तनहुँका दुई पालिकामा पनि आजदेखि लकडाउन

पोखरा न्यूज । जिल्ला प्रशासन कार्यालय तनहुँले घिरिङ र ऋषिङ गाउँपालिकामा पनि आज निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार घिरिङ र ऋषिङका सम्पूर्ण भागमा आजदेखि निषेधाज्ञा आदेश जारी भएको हो ।

यसअघि जिल्लाका आठ स्थानीय तह र ऋषिङ गाउँपालिका–१ मा मात्रै निषेधाज्ञा गरिएको थियो । कोभिड सङ्क्रमणको उच्च जोखिमलाई मध्यनजर गरी जिल्लाभर निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

यसअघि खाद्यान्नका पसल बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ने भनिएकामा अब बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र खुल्नेछन् । कार्यालयका अनुसार उक्त अवधिमा खाद्यान्न, तरकारी, फलफूल, दूध र दुग्धजन्य पदार्थ, माछा, मासु, अण्डा, दाना, पशुपक्षीको उत्पादन र बिक्री वितरण र निर्माण सामग्री पसल खुल्नेछन् ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा एम्बुलेन्स, ग्यास, पेट्रोलियम पदार्थ, खानेपानी, औषधि तथा उपचार सामग्री, स्वास्थ्य संस्था, अस्पताल, दूरसञ्चार, फोहरमैला व्यवस्थापन, बैंकको एटिएम सेवा, डाँक सेवा र सार्वजनिक निर्माणसम्बन्धी कार्य सञ्चालन गर्न पाइन्छ ।

त्यस्तै माथि उल्लिखित भएकाबाहेक अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने, बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य सहभागी हुनुपर्ने अवस्था) का लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति लिनुपर्नेछ । सञ्चारकर्मीको हकमा सूचना विभाग वा सम्बन्धित सञ्चारगृहले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button