लोकनृत्य हाम्रो पहिचान हो, यसलाई जोगाउनुपर्छ: युवराज गुरुङ

सफल हुन धैर्यता चाहिन्छ, नृत्यमा लागेर बाँच्न सक्ने आधार बनेको छ

पोखरा न्यूज सम्वाददाता । नृत्य क्षेत्रमा अगाडि बढ्दै गरेको प्रतिभा हुनुहुन्छ युवराज गुरुङ । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ४ एलादिमा जन्मनुभएका उहाँ पछिल्लो समयमा नृत्य क्षेत्रमा स्थापित बन्दै जानुभएको छ । उहाँ नृत्य क्षेत्रमा लागेका झण्डै १८ वर्ष भैसकेको छ । हाल उहाँ कलाकार, नृत्यकार, नृत्य शिक्षक र नृत्य निर्देशकका रूपमा यो क्षेत्रमा अगाडि बढिरहनुभएको छ ।

यसरी नृत्य क्षेत्रमा यात्रा तय गर्न उहाँलाई सहज थिएन । विभिन्न चुनौतीलाई चिर्दै लगाव मेहनतका कारणनै आज बेग्लै पहिचान बनाउन सफल हुनुभएको हो । सुरुवाती दिनदेखि आजसम्म उहाँको जोशमा कमी आएको छैन । त्यसैलेत नृत्य क्षेत्रमा केहि गर्ने सोचका साथ यात्रा निरन्तर अगाडि बढाउने योजना उहाँले बनाउनुभएको छ ।

उहाँ नेपाल चलचित्र नृत्य कलाकार संघ गण्डकी तथा नृत्य निर्देशक संघ गण्डकी प्रदेशको सह–कोषाध्यक्ष, डाँफे कला मन्दिरको संस्थापक कलाकार(सदस्य) र हिमाली सांस्कृतिक परिवारका अजिवन, कार्यसमिति अनि नृत्य बिभाग उप–प्रमुख हुनुहुन्छ ।

सन्फलावर बोर्डिङ स्कुल पोखराको नृत्य शिक्षक तथा खेलकुद प्रशिक्षक, कास्की मोर्डनाइज्ड एकेडेमी पोखरा नृत्य शिक्षक तथा प्रशिक्षक मात्र नभएर आर्ट अफ कल्चर पोखराको प्रबन्धक निर्देशक समेत जिम्मेवारी उहाँलाई छ । विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा समेत उहाँ क्रियाशील बन्न खोज्नुभएको छ । उनै प्रतिभा युवराज गुरुङसँग यसपाली हामीले नृत्ययात्रासँग सम्बन्धित रहेर केही प्रश्न गरेका छौँ ।

तपाईको नृत्य यात्रा कसरी शुरु भयो ?
मलाई थाहा थिएन, सोचेको समेत थिइन म नृत्यकार तथा कलाकार बन्छु भनेर । सानैदेखि लजालु स्वभाव भएको मान्छे थिए । सोही कारण कम बोल्ने, एक्लै बस्न रुचाउने बानी थियो । त्यसैले त स्कुले साथीहरु कसरी नृत्य क्षेत्रमा प्रवेश गर्‍यो यो भनेर अझै भन्नुहुन्छ ।

म सानैदेखि लुकिछिपी नाच्ने, नाच मन पराउने, नाचेको कार्यक्रमहरु मन पराउने स्वभावको भएपनि त्यतिबेला नाच भन्दा भलिबल खेल्ने बढी रुचि राख्थे । स्कुलमा हुने र स्कुल स्तरीय सबै प्रतियोगितामा भलिबल खेलबाट सहभागी बन्ने गरेको थिए । सोही क्रममा कक्षा १० मा अध्ययनरत रहँदा २०६१ सालमा स्कुलबाट बिरेन्द्र शिल्ड भलिबल प्रतियोगितामा भाग लिएका थियौँ । सो प्रतियोगीतामा हामी बिजेता मात्र भएनौ म प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित बने । सानो उमेरमा नै जिल्ला भलिबल प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गरेपछि खेल क्षेत्रको यात्रा झनै बढ्यो ।

प्रवेशिका परिक्षा दिएपछि मलाई थप अध्ययन गर्न मन लागेन । किनकि घरको आर्थिक अवस्था राम्रो थिएन । त्यसैले विदेशमा जानुपर्छ भन्ने सोच मनमा आइरहन्थ्यो । तर एक्कासी स्कुलबाट खबर आयो स्कुल प्रशासनले मलाई प्लस टु पढ्न निःशुल्क छात्रावृत्तिको ब्यबस्था मिलाइदिनु भएको छ भनेर । अनि मेरो विदेश जाने सोचमा परिवर्तन आएर अध्ययनतर्फ लागे ।

एकदिन मेरो बाबाले डाँफे कला मन्दिरमा जाउँ हाम्रो फुपु पर्नेको छोरीहरु छ मैले सबै कुरा गरिसकेको छु भन्नूभयो । म नाचेको देख्नुभएको बाबालाई मलाई नाच्न मनपर्छ भनेर थाहा थियो । सुरुमा त बाबाको इच्छा मलाई बिदेश पठाउने नै थियो । यहीं अध्ययन गर्नथालेपछि उहाँले मेरो मनभित्रको रहर बुझ्नुभयो । फलस्वरुप म डाँफे कला मन्दिर न्युरोडमा गए । बाबासँग मेरो बारेमा सबै कुरा भैसकेको रहेछ । अनि नृत्य गुरु मनोहर राना मगरबाट ३ महिनाको नृत्य कोर्स गर्न थाले ।

तालीम गर्न थालेको पहिलो महिनामानै गुरु मनोहरले मेरो प्रतिभालाई नियाल्नु भएछ । उहाँले मेरो नृत्यमा मेहनत, लगाव, झुकाव के देख्नु भयो थाहा छैन तर एक्कासी तिमी अब डाँफे कला मन्दिरको नृत्य टिममा आउनु पर्छ भन्नुभयो । म सानो केटा सबै म भन्दा सिनियर हुनुहुन्थ्यो । सिनिएर दाइ, दिदी तथा गुरुहरुसँग नाच्नुपर्ने भयो ।

म नृत्य टिममा सहभागी भए । एकातिर खुसी थिए भने अर्कातिर डर समेत लगिरहेको थियो । त्यसबेला लाइभ बाजा बाजाउने, लाइभ नाच्ने चलन थियो । म विस्तारै सबै नाचहरु सिकेर टिममा सहभागी भए । अनि विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा सहभागी हुन थाले । लाइभ नाच्नुको मज्जा नै छुट्टै हुन्थ्यो । यसरी मेरो नृत्यको यात्रा डाँफे कला मन्दिर न्युरोडबाट शुरु भएको थियो । यात्रा तय हुनुमा मेरो बाबाको भुमिका मुख्य रहेको छ ।

नृत्यको कुन विधा मनपर्छ ?
मलाई मैले गर्दै आएको लोक नृत्य (टिपिकल कल्चरल ) बिधा मनपर्छ । मैले मेरो कला देखाउन सक्ने बिधा नै यहीं हो ।

बाल्यकालमा आफ्नो इच्छा कसरी पुरा गर्नुहुन्थ्यो ?
बाल्यकाल अलि गाह्रौ नै थियो । म सामान्य परिवारमा जन्मिएको मानिस । अझ घरको जेठा छोरा । ममुनि एक भाइ, तीनजना बहिनीहरु थिए । भाइ बहिनीहरु सबै स–साना भएकोले हेर्नुपर्ने हुन्थ्र्यो । बाबा आमाको कमाइले मात्रै घरखर्च, व्यवहार चलाउन निकै गाह्रो थियो । सोही कारण मैले मेरा मनका रहर उहाँहरुलाई भनिन । मैले उहाँको पिडा बुझेको थिए । त्योबेला मलाई टिभी हेर्न एकदमै मनपर्ने । तर त्यो बेला टिभी हेर्न अर्काको घरमा जानुपथ्र्यो । अर्कोको घरमा जाँदा ढोका लगाइदिने गर्थे । सोही कारण बाल्य अबस्थामा आफ्ना मनका इच्छा कमै मात्रामा पूरा हुन्थे ।

तपाईलाई मनपर्ने नृत्यकार ?
धेरै हुनुहुन्छ । तीमध्ये गौरी उपनामले परिचित बुद्धि प्रसाद गुरुङ मालई मनपर्ने नृत्यकार हुनुहुन्छ । उहाँ डाँफे कला मन्दिरको सस्थापक कलाकार तथा हिमाली सांस्कृतिक परिवारको वरिष्ठ सल्लाहकार रहनुभएको छ ।

नृत्य क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
नृत्य क्षेत्रमा लागेर जीवन धान्न अझै गाह्रो छ । नृत्य व्यावसयिक त बनिसकेको छ तर हामी कलाकारहरुको अवस्था उस्तै छ । मानिसले हामीहरुलाई हेर्ने दृष्टिकोण खासै राम्रो देखिदैन । अनि कसरी नृत्यमा बिकास आउँछ र ? पहिला हेर्ने अनि सोच्नेमा सकारात्मक सोच परिवर्तन आउनुपर्छ । नृत्यकलाकारको प्रतिभालाई कदर गर्ने अवस्था हुने हो भने बल्ल नृत्य कलाकारहरु बाच्ने आधार बन्ने थियो । हुनत विगतको तुलनामा केही सकारात्मक परिवर्तन भने भएका छन् । अहिले नृत्य शिक्षक, म्युजिक भिडियोहरुमा कोरियोग्राफी, नृत्य निर्देशन गरेर जिविकोपजन गर्ने बाटो बनेको छ । आशा गरौँ अब अझै राम्रो अवसरहरु मिल्नेछ । जसका कारण यो क्षेत्रमा लागेर सजिलै जीवन धान्न सकिनेछ ।

तपाईले देखेको सपना ?
सपनाहरु त धेरैछन् । कलाकार भएकोले कलायात्रामा हिड्दैछु, सिक्दैछु, बुझ्दैछु, मेहनत गर्दैछु, यसैमा लागिपरेको छु । ती मनका सपना पूरा गर्ने कोशिश गर्दैछु । हेरौ समयले कता–कता पुर्‍याउँछ ।

नेपाली नृत्य क्षेत्रका सकारात्मक कुरा ?
नेपाली नृत्य क्षेत्रमा धेरै सकारात्मक सोच आइसकेको छ । नृत्यलाई बुझ्नेहरु बढ्दैछन् । नेपाली लोक नृत्य भनेको हाम्रो पहिचान हो, चिनारी हो, सान हो, यसलाई जोगाउनुपर्छ । हाम्रो संस्कृती लाई जगेर्ना गर्दै लोप हुनबाट बचाउनु पर्छ भन्नेमा सबै पुगिसक्नुभएको छ । फलस्वरुप अहिले लोकनृत्यलाई माया गर्नुपर्छ भन्ने खालका सकारात्मक सोचहरु आइरहेका छन् ।

नेपाली नृत्य क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?
हाम्रो देश नेपाल लोक संस्कृतिमा धनी छ । नेपाली लोकनृत्य भनेको नेपालीको पहिचान बोकेको नृत्य हो । इतिहास परापुर्बकालदेखि चलिआएको, गीत संगीत रितिरिवाज, चालचलन, भेषभुषा आदि सबैमा नेपालीपन झल्किदै मौलिकता बोकेको हुन्छ । अरुको भन्दा हाम्रो नेपालको फरक शैलीको नृत्य छ । जसलाई हामीले बचाउँदे पुर्खा हस्तान्तरण गर्नुपर्छ । विदेशी संस्कृतीको प्रभावलाई हाम्रो नृत्य क्षेत्रमा पर्न नदिई आफ्नै मौलीकताको जगेर्ना गर्नतर्फ सबै लाग्नुपर्छ ।

आफुमा निखारता कसरी थप्दै आउनुभएको छ?
शुरु–शुरुमा मैले नृत्यलाई मनोरञ्जनको लागि मात्र हेर्र्थेे । अहिले कामले काम सिकाएको छ । किनकी नृत्यनै मेरो पेशा बनेको छ । पेशा नै यहीं भएपछि निरन्तर यसमा लागिपरेको छु,, मेहनत गरिरहेको छु, हेरेर, बुझेर, गरेर, जानेर आफुमा भएको कमीकमजोरी लाई सुधार गर्दै गएको छु । निखारता आउनको लागि मेहनत अनि काम प्रतिको लगाव हो जसलाई मैले मनन गर्दै अगाडि बढिरहेको छु ।

नृत्य क्षेत्रबाट पाएको कुरा ?
नृत्य क्षेत्रबाट पाएको कुरानै एउटा कलाकारको रूपमा चिरपरिचित हुनु हो । कलाकार, खेलाडी भनेपछी जस्ले पनि छिट्टै चिनिहल्ने गर्नुहुन्छ । आज यहीं नृत्यबाट नै कलाकार, नृत्य शिक्षक, नृत्य निर्देशकको परिचय रूपमा पाएको छु । खुसी छु । बाच्ने आधार यसैले गराईदिएको छ यो नै मेरो ठूलो उपलब्धिको रुपमा पाएको छु ।

नृत्य क्षेत्रबाट गुमाएको कुरा ?
पुरानो डाँफे कला मन्दिरका संस्थापक हामी सबैको अग्रज गुरु स्वं क्याप्टेन मीन बहादुर गुरुङज्यूले नै डाँफे कला मन्दिर स्थापन गर्नुभएको हो । उहाँले कला अनि कलाकारलाई असाध्यै माया गर्ने तथा गीत, संगीत भनेपछी हुरुक्कै हुने गर्नुहुन्थ्यो । उहाँलेनै गर्दा नेपालका अग्रज कलाकारहरुले आफ्नो नाम नृत्य, कला क्षेत्रमा रोशन गर्नुभएको छ । उहाँ अहिले हामीमाझ हुनुहुन्छ । तर हामी उहाँलाई बिर्सन सक्दैनौ । डाँफे कला मन्दिर समेत आज एकादेशको कथा जस्तै हुन लाग्यो । यो क्षेत्रमा उहाको योगदान अतुलनीय रहेको छ । यदि उहाँ अझै भैदिए कैयो कलाकारहरु अनि प्रतिभावन कलाकारहरुको जन्म हुन्थ्यो होला भन्ने मेरो मनमा आउँछ । नृत्य क्षेत्रमा आएपछि उहाँलाई गुमाउनुपर्दा निकै दुःखी भए । डाँफे बाजेको रुपमा समेत परिचित उहाँको म अन्तिम कलाकार तथा प्रशिक्षार्थी हँु ।

नृत्य तर्फको आकर्षण कस्तो छ ?
अहिलेको समयमा धेरै नै राम्रो छ । नृत्य, गीत, संगीतसँग जोडिएको एउटा मिश्रित चिज हो । नृत्य जो कोहिलाई पनि मनपर्छ । यस्मा दिनप्रतिदिन नयाँपन, नया तरंग आइरहेको हुन्छ । नृत्यमा भएको फरक तथा मिठो शैलीका कारण यसप्रतिको आकर्षण बढ्दै गएको छ ।

नृत्य क्षेत्रमा लागेर गर्नु भएका उपलब्धीहरु ?
भर्खर–भर्खर कला क्षेत्रमा प्रवेश गर्दा एकल भन्दा पनि सामुहिक नृत्यमा पुरस्कार जितेको थिए । अर्को कुरा सन् २०१९ को जुनमा चिनको बेइजिङ शहरमा भएको १६ राष्ट्रको सांस्कृतिक आदानप्रदान कार्यक्रममा म नेपालको नृत्य टोलिमा सहभागी थिए । र, गण्डकी प्रदेशको तर्फबाट टोलि प्रमुख भइ नेपालको झण्डा फहराउदै सांस्कृतिक टोली चीनमा सहभागी भई उत्कृष्ट प्रदशन गरेको कुरा अहिलेसम्मको जिन्दगीको अविस्मणीय र ठूलो उपलब्धि लाग्छ मलाई ।

अबका योजना के छन् ?
अझै योजना बनाइसकेको छैन । किनकि म अझै सिक्दैछु, यात्रामा हिडिरहेको छु, नृत्यलाई अझै नजिकैबाट बुझ्न बाँकी छ । यसैमा लगिपरेपछी यसैलाई गहिरो रुपमा अध्ययन गर्नुपर्ने हुन्छ । मनभित्र योजनहरु छन् समय आए ती योजना सुनाउनेछु र काम गर्नेछु ।

अन्त्य के भन्नुहुन्छ ?
कलाकारहरुले यो क्षेत्रमा आएको सुरुवाती दिनमानै ठूलो ठुलो भाग खोज्न हतारिन्छन । यसले सफल बनाउँदैन । निरासा बढाउँछ । सफल हुन धैर्यता चाहिन्छ । म सबैलाई के भन्छु भने नृत्य फिल्ड धेरै राम्रो छ । यसमा सबै भन्दा ठूलो अनुशासन चाहिन्छ । मेहनत गर्दै समयलाई चिन्दै निरन्तरता दिन सके सफलता टाढा छैन । आज नृत्य पेशामा लागेर बाच्न सक्ने आधार बनिसकेको छ ।

कलाकार मात्रै नभाई विभिन्न स्कुलहरुमा नृत्य शिक्षकको जागिर, म्युजिक भिडियोहरुमा नृत्य निर्देशन, कोरियोग्राफी आदि राम्रो अवसरहरु बनिसकेका छ । मात्रै धैर्य गर्नुस, मेहनत गर्नुस, लगिरहनुस भन्दै मेरो यात्रामा साथ, सपोर्ट गर्नुहुने मेरो सम्पुर्ण गुरुवर्गहरु, मार्ग निर्देशकहरु, डाँफे कला मन्दिर, हिमाली सांस्कृतिक परिवार र अध्यक्ष मेनकाजी गुरुङ, म आबद्ध संघ सस्थाहरु, मेरो गुरु मनोहर राना मगर सबैमा नमन गर्दछु । यसरी नै नृत्य क्षेत्रमा लगिरहनेछु भन्ने वाचा गर्दछु । सबैले सदैव माया गरिरहनु होला, आशीर्वाद दिनु होला सबैमा आभार । यो अवसरको लागि तपाई प्रती कृतज्ञता व्यक्त गर्दछु । जय नाट्यश्वरी !! जय नृत्य !!

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button