजनको व्यवस्था गर्न नसकेपछि राति आइसीयु र भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीलाई समेत निकालेर अन्यत्र लैजान बिरामीका आफन्तलाई दबाब दिएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button