
पोखरा न्यूज सम्वाददाता । नाटक ‘मितज्यू’ आजभन्दा सात वर्ष अगाडि मञ्चन भएको थियो । तीन हप्तासम्म मञ्चन हुँदासमेत यो नाटक मञ्चनको धोको निर्देशक दयाहाङ राई, लेखक सोमनाथ खनालको टिमलाई पुगेको थिएन । ‘मितज्यू’ खनालले थिएटरको लागि लेखेको पहिलो नाटक समेत थियो । जुन नाटकलाई अहिले तयार पारेर मण्डला थिएटरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
नाटक सार्वजनिक भएपछि निर्माण युनिटलाई सकारात्मक प्रतिक्रिया आइरहेका छन् । केही रंगमञ्चप्रेमीले भने डिजिटल प्रविधिबाट नाटक देखाउँदा नाटक नाटक जस्तो नबनेर फिल्म बन्ने खतरा समेत औल्याएका छन् । कतिपय दर्शकले धेरैमाझ एकैचोटी पुग्ने माध्यम डिजिटल प्रविधि भएकोले यसको प्रयोग गरेर नाटकप्रति दर्शकको आर्कषण बढाउन सकिने बताएका छन् । अहिलेको अवस्थामा नाटकप्रतिको उत्साहलाई कायम राख्नको लागि यो प्रविधिको प्रयोग गरिनु भने राम्रो रहेको प्रतिक्रिया अधिकाशंको रहेको छ ।

नाटकको निर्देशन दयाहाङ राईले गर्नुभएको हो । डिजाइन समेत उहाँकै छ । नाटक डिजिटल प्लेटफर्ममा सार्वजनिक भएपछि उहाँले सिर्जनाहरुले आफै उपाय खोज्दै हिड्दो रहेछ भन्ने आफूलाई भएको बताउनुभयो । निर्देशक राई भन्नुहुन्छ–‘सिर्जनाले एउटा उपाय खोज्दै जाने रहेछ । आजभन्दा ७ वर्ष अगाडि मण्डला थिएटरमा यो नाटक मञ्चन गरेका थियौ । जतिबेला मलाई अलिकति धोको पुगेको थिएन । त्यतिबेला हामीले हाम्रो श्रोतसाधन, भोगाई, सिप ज्ञानले भ्याएसम्म काम गर्ने कोसिस गरेका थियौ । तर धोको पुगेको भने थिएन ।’
राईसहितको टिमको बिच फेरि एकपटक काम गरौँ भन्ने कुरा भयो । अनि नाटकलाई पुनः एकपटक मञ्चमा ल्याउने निधो भयो । तर, कोसिस गर्दागर्दे लकडाउनको सुरुवात भयो । पहिलो लकडाउनको बिचमा फेरि छलफल जारीनै रह्योे । सामान्य अवस्था भएपछि मञ्चमा जान्छौ भन्ने सोच उहाँहरुको थियो । अब त्यसरी सम्भव नहुने अवस्था देखेपछि मञ्चमा मात्र किन यसलाई सिमित गर्ने बन्द कोठामा नभएर अलिकति जहाँ धेरै दर्शकहरु हुनुहुन्छ त्यो ठाउँमा पुगौँ भन्ने सोच आयो । सातवटै प्रदेशमा मोवाइल थिएटरअन्र्तगत स्टेजमा मञ्चन गरौ भन्ने सोच उहाँहरुको थियो । तर, त्यो सम्भावना पनि देखिएन । धेरै उपाय लाउदै जाँदा अन्तमा डिजिटल माध्यम उहाँहरुले रोज्नुभएको हो । क्यामराको माध्यमबाट दर्शकमाझ पुगौ भन्ने सोच आएपछि क्यामराको माध्यमलाई नै विशेष ख्याल गरेर यो नाटक तयार भएको हो ।
कोरोनाका कारण सबैजना घरमा नै बसिरहेको अवस्था नै नाटक मञ्चन गर्ने उपयुक्त समय बन्न सक्छ भन्ने लागेर नाटक मञ्चन गरिएको निर्देशक राई बताउनुहुन्छ । ‘समयमै यो कथा किन भन्नुपर्छ भन्ने लाग्यो भन्दाखेरि यो समय यस्तो आइसकेको छ, कतिपय बेलामा हामीले गरेका कुराहरु, भोगेका कुराहरु राम्रोसँग एकअर्कामा सेयरिङ गरिरहेका छौ कि छैनौ, एक अर्कामा संवाद गरिरहेको छौ की छैनौ ।’

पछिल्लो समय कोभिडले गर्दा सामाजिक दुरी तथा भौतीक दुरीको अवस्थामा पु¥याएको छ । मानिसमा डर त्रास छ । यो नाटकमा आफ्ना राम्रो नरामा कुराहरु मन मिल्ने मानिसँग सेयरिङ गरिएको छ । नाटकको यो नेचर मनपरेकोले नै यो समयमा ठीक हुन्छ होला भन्ने लागेको उहाँले खुलाउनुभयो । ‘हामीले यसरी हाम्रा तिता मिठा कुरा गर्न सकियो भने राम्रो हुन्छ पुस्ता हस्तान्तरण हुन्छ भन्ने लागेर नै नाटक मञ्चन गरेका हौँ’ उहाँले भन्नुभयो । निरन्तर रंगकर्मीले ठाउँबाट काम गरिरहेका छन् भन्ने जानकारी दिन यसले सघाउनेछ ।
यो नाटकलाई उत्कृष्ट बनाउन प्राविधिक रुपमा समेत धेरै मेहनत गरिएको छ । निर्देशक राई थप्नुहुन्छ–‘‘रियर्सल गर्दा सिंगल क्यामरा राखेर ब्लकीङमा ध्यान दिएको थिए । यो सिकाई थियो । काम गर्दा पहिला भन्दा केही राम्रो चिज भेटाएको छु । प्रविधिको प्रयोग हामीले गरेउ । जसले अर्को पटकलाई ज्ञान भयो ।’
हर समय डिजिटल माधयम नाटकको लागि फिट हुँदैन भन्ने यो टिमले बुझेको छ । तर कुनै कुनै नाटकलाई समय र अवस्था अनुसार फिट हुन सक्छ । यसले नाटक हलसम्म दर्शक ल्याउन मार्केटिङ गर्न सक्ने यो टिमको विश्वास छ । माध्यमबाट नाटक मञ्चन भएपछि बहस र छलफल गर्न सुरु भएको छ ।
नाटकका लेखक सोमनाथ खनाल थिएटरको लागि पहिलोपटक लेखेको नाटक पुर्नलेखन गरेर पुनः मञ्चन गर्न पाउँदा उत्साहित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘यो मैले लेखेको पहिलो नाटक थियो, पहिलोपटक मञ्चनहुँदा धोको पुरा भएको थिएन । किनकि मैले त्यतिबेला बल्ल लेख्न सुरु गर्दै थिए । कतिकुराहरु छुटेको रहेछ भन्ने कुराको महसुस भएको थियो । अहिले पुर्नलेखन गर्ने अर्को मौका पाइयो ।’

नाटकमा चाहेर नजोडीएको सम्बन्ध भन्दा नचाहेरै भएपनि जोडीइसकेको सम्बन्ध दिगो हुने हुन्छ भन्ने देखाइएको छ । नाटकप्रेमीले मञ्चमा आएर प्रत्यक्ष हेर्न नपाएपनि फरक अनुभुतीका साथ रंगमञ्चसँग जोडिन पाए । यसले सकारात्मक उर्जा थपेको छ ।
हुनत आफू नाटकघरमा उपस्थित भइ हेरेको जस्तै अनुभव पुर्ण रुपमा नभएपनि नाटकमा समावेश संस्कार संस्कृति, संवाद, लोकभाका तथा मायाप्रेमका प्रसंग सहितको कलकारको जिवन्त अभिनयले दर्शकको ध्यान खिच्न सफल भएको छ । नाटकमा देखिएका कतिपय दृश्यले दर्शकलाई थिएटर हलमा भएकै महसुस समेत गराउछ ।
यो नाटक पहिलोपटक २०७० सालको पुस महिनामा मञ्चन भएको थियो । त्यतिबेलाको भन्दा यसपाली मञ्चको डिजाइनदेखि भेषभुषासम्म परिवर्तन गरिएको छ । डेढ महिना लामो रिर्हसलपछि नाटक तयार भएको हो । नाटकमा केही पुरानै कलाकार छन् भने केही नयाँले अवसर पाएका छन् । बुद्धि तामाङ, विजय बराल, उमेश तामाङ, सिर्जना सुब्बा, बिकाश जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपाने, रञ्जना, भरत लिम्बु, विक्रम श्रेष्ठ, प्रमिला खनाल, सविना थापा, पवित्रा राई, संगीता थापा, शक्ति राई, शुसिल तामाङ, युवश राई, वेदना राई, दिवस, सुनिल तामाङको अभिनय नाटकमा हेर्न पाइन्छ । राजन खतिवडाको मञ्च परिकल्पना रहेको नाटकलाई शैलेन्द्र ध्वज कार्कीले खिच्नुभएको हो । नाटकमा बेनुका राईको संगीत रहेको छ । नाटकको सहनिर्देशन किरण चाम्लीङ र सुरज यादवले गर्नुभएको छ ।
नाटकको लिकं:





