
पाेखरा न्यूज सम्वाददाता । मिस ग्रेस पोखरा २०२१ को उपाधि विजेता आकांक्षा विश्वकर्माले मिस पेटिट ग्लोबलमा सहभागिता जनाउने हुनु भएको छ । मलेसियामा आगामी फेब्रुअरीमा निर्धारण गरिएको मिस पेटिट ग्लोबल २०२२ मा सहभागिता जनाउने पक्का भएर तयारी सुरु गरेको विश्वकर्माको भनाइ छ । टियरा मेनेजमेन्टको आयोजनामा २० देशका प्रतिष्पर्धीकाे सहभागिता रहनेछ । कार्यक्रमलाई ९ भागमा विभाजन गरिएको छ ।
यो सहभागिताको उपाधि जित्नको लागि फाइनल स्पिच, प्रश्न उत्तर, इभिनिङ गाउन, स्पोर्ट वेयर, राष्ट्रिय पोशाक, टप मोडल, फिटनेस च्यालेन्ज, ट्यालेन्ट राउण्ड र डिप इन्टरभिउ मार्फत प्रतियोगीले क्षमता प्रस्तुत गर्नुपर्नेछ । जसको लागि आजैबाट तयारी थालेको आकांक्षाले बताउनुभयो । उहाँले हालै सम्पन्न भएको नेपाल संगीत तथा नाट्य अवार्ड २०७७ कार्यक्रममा वेष्ट पेजेन्ट अवार्ड जित्नुभएको थियो । पोखराको जनप्रिय क्याम्पसबाट प्लस टु उत्रिर्ण हुनुभएकी उहाँ अहिले स्नातक पहिलो वर्षमा अध्ययनरत हुनुहुन्छ ।

२० वर्षीया आकांक्षाको जन्म भारतमा भएको हो । उहाँलाई अभिनय र घुमघाम गर्न बढी रुचि छ । उहाँ अहिले पोखराको रामबजारमा बस्नुहुन्छ । मिस ग्रेस पोखराको विजेताले सिधै मिस पेटिट ग्लोबलमा सहभागिता जनाउने भएकोले आफूलाई यो अवसर आएको उहाँको भनाइ छ ।
नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउदै उपाधि चुम्ने आफ्नो लक्ष्य रहेको उहाँको भनाइ छ । ‘मेरो लक्ष्य नेपालको संस्कृतीलाई विश्वमाझ चिनाउदै उपाधि चुम्ने हो’ उहाँले भन्नुभयो ।
सोही कार्यक्रममा डिजे सस्पोइजनको रुपमा परिचित शुसिल राज गौतम राष्ट्रिय निर्देशकको रुपमा सहभागी बन्नुहुनेछ । डिजे सस्पोइजनले नेपाल संगीत तथा नाट्य अवार्ड २०७७ मा बेष्ट फेशन म्युजिक अवार्डको पुरस्कार पाउनुभएको थियो ।

यसैगरी मिस ग्रेस पोखरा २०२१ को फस्ट रनर्सअप सपना कार्कीले मिस टिन इन्टरनेशनलमा सहभागिता जनाउनु हुने भएको छ । रुबि मोडलले भियतनाममा आयोजना गर्ने मिस टिन इन्टरनेशनलमा उहाँले सहभागिता जनाउनुहुनेछ । प्रतियोगिता आगामी अक्टुवरमा आयोजना हुनेछ ।
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियामा जाने सोचमा रहनुभएकी सपनालाई संगीत सुन्न, घुम्न, नृत्य गर्न तथा साहसिक गतिविधिमा रुचि छ । आफूमा अभिनय गर्न सक्ने क्षमता समेत रहेको उहाँ बताउनुहुन्छ । पोखराकी सपनाले हालै प्लसटुको अध्ययन पूरा गर्नुभएको हो । उहाँको पनि नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी बनेर नेपालको कला संस्कृतिको बारेमा जानकारी गराउदै उपाधि चुम्ने रहेको छ । यो कार्यक्रममा राष्ट्रिय निर्देशकको रुपमा सागर आचार्य सहभागी बन्नुहुनेछ ।





