३३ जना बढी भाडा लिनेहरु प्रहरीकाे नियन्त्रणमा

पाेखरा न्यूज । बढि भाडा लिइ यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निगरानी गरि हालसम्म ३३ जनालाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको ट्राफिक प्रहरीले जनाएकाे छ ।

ठगी गर्नेहरु बिरुद्धको अपरेसन टोलीले बैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामको सिलसिलामा उपत्यका बाहिरी जिल्लाहरु जाने यात्रुसँग छ गुणासम्म बढि भाडा लिने गरेको र त्यस्तो कार्यमा काउण्टरका कर्मचारीहरुको समेत संलग्नता पाएपछि पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डाैंकाे भनाइ छ ।

“निषेधाज्ञा पश्चात यात्रुहरुसँग तोकिएकोभन्दा बढि भाडा लिने गिरोहलाई कारबाही गर्न छुट्टै डेडिकेटेड अपरेसन टोली परिचालन गरेका छौं, टोलीले काउण्टर तथा आसपासको क्षेत्रमा निगरानी गर्ने, यात्रुसँग गोप्य रुपमा बुझ्ने, यात्रु बनेर भाडा बार्गेनिङ्ग गर्ने र ठगी गरेको पाइए पक्राउ गर्ने गरेका छाै ।“ महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभएकाे छ।

निषेधाज्ञा घोषणा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गर्दै आएको छ । ट्राफिक प्रहरीले काठमाण्डौंको बसपार्क क्षेत्रबाट बाजुरा, जगन्नाथका २६ बर्षे अनिल बि.क., बर्दिया गेरुवाका बर्ष ३७ का कृष्ण चौधरी र सोही स्थानका ३५ बर्षे बल बहादुर थारुलाई पक्राउ गरि प्रहरी बृत्त बालाजुमा बुझाएको छ । दाङ र नेपालगञ्ज जाने यात्रुहरुसँग प्रति ब्यक्ति तीन हजारदेखि पैतालिस सयसम्म भाडा लिएको कसुरमा उनीहरु पक्राउ परेका हुन ।

त्यस्तै गरि ट्राफिक प्रहरीले बारा जाने यात्रुहरुसँग दोब्बर बढि भाडा लिएको पाएपछि सर्लाही बरथहवाका २४ बर्षे अरबिन्द कुमार साह र सिम्रौनगढ बाराका बर्ष २५ का अफताब आलमलाई बाफलबाट पक्राउ गरि आवश्यक कारबाहीको लागी प्रहरी बृत्त स्वयम्भूमा बुझाएको महाशाखाले जनाएको छ ।
तोकिएको भन्दा बढि भाडा लिएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button