
पाेखरा न्यूज । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजाे पुनः नियुक्त गर्नुभयाे ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चन्द्रमा दाहिने भए कसैकाे केही लाग्दैन भन्ने उक्ति नै छ भन्दै पछिल्लाे राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्नुभएकाे छ ।
तेस्राेपटक पुनः प्रधानमन्त्रीकाे सपथ गर्न लाग्नुभएका ओलीलाई संविधान, कानुन, जनता र संसदकाे साथ अनि विश्वास रहेकाे पनि उहाँकाे भनाइ छ ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष ओलीनिकट नेता थापाकाे टिप्पणी यस्ताे छः
तेस्राेपटक – प्रधानमन्त्री,
शीतलनिवासमा आज २:३० बजे सपथग्रहण ।
संविधान, कानुन, जनता र संसदकाे साथ अनि विश्वास ।
अर्थात् समष्टिमा
उक्ति नै छ –
चन्द्रमा दाहिने भए कसैकाे केही लाग्दैन !
राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गर्नुभएको थियो ।
उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलले बहुमत सदस्यको दावी पेश गर्ने कोशिश गरे पनि ती असफल भएका थिए ।
विपक्षमै रहेको अर्काे दल जनता समाजवादी पार्टी नेपालले सरकार बनाउने कुनै पनि गठबन्धनमा सामेल नहुने अडान राखेपछि कुनै पनि दलले बहुमत जुटाउन नसक्ने स्थिति देखा परेको थियाे ।





