घरमै नमाज पाठ गरी इदुल फित्र मनाइँदै

पाेखरा न्यूज । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका इस्लाम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाउँदै छन् ।

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुशीपूर्वक दान गरेर दीनदुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले राससलाई जानकारी दिनुभयो । नवौँ महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज इदुल फित्र मनाइएको हो ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण आज बिहान नेपाली जामे मस्जिद घन्टाघरमा विशेष नमाज पाठमा १५ जनाभन्दा बढी उपस्थित नभएको सचिव हुसेनले सुनाउनुभयो । विसं २०७६ सम्म नेपाली जामे मस्जिदमा इद उल फित्रको बिहान नमाज पढ्न १०औँ हजार इस्लाम धर्मावलम्बी जम्मा हुने गरेका थिए । गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले इस्लाम धर्मावलम्बीले घरमै इदुल फित्र मनाएका थिए ।

निषेधाज्ञाका कारण मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा मौलाना र कर्मचारी मात्र उपस्थित हुने भएपछि धेरै इस्लाम समुदायले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल फित्र मनाउँदै छन् । त्यसपछि ठूलाबडा कहाँ आशीर्वाद लिने क्रम शुरु हुन्छ । ठूलाबडा कहाँ आशीर्वाद लिँदा पनि बन्दाबन्दीको नियम नतोडिने जामे मस्जिदले जनाएको छ । घरमै रहनुभएका ठूलाबडासँग आशीर्वाद लिई घर बाहिरकासँग फोन, सामाजिक सञ्जालमार्फत पनि लिन सकिने नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल मोहम्मद समीमले बताउनुभयो ।

बचतको साढे दुई प्रतिशत दान

यो पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखी र गरीबलाई दान दिनु हो । यस पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान इस्लाम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिनुभयो । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरीबलाई बाँडिन्छ । त्यसलाई जकात भनिन्छ ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । त्यसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा छ । यो दान पनि दीनदुःखी र गरीबलाई नै दिइन्छ ।

यस वर्ष यही वैशाख १ गतेदेखि इस्लाम समुदायको एक महिना लामो व्रत (रोजा) शुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने उहाँले बताउनुभयो । एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र इस्लाम समुदायले नवौँ रमजान महिनामा भोजन गर्छन् ।

यस पर्वका अवसरमा इस्लाम समुदायले नयाँ कपडा लगाई साथीभाइ कहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् । यस वर्ष भने धेरैले घरमै नमाज पाठ गरी परिवारका सदस्यबीच यो पर्व मनाइरहेका छन् । घरमै नमाज पाठ गरिसकेपछि फोन वा सामाजिक सञ्जालका माध्यमबाट इद मुवारक भन्दै शुभकामना दिन सकिने धर्मगुरुहको आह्वान छ । मुस्लिम आयोगले पनि बिहीबार विज्ञप्ति प्रकाशित गरेर घरघरमै नमाज पाठ गर्न इस्लाम धर्मावलम्बीलाई आह्वान गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button