यौनजन्यसहित अन्य हिंसा तत्काल सम्बोधन गर्न प्रहरी तत्पर

पोखरा न्यूज । घरेलु, यौनजन्य वा अन्य लैंगिक हिंसालाई तत्काल सम्बोधन गर्न नेपाल प्रहरी हरदम तत्पर रहेको जनाएकाे छ । कोभिड-१९ ले निम्त्याएको विषम परिस्थितिमा महिला, बालबालिका, जेष्ठ नागरिक वा जोखिमपूर्ण अवस्थाका जो कोही विरुद्ध हुने हिंसा सम्बन्धी गुनासाेबारे जानकारी दिन प्रहरीले सर्वसाधारणसँग आग्रह पनि गरेकाे छ ।

हिंसालाई तत्काल सम्बोधन गर्न गुनासो सुन्ने व्यवस्था समेत गरेको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयले भनेको छ, “कृपया हिंसा सहेर वा हेरेर नबसौं, बेलैमा उजुरी गरौँ । यो संकटको समयमा हामी तपाईसँगै छौँ ।” लैंगिक हिंसा सम्बन्धी गुनासोको लागि टोल फ्री १०० र बालबालिका सम्बन्धी १०४ नम्बरमा सम्पर्क गर्न सकिने उक्त निर्देशनालयले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरिएन्ट सहितको कोभिड-१९ को दोस्रो लहरले पुन: निम्त्याएको जोखिमपूर्ण परिस्थितिमा हिंसाका घटनाहरू बढ्न सक्ने सम्भावनालाई मध्यनजर राखि सुसूचित हुन विशेष सूचना जारी गर्दै उक्त निर्देशनालयले सर्वसाधारणमा सचेत हुन आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button