‘सत्यम’ फिल्मको छायाकंन भदौमा गर्ने तयारी

२० जना कलाकार अडिसन मार्फत छनोट

पोखरा न्यूज सम्वाददाता । नेपाली कथानक फिल्म ‘सत्यम’को छायाकंन आगामी भदौ महिनाबाट गर्ने तयारी गरिएको छ । नवयुग सिनेमा प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मको छायाकंन कोरोनाको दोस्रो भेरियन्टका कारण केही पछाडि सरेको हो ।

यस अगाडि नेपाली नयाँ वर्षको अवसरमा छायाकंनमा जाने तयारी निर्माण पक्षले गरेको थियो । फिल्मको छायाकंन मुख्यगरी पोखरा, काठमाण्डौ, मनाङ र चितवनमा गरिनेछ । फिल्ममा महानायक राजेश हमाल सहित पल शाह, अनुप विक्रम शाही र मिलन सिजापतीको मुख्य अभिनय रहनेछ ।

यसका अलावा फिल्मका लागि पोखराका ६ सहित २० जना छानिएको निर्माता रेशम सापकोटाले जानकारी दिनुभयो । उनीहरु विभिन्न ठाउँमा भएका अडिसन मार्फत छनोट भएका हुन् । यसका अलावा पोखराबाट सामान्य भुमिकाको लागि थप २२ जना छनोट भएका छन् । अडिसन मार्फत छानिएका कलाकारको लागि कुन भुमिका दिने भन्ने बारेमा छायाकंनमा जानुभन्दा अगाडि आयोजना गरिने वर्कसप पछि निर्धारण गरिनेछ । वर्कसप पोखरा र काठमाण्डौमा आयोजना हुनेछ ।

फिल्मको लागि हालसम्म नायिका फाइनल भएको छैन । अडिसन मार्फत छानिएका २० जना मध्यबाटनै फिल्मको लागि नायिका छनोट हुने सम्भावना बढी रहेको निर्माता सापकोटाले पोखरा न्युजलाई बताउनुभयो । यसका अलावा फिल्म क्षेत्रमा स्थापित बनिसकेका नायिकासँग समेत कुरा भइरहेको समेत उहाँले खुलाउनुभयो ।

सत्यम चलचित्रको निर्देशन शंकर कार्कीले गर्नुहुनेछ । कथा रेशम सापकोटाले लेख्नुभएको हो । निर्माता समेत सापकोटा नै रहेको फिल्मको एशोसियट निर्मातामा श्याम मल्ल र गणेश पौडेल हुनुहुन्छ । यसैगरी सह निर्मातामा रेशम गौतम र कृष्ण अधिकारी रहनुभएको छ । फिल्ममा संगीत योगेश काजीको हुनेछ । यसैगरी कुटुम्ब ब्याण्डको थिम संगीत तथा ब्याकग्राउण्ड स्कार तथा गणेश पौडेलले सहायक संगीत श्रृजना फिल्ममा रहनेछ । फिल्ममा समावेश हुने दुई गीत रेशम सापकोटा र बिष्णु निरिशले गर्नुभएको छ । फिल्मको लागि गीतको काम सकिएको सापकोटाले बताउनुभयो ।

फिल्मको डिओपीमा बिदुर पाण्डे ‘नबिन’, प्रोडक्शन हेड दिनेश प्रकाश महरा, प्रोडक्शन म्यानेजर प्रकाश हमाल, एशोसियट निर्देशक सुबास सुबेदी हुनुहुन्छ । यसैगरी सह–निर्देशकहरु राम कुमार श्रेष्ठ र शान्ती तामांग रहनुभएको छ । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्टमान महर्जनको द्वन्द्व फिल्ममा रहनेछ ।

फिल्म क्षेत्रमा पहिल्यैदेखि रुचि भएका लेखक सापकोटाको यो पहिलो फिल्म हो । फिल्म क्षेत्रमा केही गर्ने जोश आएर काम गर्न कस्सिएको उहाँ बताउनुहुन्छ । ‘यो फिल्मको कथा मानिसको कल्पना हो । फेन्टास्टिक आइडिया दिमागमा आयो अनि स्क्रिफ्ट तयार गरेको हुँ । राजेश हमाललाई लक्षित गरेर स्क्रिफ्ट तयार गरे अहिले उहाँले स्क्रिफ्ट मनपराएको कारण थप उर्जा थपिएको छ’ सापकोटा बताउनुहुन्छ ।

राजेश हमालको सकारात्मक हस्तक्षेप हुने फिल्ममा हमालले अरु कलाकारले कस्तो अभिनय गरेका छन् त्यसलाई समेत ध्यान दिएर हेर्नुहुनेछ । हमालको ३० वर्षको चलचित्र क्षेत्रको अनुभवलाई सुझाबको रुपमा लिएर काम गर्न तयार छौं भनेर प्रतिबद्धता निर्माण पक्षले गरिसकेको छ । हमालले अभिनय गर्ने फिल्म कमजोर आउनुहुन्न भन्नेमा सचेत भएको सापकोटाको भनाई छ । फिल्म ३ करोड ५० लाख भन्दा बढीको लगानीमा निर्माण हुने निर्माण पक्षको अनुमान छ । सत्यमलाई व्यवसायिक फिल्म बनाउन भरपुर मेहनत गरिने निर्माण पक्षको दावी छ ।

यसअघि फिल्ममा महानायक राजेश हमाल औपचारिक रुपमा आवद्ध भएपछि निर्माण पक्षले फिल्मको ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक गरेको थियो । पोस्टरमा राजेश हमाललाई महानायक लेख्दै उहाँको स्केच फोटोलाई राखिएको छ । सार्वजनिक स्केच पोईन्टब्रेक मिडियाले बनाएको हो भने पोस्टर विजय बस्यालले तयार पार्नु भएको छ ।

सत्यम फिल्मको मुख्य विषयवस्तु सामाजिक र राजनीतिक हुनेछ । तर, फिल्ममा दर्शकले कमेडी सहितको मनोरञ्जन पाउनेछन् । फिल्ममा समावेश हुने कमेडी डाइलगलाई रमाइलो बनाउनको लागि कमेडि च्याम्पियनमा सहभागी भएकालाई जिम्मा दिइएको निर्माता सापकोटाले खुलाउनुभयो ।

 

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button