
तिलु शर्मा पौडेल, दोहा कतार । नयाँ भेरियन्ट कोरोनाका कारण नेपालमा अक्सिजनको चरम अभाव हुन थालेपछि मध्यपूर्वमा रहेका नेपालीहरूले ६ सय अक्सिजन सिलिन्डर सहयोग स्वरूप नेपाल पठाउने अन्तिम तयारीमा जुटेका छन् l गैर आवासीय नेपाली सङ्घ मध्यपूर्वले ६ सय अक्सिजन सिलिन्डर यही हप्ताभित्र नेपाल पठाउन लागेको हो ।
नेपाली राजदूतावास ओमानको सहकार्यमा ओमानबाट ४० लिटर क्षमताका ६ सय वटा सिलिन्डर नेपाल पठाउने अन्तिम तयारीमा लागेको यस अभियानका संयोजक तथा एनआरएन आइसिसी सचिव आरके शर्माले जानकारी दिनु भएको छ ।
‘अहिले नेपालमा कोरोना सङ्क्रमितले हस्पिटलमा बेड नपाएर छटपटाई छटपटाई ज्यान गुमाउनु परेका हृदय विदारक अवस्था छ भने अक्सिजनका सिलिन्डर को अभावले गर्दा बचाउन सकिनेको पनि ज्यान गइरहेको छ, आजको यो स्थितिमा हामी मध्यपूर्ववासी नेपालीले एक हप्ताभित्र अक्सिजनका सिलिन्डर नेपाल पठाउन अभियान सुरु गरेका छौ’ संयोजक शर्माले बताउनु भयो। ‘कोभिडको विषम परिस्थितिमा सिङ्गो मध्यपूर्वका नेपालीको अभियान, ६ सय अक्सिजन सिलिन्डर मार्फत दैनिक १२ सय नेपालीलाई जीवनदान’ भन्ने नाराका साथ एनआरएन मध्यपूर्वले अभियान थालेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
मध्यपूर्वमा रहेका एनआरएन एनसीसी, सङ्घसंस्था तथा सहयोगी हातहरूबाट रकम उठाएर पहिलो चरणमा नेपालमा अक्सिजन सिलिन्डर पठाउन लागिएको एनआरएन मध्यपूर्वका संयोजक प्रवीण गुरुङले सम्मेलनमा बताउनु भएको थियो । नेपालमा अक्सिजन उत्पादन भएता पनि सिलिन्डर अभाव हुँदा बिरामीले अक्सिजन पाउन सकेका छैनन् । ओमानमा सिलिन्डर खरिदका लागि प्रक्रिया अगाडि बढिसकेको र नेपाली दूतावास ओमानले सहजीकरण गरी रहेको एनआरएनका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिनु भयो ।
एनआरएन सल्लाहकार टिबी कार्की, मध्यपूर्व उपसंयोजक द्वय मनोज गोर्खाली, राजेन्द्र अर्याल, एनआरएन ओमानका अध्यक्ष विकल झाले मध्यपूर्वमा रहेका आम नेपालीलाई नेपालमा अक्सिजन सिलिन्डर पठाउने अभियानमा सहयोग गर्न आग्रह गर्नु भएको थियो । कोरोना बिरामीले अक्सिजन अभावबाट मृत्यु हुन नपरोस् भन्ने मध्यपूर्वको अभियानमा सबैको साथ र सहयोगको जरुरी देखिएको छ ।





